close

फ्याक्टचेकः रास्वपा सांसद् कामिनी कुमारीले मतदातालाई श्रद्धाञ्जली दिएको भन्दै तोडमोड गरिएको भ्रामक भिडिओ भाइरल

हिक्मत आचार्य हिक्मत आचार्य

चैत २६, २०८२ १३:७

फ्याक्टचेकः रास्वपा सांसद् कामिनी कुमारीले मतदातालाई श्रद्धाञ्जली दिएको भन्दै तोडमोड गरिएको भ्रामक भिडिओ भाइरल

काठमाडौँ । बुधबारबार सामाजिक सञ्जालका विभिन्न माध्यममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् कामिनीकुमारी चौधरीले संसद्‍बाटै मतदातालाई धन्यवादको सट्टा श्रद्धाञ्जली दिएको दाबीसहितको एक भिडिओले चर्चा पाइरहेको छ । सहिदलाई श्रद्धाञ्जली दिनुपर्नेमा मतदान गर्ने मतदातालाई श्रद्धाञ्जली दिएको भन्दै उनको आलोचना भइरहेको हो । 

तर टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त भिडिओ भ्रामक रहेको पुष्टि भएको छ । वास्तवमा सांसद चौधरीले सहिदप्रति श्रद्धाञ्जली र मतदान गर्ने मतदातालाई धन्यवाद दिएकी थिइन् । उनको त्यही क्लिप काटेर तोडमोड गरी भ्रम फैलाइएको हो । 

दाबी

बुधबार, ९ अप्रिल २०२६ राति ११ः२२ बजे ‘Jaya Kumar Rai’ नामक फेसबुक प्रयोगकर्ताले १३ सेकेन्डको भिडिओ राखे । भिडिओको टेक्स्टमा लेखिएको छ, “सम्पूर्ण मतदाताहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।” उक्त भिडिओमा रास्वपाकी समानुपातिक सांसद कामिनी कुमारी चौधरी देखिन्छिन् । भिडिओमा उनले भनेकी छिन्, “म कामिनी कुमारी चौधरी, प्रणाम ! सम्पूर्ण …अँ…सम्पूर्ण.. सम्मानित मतदाताहरूप्रति हार्दिक श्… श्रृद्धाञ्जली अर्पण गर्न चाहन्छु ।” सो भिडिओको क्याप्सनमा लेखिएको छ, “कामेनी कुमारी चौधरी मधेसी महिला कोटाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद हुन् । उहाँले संसद भवनमा आफ्नो कुरा राख्ने क्रममा मतदाताहरूलाई हार्दिक श्रद्धाञ्जली दिएका छिन । जिल्ला महोत्तरी”

यो सामग्री तयार पार्दासम्म उक्त भिडिओ ८०५ पटक शेयर गरिएको छ । सो भिडिओमा ७०३ ओटा कमेन्ट र १९०० रियाक्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनरेकर्ड ।  

अनुसन्धान

कामिनी कुमारीले मतदातालाई श्रद्धाञ्जली दिएको दाबी गर्ने पोस्ट फेला पार्ने क्रममा टेकपाना फ्याक्टचेक डेस्कलले ‘कामेनी’, ‘कामिनी’, ‘रास्वपा सांसद’ जस्ता किवर्ड राखेर कीवर्ड सर्च गर्‍यो । त्यस क्रममा फेसबुक प्रयोगकर्ता टंक जूबू राईले भिडिओ पोस्ट गरेको पाइयो । उनले लेखेका छन्, “यीनले त बर्बादै पारिन नी..आफ्नै घण्टीका मतदाताहरुलाई हार्दिक श्रद्धाञ्जली दिएर.।” सो भिडिओलाई ७८८ पटक शेयर गरिएको छ भने एक हजार बढी रियाक्सन र २४८ कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

त्यस्तै ‘Abul Husen Ansari’ ले बिहीबार बिहान सोही भिडिओ पोस्ट गरेको फेला पार्‍यो । उनले लेखेका छन्, “यो भिडियो एआइए त होइन के हो यो खासमा, यथार्थ के हो म त केही बोल्न सकिन। दुई दिनको ट्रेनिङले पुगेन एक महिनाको ट्रेनिङ राख्नुपर्यो। सकिन्छ भने फाइभ स्टार होटलमा सकिँदैन भने सांसद भवनमा महोत्तरी जिल्ला बाट कामेनी कुमारी चौधरी मधेसी महिला कोटाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद हुन् । उहाँले संसद भवनमा आफ्नो कुरा राख्ने क्रममा मतदाताहरूलाई हार्दिक श्रद्धाञ्जली दिएका छिन ।” हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

आशिष अर्याल (ओरिजिनल भिडिओ), उमेस बुढा (ओरिजिनल भिडिओ) लयातले पनि फेसबुकमा सोही भिडिओ राख्दै आफ्नो धारणा व्यक्त गरेका छन् । 

एक्स प्रयोगकर्ता @Saduksha_karki_ ले त्यही भिडिओ पोस्ट गर्दै भनेकी छिन्, “रबि दाइ कि त आएर कामिनीले यसो भनेर भन्दिनन् भनेर मिलाउनु परो, नभए सिलाउनु परो। यो त अलि भएन है। सलेनकिरा र सम्बो.......धन भन्दा पनि तल गयो। ।” हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

