काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवा विस्तार गर्दै 'इबिएल भर्चुअल क्रेडिट कार्ड' सार्वजनिक गरेको छ । कम्पनीले २० जेठदेखि लागू हुने गरी यो कार्ड सार्वजनिक गरेको हो ।
इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो । यस बैंकका ग्राहकहरूले जारी गरिएको मापदण्ड पुरा गरेर उक्त सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सो सेवामार्फत न्यूनतम रु ५० हजारदेखि अधिकतम रु ५ लाखसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यूआर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन कारोबार तथा कार्ड व्यवस्थापन कामहरू गर्न सकिनेछ ।
यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् । साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।