क्लासिक टेकमा फस्यो एनसेलको २० करोड माथि, ब्यान्डविथको पैसा नतिरेकै भयो एक वर्ष बढी
पुस ४, २०८२ ९:१२
काठमाडौँ । सरकारी बक्यौता नतिरेको र अनुमतिपत्र नवीकरण नगराई अवैध रूपमा इन्टरनेट सेवा दिइरहेको क्लासिक टेकले एनसेललाई ब्यान्डविथको भुक्तानी समेत नदिएको पाइएको छ । नेटवर्क सेवाको लाइसेन्सको म्याद समेत सकिएको कम्पनीमा करिब २० करोड रुपैयाँभन्दा बढी रकम एनसेलको फसेको हो ।
क्लासिक टेकले आफूसँग रहेको नेटवर्क सेवा प्रदायकको लाइसेन्स सकिनुभन्दा ठिक चार दिन अघिदेखि एनसेलसँग ब्यान्डविथ किन्न थालेको भेटिएको छ । नेटवर्क सेवाको लाइसेन्स गुम्दा विदेशबाट ब्यान्डविथ ल्याउन नपाएको उक्त कम्पनीले एनसेलबाट ब्यान्डविथ लिएर इन्टरनेट सेवा दिँदै आएको छ । तर उसले गएको एक वर्षदेखि एनसेललाई समेत ब्यान्डविथको भुक्तानी दिएको छैन । बक्यौता तिर्न क्लासिक टेकलाई तारनतार ताकेता गरे पनि पैसा उठ्न नसकेको एनसेलले जनाएको छ ।
यसै विषयमा बुझ्न टेकपानाले पठाएको ईमेलको जवाफमा एनसेलले क्लासिक टेकलाई बिक्री गरिएको ब्यान्डविथको भुक्तानी विगत एक वर्षदेखि नपाएको स्वीकार गरेको छ । “क्लासिक टेकसँग हाम्रो व्यापारिक साझेदारी हो । अरू सेवा प्रदायक जस्तै क्लासिक टेकले पनि हामीबाटै ब्यान्डविथ खरिद गरिरहेको छ । तर, उसले विगत एक वर्षदेखि ब्यान्डविथको भुक्तानी दिएको छैन । हाम्रो टिमले भुक्तानीका लागि निरन्तर फलोअप गरिरहे पनि अहिलेसम्म बक्यौता चुक्ता गरेको छैन,” एनसेलले पठाएको ईमेलमा भनिएको छ ।
जब गएको ११ भदौ २०८२ देखि त क्लासिक टेकको इन्टरनेट सेवाको लाइसेन्सको म्याद पनि समाप्त भइसकेको छ । दूरसञ्चार ऐन अनुसार अनुमतिपत्र नलिई इन्टरनेट तथा दूरसञ्चार सेवा दिनै पाइँदैन ।
बिना लाइसेन्स अवैध रूपमा चलिरहेको क्लासिक टेकलाई ब्यान्डविथ बिक्री किन गरेको भन्ने टेकपानाको अर्को प्रश्नमा एनसेलले कुनै पनि कम्पनीको कम्प्लायन्स चेकजाँच गर्ने आधिकारिक निकाय आफू नभएको जवाफ दिएको छ । उसले क्लासिक टेकको कानुनी हैसियत लगायतका विषय आफ्नो क्षेत्राधिकार भित्र नपर्ने दाबी गरेको छ ।
प्राधिकरणबाट आफूले नेटवर्क सेवा प्रदायकको लाइसेन्स पाएकाले कुनै पनि इन्टरनेट सेवा प्रदायकलाई ब्यान्डविथ विक्री गर्न सक्ने एनसेलले स्पष्ट पारेको छ । उसकै भाषामा त्यस्ता आईएसपीहरूसँग एनसेलले ‘मास्टर सर्भिस एग्रिमेन्ट’ गर्ने गर्छ ।
एक वर्षदेखि ब्यान्डविथको भुक्तानी नपाए पनि क्लासिक टेकका ग्राहकहरूको इन्टरनेटमा पहुँच पाउने अधिकारको सम्मान गर्दै ब्यान्डविथ निरन्तर दिइरहेको जिकिर एनसेलको छ । “हामीले क्लासिक टेकसँग पनि अरू आईएसपी जस्तै मास्टर सर्भिस एग्रिमेन्ट गरेका छौँ । क्लासिक टेकले भुक्तानी नगरे पनि उसका ग्राहकहरूको इन्टरनेटमा पहुँच पाउने अधिकारको सम्मान गर्दै ब्यान्डविथ आपूर्ति गरिरहेका छौँ । भुक्तानी उठाउन हाम्रो टिम निरन्तर लागिपरेको छ,” एनसेलको ईमेलमा भनिएको छ ।
अर्कोतर्फ करोडौँ बक्यौता नतिर्दा समेत नियामक नेपाल दूरसञ्चार प्राधिकरणले क्लासिक टेकलाई संरक्षण गरेको पाइएको छ । नियामकले कानुन विपरीत विदेशी मुद्रा भुक्तानी सिफारिस दिँदै आएको भेटिएको थियो । अर्कोतर्फ ५० करोड रुपैयाँभन्दा बढी सरकारी बक्यौता रहेको र लाइसेन्स समेत नभएको कम्पनीलाई उल्टै किस्ताबन्दी सुविधा दिने गृहकार्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल लागिपरेका छन् ।
इन्टरनेट सेवाको लाइसेन्स अवधि सकिएको करिब ४ महिना भए पनि क्लासिक टेकको विदेशबाट ब्यान्डविथ आयात गर्ने नेटवर्क सेवा प्रदायकको लाइसेन्सको म्याद भने १६ चैत २०८० मै समाप्त भएको थियो । त्यसको ठिक चार दिन अघिदेखि उसले एनसेलसँग ब्यान्डविथ किन्न थालेको देखिन्छ । एनसेल र क्लासिक टेकबिच भएको मास्टर सर्भिस एग्रिमेन्ट १२ चैत २०८० देखि कार्यान्वयनमा आएको थियो ।
एनसेलले ब्यान्डविथ बिक्रीका लागि क्लासिक टेकबाट गोप्य सम्झौता (Non Disclosure Agreement - NDA) गरेको भन्दै कति भुक्तानी पाउन बाँकी रकम भने खुलाएको छैन । यद्यपि अनौपचारिक स्रोतले जानकारी दिए अनुसार क्लासिक टेकमा ब्यान्डविथ बापत एनसेलको २० करोड रुपैयाँ बढी फसेको छ ।
फेरि पनि भुक्तानी नपाए क्लासिक टेकसँगको सम्झौता रद्द हुन सक्ने सम्भावनाको विषयमा समेत एनसेलले गोप्य सम्झौता भएकाले सार्वजनिक गर्न नमिल्ने प्रतिक्रिया दिएको छ ।
पछिल्लो अध्यावधिक: पुस ४, २०८२ १०:१९
