फ्याक्टचेक: के पूर्वराजाले भारतीय प्रधानमन्त्रीलाई भेटेका हुन् ? यस्तो छ भाइरल फोटोको यथार्थ
पुस ७, २०८२ १८:४४
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शिष्टाचार भेट भएको भन्दै अहिले सामाजिक सञ्जालमा एक फोटो भाइरल भइरहेको छ । विशेषगरी फेसबुक र टिकटकमा पूर्वराजा शाह र भारतीय प्रधानमन्त्री मोदीको भेट भएको दाबीसहितका पोस्ट फैलिएका छन् ।
तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानबाट ती तस्बिर तोडमोड तथा आफू अनुकूल सम्पादन गरी तयार पारिएको पुष्टि भएको छ ।
दाबी
‘हृदयन्द्र शाह समर्थक’ नामक फेसबुक प्रोफाइलले २१ डिसेम्बर, २०२५ (आइतबार) मध्यान्ह १२:०७ बजे एउटा फोटोसहितको पोस्ट राखेको छ । पोस्टमा लेखिएको छ, “#OMG , Breaking News भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालको राजा ज्ञानेन्द्र वीर विक्रम शाह बीच भेटवार्ता ।” फोटोमा पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उभिएर फोटो खिचेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १६ सय रियाक्सन, १२७ कमेन्ट आएका छन् भने ८५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
सामाजिक सञ्जालहरूमा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको दाबी गर्दै फैलिएका पोस्टको सत्यता खोज्न थाल्यो । त्यसक्रममा पूर्वराजा शाह र मोदी देखिएको तस्बिरमा कपीराइटको लोगोसहित ‘नेपाल फुलिस’ (©NepalFoolish) नामको फेसबुक आईडीबाट आइतबार बिहान ११:४० बजे राखेको भेटियो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । त्यसैलाई राजावादी तथा अन्य सञ्जाल प्रयोगकर्ताले पछ्याउँदै आफू अनुसार क्याप्सन राखी पोस्ट गरेका छन् ।
यस्तै, आफ्नो बायोमा ‘राजावादी संस्था शाही युवा शक्ति, नेपाल’ का संस्थापक केन्द्रीय अध्यक्ष पशुपति खड्का उल्लेख गर्ने फेसबुक प्रयोगकर्ताले ‘Photo by Nepal foolish’ भनेर स्रोत दिँदै पूर्वराजा ज्ञानेन्द्र शाह र मोदीबिच शिष्टाचार भेट भएको र यसले नेपाली जनताको स्वाभिमान उठेको आशयसहित पोस्ट गरेका छन् ।
हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा आठ हजार बढी रियाक्सन, ६५१ कमेन्ट आएका छन् भने ३२१ पटक शेयर भएको छ ।
टिकटक प्रयोगकर्ता अन्जन खड्काले ‘पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको भेटले नेपालका प्रमुख राजनीतिक दलहरूलाई तर्सायो’ भन्दै भिडिओ अपलोड गरेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
अर्का फेसबुक प्रयोगकर्ता रञ्जन कुमार सिंहले आइतबार प्रधानमन्त्री मोदी र पूर्वराजा शाहबिच भेटघाट भएको दाबी गरेका छन् । भाइरल भइरहेका अरू तस्बिरको तुलनामा सिंहले हालेको फोटो फ्लिप (उल्टो) पारेको देखिन्छ । उनले हालेको फोटोमा भारतीय प्रधानमन्त्री मोदी बायाँतर्फ छन् भने पूर्वराजा शाह दायाँतर्फ छन् । तर, भाइरल भइरहेका अरू फोटोहरूमा भने मोदी दायाँ र पूर्वराजा शाह बायाँतर्फ देखिन्छन् । साथै, पूर्वराजा शाहको फोटोमा कपीराइटको डिटेल पनि उल्टो देखिन्छ ।
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा करिब चार हजार ३०० रियाक्सन, ३८० कमेन्ट र १७६ शेयर भएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
फोटोको सत्यता थाहा पाउन सबैभन्दै पहिले हामीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सिर्जित हो या होइन भनेर जाँच्याैँ । यसका लागि विभिन्न इमेज डिटेक्टर टुल प्रयोग गर्दा एआई सिर्जित नभएको सन्देश पायाैँ ।
त्यसपछि पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयलाई सम्पर्क गरी तस्बिरको सत्यताबारे सोधखोज गरियो । पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटघाटबारे कुनै जानकारी नरहेको प्रतिक्रिया दिए । टेकपाना फ्याक्टचेकसँगको कुराकानीमा उनले पूर्वराजा भारतको सिलिगुडी भ्रमणमा रहेपनि सामाजिक सञ्जालमा भाइरल भइरहेजस्तो तस्बिरबारे आफू अनभिज्ञ रहेको जवाफ फर्काए ।
“हो उहाँ अहिले भारत भ्रमणमै हुनुहुन्छ । त्यसबाहेक अरू केही पनि जानकारी सचिवालयलाई छैन,” पाठकले भने ।
