काठमाडौं । चीनको नयाँ एआई मोडेलले विश्वव्यापी एआई बजारमा हलचल मच्चाएको छ । ‘डिपसिक’ नामक यो मोडेलले च्याटजीपीटी, गुगल जेमिनाई र अन्य जेनरेटिभ एआई मोडेललाई टक्कर दिएको भन्दै चर्चा चुलिएको हो ।
गुगल र ओपनएआईले वर्षौँ लगाएर करोडौँ डलर खर्चेर बनाएको एआई मोडेललाई डिपसिकले मात्र दुई महिनामा ६० लाख डलरभन्दा कम खर्चमा तयार पारेको दाबी गरिएको छ । यसले उत्कृष्ट ओपन सोर्स मोडेल प्रस्तुत गरेको छ भने अमेरिकी डेभलरले यसैमा आधारित भई काम गरिरहेका छन् ।
डिपसिकको उदय
यो प्रविधिमा आएको फड्कोले सिलिकन भ्यालीलाई नै स्तब्ध बनाएको छ । गत डिसेम्बरमा सार्वजनिक गरिएको नि:शुल्क, ओपन-सोर्स एआई मोडेलले बजारमा रहेका शक्तिशाली मोडेललाई समेत उछिनेको भन्दै चर्चा हुन थालेको छ ।
यो ओपनएआई वा एन्थ्रोपिकको नयाँ सुरुवात नभएर चीनको डिपसिक नामक अनुसन्धान प्रयोगशालाले विकास गरेको हो । यसको विकासको विवरणले अमेरिकाका शीर्ष एआई अनुसन्धानकर्तालाई समेत चकित बनाएको छ ।
पहिलो कुरा त यसको लागत हो । डिपसिकले यसको तेस्रो भर्सन बनाउन केवल ५६ लाख डलर खर्च गरेको रिपोर्ट बाहिर आएको छ । यसको तुलनामा ओपनएआईले वार्षिक पाँच अर्ब डलर खर्च गरिरहेको छ ।
यता गुगलले सन् २०२४ मा ५० अर्ब डलरभन्दा बढी खर्च गरेको अनुमानित रिपोर्ट बाहिर आएको छ । माइक्रोसफ्टले ओपनएआईमा लगानी गर्न मात्रै १३ अर्ब डलरभन्दा बढी खर्च गरेको छ ।
तर, डिपसिकको मोडेलले कसरी यति कम लागतमा अमेरिकाका महँगा मोडेलहरूलाई उछिन्यो भन्ने कुरा झनै आश्चर्यजनक छ । डिपसिकको नयाँ मोडेलले एकदमै प्रभावकारी रूपमा ओपनसोर्स मोडेल बनाएको छ । यो सुपर कम्प्युटरमा एकदमै कुशल छ ।
यसले मेटाको एललामा, ओपनएआईको जीपीटी ४-ओ र एन्थ्रोपिकको क्लाउड सोनेट ३.५ लाई गणितका समस्या, कोडिङ प्रतियोगिता र कोडमा बग पत्ता लगाउने परीक्षणमा समेत उछिनेको छ । यति मात्र होइन, डिपसिकले तर्क दिन सक्ने नयाँ आरवन मोडेल पनि ल्याएको छ, जसले ओपनएआईको अत्याधुनिक ओ-वनलाई समेत केही परीक्षणमा पछि पारेको दाबी गरिएको छ ।
यो प्लेटफर्मले तीव्र गतिमा प्रयोगकर्ता तयार पारिरहेको छ । चाइना डेलीका अनुसार यो एप अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ । यसअघि उक्त रेकर्ड च्याटजीपीटीको थियो । चीनमा पनि यो एप डाउनलोडका हिसाबले शीर्ष स्थानमा छ ।
चीनमाथिको अमेरिकी सेमिकन्डक्टर प्रतिबन्धका बाबजुद डिपसिकले यी सबै सफलता हासिल गरेको हो । अमेरिकाले चीनलाई शक्तिशाली चिप जस्तै एनभिदियाको एच-१०० जीपीयू पाउनबाट रोक लगाएको छ । यस्ता चिपलाई प्रतिस्पर्धी एआई मोडेल बनाउन आवश्यक मानिन्छ ।
