close

आईफोनमा दोहोरिएका फोटोहरू हटाएर स्टोरेज खाली गर्ने तरिका

टेकपाना टेकपाना

भदौ १५, २०८१ १३:३८

आईफोनमा दोहोरिएका फोटोहरू हटाएर स्टोरेज खाली गर्ने तरिका

काठमाडौं । मोबाइल फोनले फोटो खिच्ने काम निकै सरल बनाएको छ । यसमा कुनै शंका छैन । तर , प्रायः सही फोटो खिच्नुअघि हामीले उस्तै देखिने धेरै फोटोहरू पनि खिचिरहेका हुन्छौं, जसले मोबाइल फोनको स्टोरेज फुल गराउने मात्र काम गर्छ ।

त्यसपछि भरिएको स्टोरेज कम गर्न ती सबैलाई म्यानुअल्ली छानेर डिलिट गर्नुपर्ने हुन्छ । तर , आईओएस १६ र त्यसपछाडिका भर्सनहरूमा यो काम गर्न निकै सजिलो छ ।

एप्पलले सन् २०२२ मा 'डुप्लिकेट डिटेक्सन' फिचर ल्याएको थियो । यो फिचरको काम भनेकै नाम जस्तै डुप्लिकेट अर्थात् उस्तै देखिने फोटोहरू पहिचान गर्नु हो । एप्पलका अनुसार यसले दुरुस्तै फोटोहरू मात्र नभएर एउटै फोटो तर फरक फाइल फर्म्याट, रेजोलुसन फरक भएको फोटोहरू पनि पत्ता लगाउन सक्छ ।

आईफोनमा दोहोरिएका फोटोहरू डिलिट गरेर स्टोरेज खाली गर्ने तरिका:

  • आईफोनको फोटोज एपमा जानुहोस् ।
  • स्क्रिनको तल्लो भागमा रहेको 'एल्बम'मा क्लिक गर्नुहोस् ।
  • अब 'युटिलिटिज' सेक्सनमा गएर डुप्लिकेट छान्नुहोस् ।
  • स्क्रिनको दायाँ कुनामा रहेको 'सेलेक्ट'मा ट्याप गर्नुहोस् । यसपछि तपाईंले आईफोनमा रहेका डुप्लिकेट फोटोहरू देख्न सक्नुहुन्छ ।
  • आईफोनले डिटेक्ट गरेको सबै डुप्लिकेट फोटोहरू मर्ज वा डिलिट गर्न 'सेलेक्ट अल'मा ट्याप गर्नुहोस् ।

अब ती फोटोहरूलाई तपाईंले एकैचोटि वा एक-एक गरेर डिलिट गर्न सक्नुहुन्छ । तर ‍, सम्झनु ‍पर्ने कुरा के हो भने यसो गर्दा आईक्लाउडसँग सिन्क (sync)अन गर्नुपर्छ । साथै, डिलिट गरिएका फोटोहरू रिसेन्ट्ली डिलिटेड एल्बममा रहने गर्छन् ।

पछिल्लो अध्यावधिक: भदौ १५, २०८१ १४:२०