काठमाडौं । सर्वाधिक डाउनलोड भएको नेपाली एप ‘हाम्रोपात्रो’मा अहिलेसम्मकै ठूलो अपडेट आउन लागेको छ । नयाँ अपडेटमा हाम्रोपात्रोको सम्पूर्ण स्वरूप नै परिवर्तन हुन लागेको हो ।
अहिलेको हाम्रोपात्रोको डिजाइन र नयाँ अपडेटको डिजाइनमा धेरै भिन्नता पाउन सकिन्छ । यूएक्स (युजर एक्सपिरियन्स) र यूआई (युजर इन्टरफेस)मा ठूलो भिन्नता छन् । झट्ट हेर्दा अहिलेको डिजाइनसँग युजर इन्टरफेस मेल खाँदैन ।
नयाँ अपडेटमा एप खोल्नासाथ नयाँ डिजाइनको होमपेज देखिन्छ । यस अपडेटमा फुटर थपिएको छ । फुटरमा होम, पात्रो, अन्य र थप लगायतका अप्सनहरू राखिएका छन् । फुटर स्टिकी बनाइएको छ भने हेडर फुटरका अप्सनहरू छनोट गर्दा मात्र स्टिकी देखिन्छ । अर्थात् कन्टेन्ट स्क्रोल गर्दा हेडर हराउँछ । पुरानो अपडेटमा भने माथिपट्टि स्क्रोल गर्दा हेडर देखिन्छ ।
यस्तो हेडरलाई स्क्रोल डिपेन्डेबल हेडर भनिन्छ । नयाँ अपडेटमा हेडर गायब हुने भएकाले स्पेस बढी छ । हेडर नहुँदा बढी स्पेस हुनुका साथै प्रयोगकर्ताको ध्यान कन्टेन्टमै केन्द्रित हुन्छ भन्ने मान्यता छ ।
अहिलेको हेडरको बायाँपट्टि तीन ओटा बार, त्यसपछि युजरको प्रोफाइल र हाम्रोपात्रोको लोगो छ । त्यसपछि दायाँपट्टि इनबक्स, थिम र भाषाको अप्सन छ । यसलाई हेर्दा हेडरमा कम्पनीले धेरै आइकन समावेश गर्न खोजेको जस्तो देखिन्छ ।
नयाँ डिजाइनमा भने हेडर साधारण र सुहाउँदो किसिमको छ । त्यसको दायाँपट्टि मेनु र हाम्रोपात्रोको लोगो रहेको देख्न सकिन्छ । त्यसको दायाँपट्टि प्रयोगकर्ताको प्रोफाइल र छेउमा भाषाको अप्सन रहेको छ । होमपेजमा हेडरको तलपट्टि सर्च बक्स देख्न सकिन्छ । यसअघि हाम्रोपात्रोमा सर्च गर्ने सुविधा थिएन । यो नयाँ अपडेटमा आउने फिचर हो । सर्चबक्सबाट इभेन्ट, मिति, कार्यक्रम र अन्य सेवाहरू खोज्न सकिन्छ ।
पुरानो अपडेटमा भने हेडरको तलपट्टि विज्ञापनको सेक्सन छ । त्यसपछि आजको मितिमा के के परेको छ भन्ने सूची छ । नयाँ अपडेटमा सर्च बारको तलपट्टि ब्यानर छ । त्यसमा प्रयोगकर्तालाई स्वागत गरेको टेक्स्ट राखिएको छ । त्यसको तलपट्टि त्यसदिन केकस्ता चाडबाड परेका छन् भन्ने देखिन्छ । यो सेक्सनलाई स्लाइड गर्न सकिन्छ । स्लाइड गर्दा क्यालेन्डर, आउँदा दिनहरू, पात्रो, विभिन्न देशको समय, आफ्ना इभेन्टहरू र कार्ड व्यवस्थापन गर्ने अप्सन देखिन्छन् ।
त्यसको तलपट्टि इभेन्ट एड गर्न मिल्छ । यसमा आफ्नो कुन कार्यक्रम कहिले छ भन्ने सेट गर्नुपर्ने हुन्छ । त्यसपछि पात्रोमा उक्त मिति छनोट गर्दा तपाईंले उल्लेख गरेको कार्यक्रम खुल्छ ।
त्यसको तलपट्टि हाम्रोपात्रोका अन्य सेवाहरू जस्तै पात्रो, मार्ट, हाम्रो पे, साइत आदि देख्न सकिन्छ । त्यसभन्दा तलपट्टि राशिफलको सेक्सन रहेको छ । त्यसपछि क्रमशः बुलेटिन समाचार, ताजा सामाचार, ईकार्ड्स, चर्चित समाचार लगायतका सेक्सन छन् । हाम्रोपात्रोले आर्थिक समाचार, ईकमर्श समाचार गरी छुट्टाछुट्टै सेक्सन राखिएको छ ।
