close

एप्पलको स्याटलाइट कनेक्टिभिटी फिचर पहिलो पटक अमेरिका बाहिर पनि, नेपालमा आउला ?

टेकपाना टेकपाना

भदौ २५, २०८१ १२:३

एप्पलको स्याटलाइट कनेक्टिभिटी फिचर पहिलो पटक अमेरिका बाहिर पनि, नेपालमा आउला ?

काठमाडौं । पहिलो पटक एप्पलको स्याटलाइट कनेक्टिभिटी फिचर अमेरिका बाहेकका देशमा उपलब्ध हुने भएको छ । एप्पलले यो फिचर बेलायत र क्यानडामा पनि उपलब्ध गराउने भएको हो ।

सोमबार राति आयोजित एप्पल इभेन्टमा कम्पनीले स्याटलाइट कनेक्टिभिटी फिचरको विस्तारबारे विशेष घोषणा गरेको छ । आईफोन १४ सार्वजनिक गरेसँगै एप्पलको यस फिचरले बढी चर्चा पाएको थियो । यो एउटा यस्तो फिचर हो, जसको सहायताले सेलुलर नेटवर्क नहुने ठाउँबाट आपतकालीन अवस्थामा मेसेज पठाउन सकिन्छ ।

आईओएस १८ उपलब्ध भएसँगै यो फिचर बेलायत र क्यानडामा प्रयोग गर्न सकिनेछ । आपतकालीन अवस्थामा मेसेज पठाउँदा इन्ड-टु-इन्ड इन्क्रिप्सन टेक्स्ट, इमोजी र ट्यापब्याक पनि पठाउन सकिन्छ । यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले कुनै रकम तिर्नुपर्दैन ।

त्यस्तै, कम्पनीले रोडसाइड असिस्टेन्स भिया स्याटलाइटको फिचर पनि विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले यो फिचर अमेरिकाको टेलिकम कम्पनी एएए र भेरिजोनसँग सहकार्य गरेर उपलब्ध गराएको थियो ।

प्रयोगकर्ता नेटवर्क नहुने ठाउँमा छन् र गाडीमा केही समस्या आयो भने यस फिचरको सहायताबाट सम्पर्क गर्न सक्नेछन् । यो फिचर अबको केही महिनामा बेलायतमा पनि उपलब्ध हुने बताइएको छ ।

कम्पनीले बेलायतको ग्रिन फ्ल्याग नामक कम्पनीसँग सहकार्य गरेर यो फिचर ल्याउन लागेको हो । यसका लागि प्रयोगकर्ताले हरेक एसएमएसको शुल्क तिर्नुपर्ने हुन सक्छ ।

आईओएस १८ सँगै एसओएस लाइभ भिडिओ फिचर पनि उपलब्ध हुने बताइएको छ । यसको अर्थ, तपाईं आपतकालीन सहायताको खोजीमा हुनुहुन्छ तर मेसेज पठाउन सक्ने अवस्थामा हुनुहुन्न भने तपाईंले लाइभ भिडिओ वा फोटो खिचेर पठाउन सक्नुहुन्छ ।

एप्पलले यी सबै फिचरहरू दुई वर्षसम्म निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता दिएको छ । आईफोन १४ पछिका मोडेलमा यो एसओएस कनेक्टिभिटी भिया स्याटलाइटको फिचर दिइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८१ १२:३