तर डिपसिकले एनभिदियाको कम शक्तिशाली एच-८०० प्रयोग गरेरै नयाँ मोडेल बनायो र चिप निर्यातमाथिको नियन्त्रणले खासै असर नपारेको देखाएको छ ।
डिपसिकको पछाडि को छ भन्ने कुरा अझै रहस्यमै छ । यसको प्रयोगशाला र संस्थापक लिआङ वेनफेङको बारेमा धेरै कम जानकारी बाहिर आएका छन् । चिनियाँ मिडिया रिपोर्टका अनुसार डिपसिकको सुरुवात हाई फ्लायर क्वान्ट नामक चिनियाँ हेज फन्डबाट भएको हो, जसले आठ अर्ब डलर बराबरको सम्पत्ति व्यवस्थापन गर्छ ।
डिपसिकको डेभलपर साइटमा यसको उद्देश्य ‘जिज्ञासाका साथ एजीआईको रहस्य खोल्ने र दीर्घकालीन दृष्टिकोणका साथ आवश्यक प्रश्नको जवाफ दिने’ बताइएको छ । तर, ओपनएआई र एन्थ्रोपिक जस्ता अमेरिकी स्टार्टअपहरूसँग विस्तृत चार्टर छन्, जहाँ उनीहरूका सिद्धान्त र संस्थापक उद्देश्यहरू उल्लेख गरिएका छन् । डिपसिक कसरी यति शक्तिशाली मोडेल बन्न पुग्यो, हार्डवेयर र डेटा सङ्कलन कसरी गर्यो भन्ने बारेमा कुनै जानकारी सार्वजनिक गरिएको छैन ।
यो डिपसिकको मात्र नभई चीनको समेत सफलता हो । चीनका अन्य एआई मोडेलहरूले पनि सीमित स्रोत साधनका साथ प्रतिस्पर्धामा आफ्नो स्थान बनाएका छन् । गुगलका पूर्व प्रमुख काई-फु ली (चिनियाँ नागरिक) को स्टार्टअप ‘जिरो वन डट एआई’ले स्थापनाको आठ महिनामै युनिकर्नको उपाधि पाएको थियो र यसले सन् २०२४ मा करिब १४ लाख डलर आम्दानी गरेको छ ।
अर्कोतर्फ अलिबाबाको क्वेनले लार्ज ल्याङ्ग्वेज मोडेलमा ८५ प्रतिशतसम्म लागत घटाएको छ । चीनको यो सफलताले अमेरिकी एआई प्रयोगशालाहरूको अग्रतालाई कमजोर पारेको छ । सन् २०२४ को सुरुवातमा गुगलका पूर्व सीईओ एरिक स्मिडले चीन एआईमा अमेरिकाभन्दा दुईदेखि तीन वर्ष पछाडि रहेको बताएका थिए ।
तर अहिले उनको धारणा परिवर्तन भएको छ । उनले भनेका छन्, “मलाई पहिले हामी चीनभन्दा केही वर्ष अगाडि छौँ जस्तो लाग्थ्यो, तर चीनले पछिल्लो छ महिनामा जुन गतिमा प्रगति गरेको छ, त्यो आश्चर्यजनक छ ।”
शक्तिशाली ओपन-सोर्स मोडेलको उपलब्धताले डेभलपरलाई एआई मोडेल निर्माण गर्न र प्रशिक्षण दिन आवश्यक पर्ने खर्चिलो प्रक्रियालाई कम गर्न सघाउँछ । अब उनीहरूले पहिले नै उपलब्ध मोडेलमा आधारित भएर काम गर्न सक्छन्, जसले कम बजेट र सानो टोलीको साथमा पनि प्रतिस्पर्धामा अगाडि बढ्न सजिलो बनाएको छ ।
पछिल्लो दुई सातामा एआई अनुसन्धान टोलीले कम पुँजीमा पनि धेरै सम्भावना देखेका छन् । डिपसिकले सिलिकन भ्यालीमा १५, २० वा ३० मिलियन डलरमा पनि के गर्न सकिन्छ भन्ने कुरा देखाइदिएको छ । यसको अर्थ ओपनएआई जस्तो कम्पनीले आज आफूलाई शीर्ष स्थानमा रहेको दाबी गरे पनि भोलि त्यो गुम्न सक्छ भन्ने हो ।
