close

इन्डोनेसियामा आईफोन १६ बिक्री गर्न रोक

टेकपाना टेकपाना

कात्तिक १३, २०८१ ८:५८

इन्डोनेसियामा आईफोन १६ बिक्री गर्न रोक

काठमाडौं । इन्डोनेसियामा आईफोन १६ बिक्री गर्न रोक लगाएको छ । देशको उद्योग मन्त्रालयका अनुसार ४० प्रतिशत स्थानीय सामग्रीको प्रयोग अनिवार्य गर्ने नियम पालना नगरेको भन्दै एप्पलमाथि यस्तो कदम उठाइएको हो ।

उद्योग मन्त्रालयका प्रवक्ता फेब्री हेन्द्री एन्टोनी अरिफले स्थानीय सामग्रीमा लगानी गर्ने एप्पलको प्रतिवद्धता पूरा नभएपछि बिक्रीमा रोक लगाइएको बताएका छन् । यही कारण इन्डोनेसियामा आयात गरिएका आईफोन १६ मोडेलहरू  बिक्री गर्न अनुमति दिइएको छैन । व्यक्तिगत प्रयोगका लागि विदेशबाट ल्याइएका आईफोन १६ भने कर तिरेर चलाउन सकिने छ ।

गत अप्रिलमा एप्पलका सीईओ टिम कुकको इन्डोनेसिया भ्रमणका क्रममा स्थानीय कम्पनीहरूसँग साझेदारी गर्दै उत्पादनमा स्थानीय सामग्रीको प्रयोग बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर हालसम्म एप्पलले इन्डोनेसियामा आईफोन उत्पादनका लागि कारखाना स्थापना गरेको छैन । यद्यपि २०१८ देखि देशभरि एप डेभलपर एकेडेमीहरू स्थापना गर्दै आएको छ, जसमा लाखौं लगानी गरेको छ ।

इन्डोनेसियामा हाल चिनियाँ ब्रान्ड ओप्पो सर्वाधिक बिक्री हुने स्मार्टफोन हो भने सामसङ दोस्रो स्थानमा छ । एप्पलको आईफोन १६ बिक्रीमा लागेको यो प्रतिबन्ध कहिलेसम्म कायम रहन्छ भन्ने बारे इन्डोनेसियाले हालसम्म कुनै जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८१ ९:९