सँगै पूर्वराजा शाह र भारतीय प्रधानमन्त्री मोदीको भेटबारे नेपाल र भारतसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कतै उल्लेख गरेको पाइएन । न त कूटनीतिक निकायले नै जानकारी सार्वजनिक गरेका छन् ।
फोटोको स्रोत खोज्दै जाँदा हामीले गुगल लेन्स र अन्य रिभर्स इमेज टुलहरू प्रयोग गर्याैँ । तर खोजे अनुसारका प्रमाण भेटिएनन् । यसपछि टेकपाना फ्याक्टचेक डेस्कले फोटोमा देखिएका पूर्वराजाको पहिरनलाई मुख्य आधार बनाएर फरक तरिकाले फोटोको स्रोत पत्ता लगाउन थाल्यो । उसो त अनाैपचारिक पहिरनमा देखिएका पूर्वराजा बेलामाैकामा विभिन्न अवसर पारेर रेष्टुरेन्टदेखि नाइट क्लबसम्म पुग्ने गर्छन् । उनको यही बानी ख्याल गर्दै हामीले उनी यसअघि पुगेका विभिन्न रेष्टुरेन्ट/नाइट क्लबहरूको सामाजिक सञ्जाल पेज खोतल्याैँ । यसक्रममा ठमेलमा रहेको अरेबियन रेष्टुरेन्ट मजाज रेष्टुरेन्ट एण्ड सिसा लाउन्जको पेजमा उही पहिरनमा पूर्वराजा शाहका विभिन्न फोटोहरू ९ अक्टोबर २०२३ मा अपलोड गरेको भेटियो ।
भारतीय प्रधानमन्त्री मोदीसँग भेट भएको भन्दै भाइरल गरिएको तस्बिरमा जुन पोशाक र टोपी पूर्वराजाले लगाएको देखाइएको छ, त्यहीसँग हुबहु मिल्ने पोशाक र टोपी उनले उक्त रेष्टुरेन्ज जाँदा लगाएको देखियो । रेष्टुरेन्टले पूर्वराजासहित उपस्थितहरूको तस्बिर तीनजना फोटोग्राफरहरू श्रीजन श्रेष्ठ, स्यान्टी म्यान र सिजलले खिचेको उल्लेख गर्दै फेसबुक पोस्ट गरेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
रेष्टरेन्टले अपलोड गरेकामध्ये एउटा फोटोमा पूर्वराजा शाहको पोस्चर, हात बाँधेको शैली, लगाएको वेस्टकोट र टोपी ठ्याक्कै भारतीय प्रधानमन्त्रीसँग भेट भएको भन्दै भाइरल भइरहेको तस्बिरसँग मेल खान्छ । पोशाक, टोपीको रङ पनि एकै देखिन्छ । तर, ओरिजिनल फोटोमा देखिएको रेष्टुरेन्टको ब्याकग्राउन्डलाई एडिट गर्दै बायाँपट्टि भारतको झण्डा देखाइएको छ । यस्तै, रेष्टुरेन्टकै ब्याकग्राउन्डलाई फेरेर भारतीय प्रधानमन्त्री मोदीको कार्यकक्षजस्तो देखाउन फर्निचरलगायतका सामग्री देखाइएको छ ।
हेर्नुहोस् तस्बिरहरूमा । त्यसको ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
तोडमोड गरिएको तस्बिरमा र ओरिजिनल फोटोमा पूर्वराजा शाहले हात बाँधेको स्टाइल एउटै देखिन्छ । हेर्नुहोस् स्क्रिनशट ।
त्यसैगरी, दुरुपयोग गरिएको पूर्वराजाको फोटोमा तस्बिर खिच्दा दिइएको पोज रेष्टुरेन्टमा खिचेकै जस्तै हुबहु देखिन्छ । हेर्नुहोस् स्क्रिनशटमा ।
यसका साथै, पूर्वराजाले रेष्टुरेन्ट जाँदा लगाएको वेस्टकोटमा रहेका टाँकहरु खुल्लै देखिन्छन् । तोडमोड गरिएको तस्बिरमा पनि हुबहु त्यस्तै देखिन्छ । हेर्नुहोस् स्क्रिनशटमा ।
दाबी
पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भारतमा २१ डिसेम्बर २०२५ मा भेट भयो ।
दाबीकर्ता
फेसबुक प्रयोगकर्ता ‘हृदयन्द्र शाह समर्थक’, ‘नेपाल फुलिस’, ‘रञ्जन कुमार सिंह’, टिकटक प्रयोगकर्ता अन्जन खड्का लगायत ।
तथ्य
पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको भन्दै भाइरल बनाइएको तस्बिर तोडमोड गरी तयार पारिएको हो । इमेज डिटेक्टर टुलहरूको प्रयोग गर्दा यो तस्बिर एआईले बनाएको नभई फोटोशप वा अन्य माध्यमबाट म्यानुअल्ली सम्पादन गरिएको देखिन्छ । पूर्वराजा शाहले दुई वर्षअघि ठमेलको मजाज रेष्टुरेन्ट एण्ड सिसा लाउन्जमा एक महिलासँग उभिएर खिचेको तस्बिरलाई सम्पादन गरेर महिलाको ठाउँमा मोदीको फोटो जोडिएको हो । रेष्टुरेन्टमा खिचिएको ओरिजिनल फोटोको ब्याकग्राउन्ड हटाएर कार्यकक्ष जस्तो देखाएर भारतको झण्डा राखी तस्बिर सिर्जना गरिएको छ । भाइरल तस्बिरमा पूर्वराजाले लगाएको पोशाक, टोपी, उनको उभिने शैली र वेस्टकोटको खुल्ला टाँकहरू सन् २०२३ मा उक्त रेष्टुरेन्टले सार्वजनिक गरेको तस्बिरसँग हुबहु मिल्छ ।
निष्कर्ष
सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेट भएको दाबीसहित भाइरल भइरहेको तस्बिर भ्रामक हो । दुई वर्षअघि ठमेलको एक रेष्टुरेन्टमा खिचिएको फोटोलाई तोडमोड गरी मोदीसँग जोडेर अहिले अफवाह फैलाइएको टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट पुष्टि हुन्छ ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: पुस ७, २०८२ २१:०
