close

एलन मस्क भन्छन्ः विकिपिडियाले आफनो नाम परिवर्तन गरे १ अर्ब डलर इनाम दिन्छु

टेकपाना टेकपाना

पुस १३, २०८१ ११:२६

एलन मस्क भन्छन्ः विकिपिडियाले आफनो नाम परिवर्तन गरे १ अर्ब डलर इनाम दिन्छु

काठमाडौं । विकिपिडियाले आफ्नो नाम परिवर्तन गरे उद्यमी एलन मस्कले एक अर्ब डलर भएका छन् । अक्टोबर २०२३ मा विकिपिडियाप्रति आक्रोश पोख्दै मस्कले यस्तो प्रस्ताव राखेका थिए । एक्सको एक पोस्टमा रिप्लाई गर्दै मस्कले अहिले पनि सो प्रस्ताव खुला रहेको बताएका छन् ।

'डज डिजाइनर' नामको एक्स ह्यान्डलले मस्कले विकिपिडियाको नाम परिवर्तन गर्ने प्रस्ताव राखेको पोस्ट अपलोड गरेको थियो । त्यसैमा रिप्लाई गर्दै मस्कले उक्त प्रस्ताव सत्य भएको र अहिले पनि खुला भएको लेखेका छन् ।

विश्वचर्चित इन्साइक्लोपेडिया विकिपिडियाको नाम परिवर्तन गरेर ‘डिकिपिडिया’ (पुरुष यौनाङ्ग प्रत्ययका रूपमा जोडिएको नाम) राख्न मस्कले प्रस्ताव गरेका थिए । विशेषगरी विकिपिडियाको आर्थिक प्राथमिकता र राजनीतिक झुकावलाई लक्षित गर्दै मस्कले मोटो रकम उपलब्ध गराउने जनाएका थिए । 

विकिपिडियाप्रति किन आक्रोशित छन् मस्क ?

गत वर्ष एउटा एक्स पोस्टमा मस्कले विकिपिडिया सञ्चालन गर्ने विकिमिडिया फाउन्डेसनको आर्थिक अभ्यासप्रति प्रश्न उठाउँदै आलोचना गरेका थिए । उनले लेखेका थिए, “के तपाईंले कहिल्यै सोच्नुभएको छ, विकिमिडिया फाउन्डेसनलाई यति धेरै पैसा किन चाहिन्छ ? विकिपिडिया सञ्चालन गर्न त यति धेरै पैसा आवश्यक नै पर्दैन । तपाईंले यसको सम्पूर्ण पाठ आफ्नो फोनमा राख्न सक्नुहुन्छ त केका लागि हो यो पैसा ?”

त्यसपछि उनले विकिमिडिया फाउन्डेसनलाई नाम परिवर्तन गर्न सहमत भएमा एक अर्ब डलर दान दिने प्रस्ताव गरेका थिए । यो प्रस्ताव हास्यास्पद भए पनि मस्कको टिप्पणीले विकिपिडियाको आर्थिक प्राथमिकतालाई झल्काएको थियो ।  

मस्कले ठूला संस्था विशेषगरी विकिमिडिया फाउन्डेसनजस्ता गैरनाफामूलक संस्थाले पैसा कसरी खर्च गर्छन् भन्ने विषयमा लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन् । विकिपिडिया सञ्चालनको मुख्य उद्देश्यभन्दा बाहिरका काममा स्रोत खेर फालिएको मस्कको आशंका छ । 

मस्कले व्यङ्ग्यात्मक रूपमा विकिपिडियाले आफनो नाम परिवर्तन गर्न तयार भए एक अर्ब डलर दान गर्ने प्रस्ताव गरेका थिए । विकिमिडिया फाउन्डेसनले २०२३-२०२४ मा १७ करोड ७० लाख डलर आम्दानी गरेको थियो । त्यसमध्ये पाँच करोडभन्दा बढी विविधता, समानता र समावेशीकरण पहलमा खर्च गरिएको मस्कले थाहा पाएपछि थप आलोचना गरेका छन् ।

उनले एक्स (पहिलेको ट्वीटर) मार्फत फाउन्डेसनलाई “वोकिपिडिया” भन्दै आलोचना गरेका थिए । र, सोही पोस्टमार्फत मस्कले आफ्ना फलोअरलाई विकिपिडियामा दान नगर्न आग्रह गरेका थिए । उनले फाउन्डेसनलाई सम्पादनमा सन्तुलन कायम गर्न समेत आग्रह गरेका थिए ।

विकिमिडिया फाउन्डेसनले आफ्नो खर्चको बचाउ गर्दै ‘समानता र समावेशीकरण’ मा खर्च भएको जनाएको छ । मस्कको आलोचनाले ‘विविधता, समानता र समावेशीकरण’ नीतिबारे व्यापक बहसलाई बल दिएको छ । यसलाई केही आलोचकले उल्टो विभेद र योग्यतामा आधारित प्रणालीबाट ध्यान हटाउने काम गरेको ठान्छन् ।

साथै मस्कले विकिपिडियाको कथित राजनीतिक झुकावप्रति पनि चिन्ता व्यक्त गरेका छन् । विश्लेषकहरू विकिपिडियाको सामग्रीमा बामपन्थी झुकाव रहेको र यसले राजनीतिक एजेन्डालाई प्रभाव पार्न सक्ने जोखिम देखाएको बताउँदै आएका छन् । मस्कको भनाइले विकिपिडिया जस्ता प्लेटफर्मको निष्पक्षता, वित्तीय पारदर्शिता र संस्थागत प्राथमिकताबारे पुनः छलफललाई उजागर गरेको छ ।

पछिल्लो अध्यावधिक: पुस १३, २०८१ ११:४०