डिपसिकले विद्यमान एआई प्रविधि, डेटा सेट र मोडेलहरू प्रयोग गरेर छोटो समयमै फड्को मारेको हो । डिपसिकको मोडेल यति प्रभावकारी छ कि यसले आफूलाई च्याटजीपीटी भएको ठान्छ । जब यसलाई “तिमी कुन मोडेल हौ" भनेर सोधिन्छ, यसले “म जीपीटी-४ आर्किटेक्चरमा आधारित ओपनएआईद्वारा सिर्जना गरिएको एआई ल्याङ्ग्वेज मोडेल हुँ” भनेर जवाफ दिन्छ । यसले डिपसिक र च्याटजीपीटीबिचको भिन्नतालाई धमिलो बनाएको छ ।
ओपनएआईले पछिल्लो लगानीको क्रममा मात्रै छ अर्ब डलरभन्दा बढी उठाएको छ । तर यसले अहिलेसम्म नाफा भने कमाएको छैन । कम्पनीको मुख्य व्यवसाय एआई मोडेल निर्माणमा केन्द्रित भएकाले गुगल र अमेजन जस्ता कम्पनीहरूको तुलनामा यो बढी जोखिममा छ ।
अमेरिकाले चीनलाई एआई दौडमा पछाडि पार्न लगाएको चिप प्रतिबन्धले अन्ततः चीनलाई थप रचनात्मक बन्न बाध्य तुल्याएको देखिन्छ । प्रतिबन्धले चीनलाई वर्कअराउन्ड पत्ता लगाउन र अझ प्रभावकारी प्रणाली विकास गर्न प्रेरित गरेको छ ।
डिपसिकले ओपन-सोर्स मोडेलको रूपमा काम गर्छ, जसको अर्थ डेभलपरसँग यसको पूर्ण पहुँच छ र उनीहरूले यसलाई आफ्नो आवश्यकता अनुसार कस्टमाइज गर्न सक्छन् ।
कम लागतको कारण डेभलपरहरू यसलाई अपनाउन आकर्षित हुने देखिन्छ । डिपसिकको अनुमानित लागत प्रति १० लाख टोकन १० सेन्ट मात्र छ, जुन अन्य मोडेलहरूको तुलनामा धेरै कम हो । यसले यू डटकम वा पर्प्लेक्सिटी जस्ता एपहरू कम लागतमा बनाउन सकिने सम्भावना देखाएको छ ।
चीनले विकास गरेको ओपन-सोर्स मोडेलले विश्वव्यापी एआईमा ठुलो परिवर्तन ल्याउन सक्ने देखिन्छ । चीनको यो सस्तो, प्रभावकारी र व्यापक रूपमा अपनाइएको ओपन-सोर्स मोडेलले अमेरिकाको नेतृत्वलाई कमजोर पार्न सक्छ र चीनलाई विश्वव्यापी प्रविधि पूर्वाधारमा अझ गहिरो रूपमा स्थापित गर्न सक्छ कि भन्ने विषयमा बहस हुन थालेको छ ।
यसका साथै चीनमा निर्मित एआई मोडेलहरूले राज्यले तोकेका नियमहरू पालना गर्नुपर्ने हुन्छ । उनीहरूले ‘मुख्य समाजवादी मूल्य’लाई अँगाल्नुपर्ने हुन्छ । टेन्सेन्ट र अलिबाबाले बनाएका मोडेलहरूले तियानमेन स्क्वायर जस्ता ऐतिहासिक घटनाहरूलाई सेन्सर गर्ने, मानव अधिकार उल्लङ्घनलाई अस्वीकार गर्ने र चिनियाँ राजनीतिक नेताहरूको आलोचनालाई फिल्टर गर्ने अध्ययनहरूले देखाएका छन् ।
डिपसिकको क्षमता