समाचार लगायत हाम्रो पात्रको अन्य सेवाहरूको सेक्सन पनि छुट्टाछुट्टै देख्न सकिन्छ ।
यसपछि फुटरमा भएको पात्रोको सेक्सनमा जाने हो पात्रो देखिन्छ । त्यसको तलपट्टि त्यस दिन परेका विभिन्न चाडपर्व, कार्यक्रम र दिवसको सूची देखिन्छ । त्यसभन्दा अलि तक इभेन्टको सूची देखिन्छ । त्यसमा पनि सबै इभेन्ट, पात्रोका इभेन्ट र आफूले राखेका इभेन्टहरू देखिन्छन् ।
पात्रो सेक्सनको माथिपट्टि रहेको ‘डे’ अप्सनलाई छान्ने हो भने त्यस दिन परेका कार्यक्रमहरू देखिन्छन् । त्यस्तै ‘हप्ता’को अप्सन छान्यो भने त्यस साताका कार्यक्रम देखिन्छन् । यसपछि क्रमशः महिना र वर्षको पात्रको हेर्न सकिन्छ ।
फुटरको अन्य अप्सनमा जाने हो भने ईकार्ड्स, ट्रेन्डिङ टपिक, भिडिओ समाचार, आगामी दिनहरूको सेक्सन देख्न सकिन्छ । त्यसपछि समाचार, ब्लग, मनोरञ्जन र स्वास्थ्यको अप्सन देखिन्छ ।
र, फुटरको अन्तिममा रहेको ‘थप’को अप्सनमा अहिलेलाई क्यालेन्डर, मिति परिवर्तन, साइत र ईकार्डका अप्सनहरू राखिएका छन् ।
नयाँ अपडेटमा अर्को सबैभन्दा ठूलो परिवर्तन मेनुमा देख्न सकिन्छ । पुरानो अपडेटको मेनु अप्सनमा सबै फिचरहरूलाई एउटैमा राखिएको छ । त्यसमा विभिन्न सेक्सनलाई छुट्टाछुट्टै राखिएको जस्तो देखिंदैन । तर, हरेक सेक्सनको तलपट्टि लाइन राखेर छुट्टाइएको छ ।
नयाँ अपडेटमा भने हरेक सेक्सनलाई छुट्टाछुट्टै राखिएको सजिलै देख्न सकिन्छ । यसमा जीवनशैली, वित्त, बजार, मिडिया र सूचना, ज्योतिष, शिक्षा, स्वास्थ्य र कल्याण, किनमेल र प्रतिक्रिया जस्ता सेक्सन छुट्याइएका छन् । सम्बन्धित सेक्सनभित्र सम्बन्धित फिचरहरू राखिएका छन् ।
मेनुको सबैभन्दा माथि थिम परिवर्तम, नोट सिङ्क र नोटिफिकेसनको अप्सन राकिएको छ । यसबाट आफूले चाहेको फिचर पनि सर्च गर्न सकिन्छ । पुरानो अपडेटमा यस्तो सुविधा थिएन ।
समग्रमा हेर्नुपर्दा नयाँ अपडेटको हाम्रोपात्रो अहिलेको तुलनामा स्तरीय देखिन्छ । कम्पनीका अनुसार यसलाई प्रयोगकर्ताले आफ्नो तरिकाले कस्टमाइज पनि गर्न सक्छन् । त्यस्तै हरेक देशपिच्छे होमपेज फरक किसिमको हुनेछ । पहिले एन्ड्रोइड, आईओएस र वेबमा छुट्टाछुट्टै इन्टरफेस थियो । अब सबैमा समान किसिमको इन्टरफेस हुने बताइएको छ ।
त्यसबाहेक कम्पनीले नयाँ अपडेटसँगै आफ्नै क्यालेन्डर बनाउन सकिने प्रिमियम फिचर ल्याउन लागेको बताइएको छ । त्यससँगै प्रिमियम फिचर प्रयोग गर्ने प्रयोगकर्ताले विज्ञापन हेर्नु पर्ने छैन । त्यसबाहेक प्रिमियममा अरू के-कस्ता फिचरहरू हुन्छन् भन्ने खुलाइएको छैन ।
अहिले बेटा भर्सनको लिङ्क उपलब्ध गराइएको छ । कम्पनीका प्रतिनिधिका अनुसार बेटा भर्सनमा केही कमजोरीहरू पनि छन् । यो भर्सन परीक्षण गर्न चाहने एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गरेर अर्ली एक्सेस लिई एप अपडेट गर्न सक्नेछन् । एप परीक्षण गरेर प्रतिक्रिया एपबाटै दिन सकिने कम्पनीले जनाएको छ । आईफोन प्रयोगकर्ताले यो लिंकमार्फत हाम्रो पात्रो एपको नयाँ अपडेट परीक्षण गर्न सक्नेछन् ।