close

एनसेलको भ्वाइस प्याकसँग डेटा र डेटा प्याकसँग भ्वाइस प्याक साट्न मिल्ने

टेकपाना टेकपाना

मंसिर ६, २०८१ १४:५६

एनसेलको भ्वाइस प्याकसँग डेटा र डेटा प्याकसँग भ्वाइस प्याक साट्न मिल्ने

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि नयाँ सुविधा ल्याएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भ्वाइस सेवालाई डेटासँग र डेटा सेवालाई भ्वाइससँग साट्न सकिने सुविधा ल्याएको हो ।

यस अन्तर्गत सधैँ अनमा ग्राहकले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन् । अब सेवा प्रयोग गर्दा डेटा सकियो, तर भ्वाइस बाँकी रहेको छ भने ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एप मार्फत डेटासँग साट्न सक्छन् । त्यसैगरी बाँकी डेटालाई पनि भ्वाइसमा साट्न सकिनेछ ।

यो सुविधा सधैँ अनका ३९९, ४९९ र ५९९ रुपैयाँका प्याकमा मान्य हुने कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्स्चेञ्ज डेटा अर भ्वाइस’मा गई आफूलाई आवश्यक परेको सेवा अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन् ।

उदाहरणका लागि ग्राहकले ५० मिनेटको भ्वाइस सेवालाई १,२५० एमबी डेटासँग साट्न सक्छन् । त्यसैगरी ग्राहकले १ जीबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रूपान्तर गर्न सक्छन् । आफूसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशत सम्मको सेवा आफूलाई आवश्यक सेवा अनुसार साट्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

एनसेल एप प्रयोग गर्दा कुनै एनसेलले डेटा शुल्क लिँदैन । एनसेलका ग्राहकले पहिलो पटक यो एप डाउनलोड गर्दा १ जीबी डेटा पनि निःशुल्क पाउँछन् ।

 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८१ २२:१६