डिपसिकको क्षमता परीक्षण गर्न केही प्रयोगकर्ताले यसलाई विभिन्न विषयमा प्रश्नहरू सोधेका थिए । यसले दिएका केही जवाफमा चिनियाँ सरकारको प्रभाव देखिएको प्रयोगकर्ताको अनुभव छ । उदाहरणका लागि तियानमेन स्क्वायर घटनाको बारेमा सोध्दा यसले ‘मलाई माफ गर्नुहोस्, यो मेरो दायराभन्दा बाहिर छ’ भन्ने प्रतिक्रिया दिन्छ । तर, च्याटजीपीटी र गुगल जेमिनाईले भने यस घटनाको विस्तृत जानकारी दिने गरेका छन् ।
यद्यपि डिपसिकले एलन मस्क र डोनल्ड ट्रम्पको सम्बन्धको प्रश्नमा ‘यो उनीहरूको व्यक्तिगत रोजाइ हो र कुनै पनि राष्ट्र वा राजनीतिक प्रणालीको प्रतिनिधित्व गर्दैन’ भन्ने जवाफ दिएको थियो । अचम्मको कुरा त के छ भने यसले चीनको दृष्टिकोण पनि समावेश गरेको थियो । यसैगरी विभिन्न देशको बजेटसम्बन्धी प्रश्नमा पनि डिपसिकले ‘चीनले सबै देशको सार्वभौमसत्ताको सम्मान गर्छ’ भन्ने प्रतिक्रिया दिएको थियो ।
डिपसिकको युजर इन्टरफेस च्याटजीपीटीको जस्तै छ । यसमा प्रश्न सोध्न र अन्तरक्रिया गर्न सजिलो छ । प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा जटिल कार्यहरू गर्न सक्ने डिपसिकको क्षमताको प्रशंसा गरिरहेका छन् । एक प्रयोगकर्ताले यसलाई पाइथन स्क्रिप्ट लेख्न लगाएका थिए भने अर्काले पीडीएफ फाइलहरूसँग च्याट गर्ने एप बनाउन लगाएका थिए ।
अमेरिकाको सिलिकन भ्यालीमा रहेको नेपाली साइबर सुरक्षा कम्पनी सेक्युरिटी पालका संस्थापक पुकारचन्द्र हमालले लिंक्डइनमा डिपसिक एआईसँगको अनुभव शेयर गरेका छन् । “मैले यो सप्ताहान्तमा डिपसिक एआईसँग अलि समय बिताएँ र त्यसको अनुभव यहाँ राख्दैछु,” उनले लेखेका छन्, “तपाईँलाई यो रोचक लाग्न सक्छ । कुराहरू एकदमै छिटो अनौठो हुँदैछन् ।”
डिपसिकले हालका घटनाहरूको बारेमा कत्तिको जानकारी राख्छ भन्ने कुरा स्पष्ट छैन । तर, केही प्रश्नहरूले यो मोडेल अक्टोबर २०२३ सम्म अपडेट भएको देखाउँछ । डिपसिकले प्रश्नहरूको जवाफ दिन लिने समय च्याटजीपीटीसँग लगभग बराबर छ । तर, गुगल जेमिनाई भने कहिलेकाहीँ ढिलो भएको महसुस हुन्छ ।
डिपसिक अहिले प्रारम्भिक चरणमै रहेको बताइएको छ । तर, यसले एआई बजारमा नयाँ चुनौती भने खडा गरेको छ । यद्यपि चीनसँग सम्बन्धित संवेदनशील प्रश्नहरूमा यसको प्रतिक्रिया सीमित छ । भविष्यमा यसले कस्तो सुधार गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।
तपाईँ पनि वेब ब्राउजरमा chat.deepseek.com टाइप गरेर डिपसिक च्याट इन्टरफेस भिजिट गर्न सक्नुहुन्छ । साइन अप गर्न मान्य ईमेल एड्रेस आवश्यक हुन्छ र होमपेजमा ‘DeepThink’ विकल्पमा क्लिक गरेर प्लेटफर्ममा एक्सेस पाउन सकिन्छ ।