काठमाडौं । लेनोभोको नयाँ ल्यापटप योगा स्लिम सेभेन आई औरा र एलओक्यू इसेन्सियल नेपाली बजारमा आउने भएका छन् । नागमणि इन्टरनेसनल प्रालिसँगको सहकार्यमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शन दिने वाचासहित यी प्रोडक्ट सार्वजनिक हुने घोषणा गरिएको हो ।
यो प्रिमियम ल्यापटपमा अत्याधुनिक डिजाइन, एआई क्षमता, र उच्च प्रदर्शन पाउन सकिने बताइएको छ । इन्टेलको सहकार्यमा डिजाइन गरिएको यस डिभाइसले प्रोफेसनल, सिर्जनशील व्यक्तिहरू र सामान्य प्रयोगकर्तालाई लक्षित गर्दै उत्पादनशीलता र दक्षतालाई नयाँ स्तरमा पुर्याउने दाबी कम्पनीले गरेको छ ।
यी उत्पादनहरू चाँडै नै नेपाली बजारमा उपलब्ध हुने छन् । तर मूल्य र थप विवरणका लागि भने लेनोभोको आधिकारिक वितरक नागमणि इन्टरनेसनलसँग सम्पर्क गर्न सकिने बताइएको छ ।
इन्टेल कोर अल्ट्रा प्रोसेसर रहेको योगा स्लिम सेभेन आई औरामा ८ कोर रहेका छन् । साथै यसमा इन्टिग्रेटेड इन्टेल आर्क ग्राफिक्स र ३२ जीबीसम्मको एलपीडीडीआर ५ एक्स मेमोरी रहेको छ ।
१ टीबीसम्मको एसएसडी स्टोरेज, १५.३ इन्च २.८ के एलसीडी टचस्क्रिन, १२० हर्ज रिफ्रेश रेट रहेको यो ल्यापटपले टीयूभी लो ब्लु लाइट सर्टिफिकेसन समेत प्राप्त गरेको छ ।
यो ल्यापटप कोपाइलट प्लस एआई क्षमता युक्त समेत छ, जसले जेनरेटिभ एआई प्रयोग गरी टेक्स्ट लेख्न, भिजुअल डिजाइन गर्न, र कार्यहरूको सरलीकरण गर्न मद्दत गर्छ ।
एलओक्यू इसेन्सियल भने विद्यार्थी र नयाँ गेमरहरूका लागि लक्षित गेमिङ ल्यापटप हो । १२ औं जेनेरेसन इन्टेल कोर प्रोसेसर रहेको यो ल्यापटपमा एनभीदिया जिफोर्स आरटीएक्स जीपीयू समावेश छ । १५.६ इन्च फुल एचडी स्क्रिन, १४४ हर्ज रिफ्रेश रेट, १६ जीबीसम्म डीडीआर ५ मेमोरी र १ टीबी सम्मको एसएसडी यसका थप विशेषता हुन् ।