टेकपाना फ्याक्टचेक डेस्कलाई मेन्सन गर्दै केही प्रयोगकर्ताले यस भिडिओका विषयमा तथ्यजाँचका लागि आग्रह गरेका छन् । फ्याक्टचेक डेस्कले यस भिडिओको तथ्यजाँचका लागि सबैभन्दा पहिले प्रतिनिधि सभाको बैठक लाइभ प्रसारण हुने युट्युब च्यानल ‘House of Representatives Nepal प्रतिनिधि सभा नेपाल’ मा यो क्लिप खोज्यो । त्यस क्रममा ७ अप्रिल २०२६ दिउसो १ बजे (२४ चैत २०८२) मा प्रसारण भएको भिडिओमा सांसद कामिनी कुमारी बोलेको फेला पर्‍यो । 

सो भिडिओको २९ मिनेट १० सेकेन्डदेखि उनले बोल्न थालेकी छिन् । उनी सभामुखलाई सम्बोधन गर्छिन् । त्यसपछि आफ्नो परिचय दिन्छिन् । सदनको गरिमा, मर्यादा र विश्वासलाई सधैं प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउँछिन् । अनि सहिदलाई श्रद्धाञ्जली अर्पण गर्छिन् । त्यसपछि मत दिने मतदातालाई धन्यवाद व्यक्त गर्छिन् । उनले भनेकी छिन्, “सम्माननीय सभामुख महोदय, म मधेसी महिला कामिनी कुमारी चौधरी प्रनाम। यस गरिमामय संघीय सदनमा पहिलो पटक बोल्ने अवसर पाउँदा म आफूलाई अत्यन्त गौरवान्वित महसुस गरिराख्या छु। यस सदनको गरिमा, मर्यादा र जनताको विश्वासलाई सदैव उच्च राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। सर्वप्रथम यस राष्ट्रको लोकतन्त्र र गणतन्त्र र परिवर्तनको लागि आफ्नो अमुल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण अ... सम्पूर्ण शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। म हाम्रा सम्पूर्ण सम्मानित मतदाताहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु र म महोदय... सभामुख महोदय, म एउटा ध्यानाकर्षण गर्न चाहन्छु उहाँलाई, मधेसमा छ... लगभग ६ प्रतिशत मधेसी दलित बसोबास गरिराख्नुभाछ र उहाँहरूलाई पनि यो राज्यको नीतिमा चाहिँ उहाँहरूलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने मेरो जोडदार माग छ ।” हेर्नुहोस् भिडिओ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आधिकारिक फेसबुक पेजमा उक्त भिडिओ शेयर गरेको छ । हेर्नुहोस् भिडिओ

सांसद कामिनी कुमारीले मतदातालाई श्रद्धाञ्जली दिएको भन्ने दाबी कतैबाट पनि पुष्टि हुँदैन । यी विभिन्न तथ्यले के पुष्टि गर्छन् भने कामिनी कुमारीले मङ्गलबार बसेको प्रतिनिधि सभा सदस्य बैठकमा सहिदहरूप्रति श्रद्धाञ्जली दिएकी थिइन् भने मतदातालाई धन्यवाद ज्ञापन गरेकी थिइन् । त्यही क्लिपलाई तोडमोड गरी उनले मतदान गर्ने मतदातालाई श्रद्धाञ्जली दिइन् भन्दै भ्रम फैलाएको पुष्टि हुन्छ ।

दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् कामिनी कुमारी चौधरीले संसदमा बोल्ने क्रममा मतदातालाई ‘श्रद्धाञ्जली’ दिइन् ।

दाबीकर्ता

फेसबुक प्रयोगकर्ता ‘Jaya Kumar Rai’, ‘Tanka Jubu Rai’, ‘Abul Husen Ansari’ र एक्स प्रयोगकर्ता ‘@Saduksha_karki_’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य

भिडिओ तोडमोड गरिएको: भाइरल भिडिओ एडिट गरी तोडमोड गरिएको हो ।

वास्तविक सम्बोधन: प्रतिनिधि सभाको बैठक (७ अप्रिल २०२४) को आधिकारिक भिडिओमा सांसद चौधरीले सहिदहरूप्रति ‘श्रद्धाञ्जली’ र मतदाताहरूप्रति ‘धन्यवाद’ व्यक्त गरेकी छिन्।

सांसदको भनाइ: उनले संसद्‍मा भनेकी छिन्, “सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । म हाम्रा सम्पूर्ण सम्मानित मतदाताहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”

भ्रमको स्रोत: सहिदलाई श्रद्धाञ्जली दिएको भाग र मतदातालाई धन्यवाद दिएको भागलाई काटेर उल्टो अर्थ लाग्ने गरी जोडिएको  ।

निष्कर्ष

सांसद कामिनी कुमारी चौधरीले मतदातालाई श्रद्धाञ्जली दिएको भन्ने दाबी भ्रामक छ । वास्तविक भिडिओको क्लिपलाई तोडमोड गरेर गलत अर्थ लाग्ने गरी भ्रम फैलाइएको पुष्टि हुन्छ ।

 

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

 

पछिल्लो अध्यावधिक: चैत २६, २०८२ १३:१९