विदेशमा रहेका नेपालीका लागि कन्सुलर सेवा सहज बनाउन 'मोफा मित्र' एप सार्वजनिक
जेठ १३, २०८३ ७:४२
काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले मोफा मित्र (MoFA Mitra) मोबाइल एप सञ्चालनमा आएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले मङ्गलबार सूचना जारी गर्दै उक्त एप औपचारिक रूपमा सञ्चालनमा आइसकेको जानकारी गराएको हो ।
एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको उक्त एपमार्फत विदेशमा रहेका नेपालीले विभिन्न कन्सुलर सेवा अनलाइनबाटै प्राप्त गर्न सक्नेछन् । एपमा विदेशमा रहेका आफन्तको खोजतलास तथा उद्धारका लागि अनलाइन निवेदन दर्ता गर्न सकिने सुविधा राखिएको छ । विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउन वा सम्बन्धित मुलुकमै अन्त्येष्टि गर्न आवश्यक निवेदनसमेत एपबाट दिन सकिनेछ।
त्यस्तै, वैदेशिक रोजगारीका क्रममा हुने दुर्घटना वा मृत्यु पश्चात् प्राप्त हुने बीमा तथा राहतसम्बन्धी निवेदन पनि एपमार्फत दर्ता गर्न सकिने विभागले जनाएको छ । विदेशमा रहेका नेपालीले आफूलाई परेका समस्या तथा गुनासो एपबाटै दर्ता गर्न सक्नेछन् भने दर्ता गरिएका निवेदन कुन चरणमा पुगेका छन् भन्ने जानकारी ट्र्याकिङ प्रणालीमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ ।
एपमा विभिन्न देशहरूको सुरक्षा अवस्था, यात्रा उपयुक्तता तथा सरकारी सूचनासम्बन्धी ट्राभल एड्भाइजरी सेवा पनि उपलब्ध रहेको विभागले जानकारी गराएको छ । साथै, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूको सम्पर्क विवरण, नियोगले उपलब्ध गराउने सेवासम्बन्धी जानकारी पनि समावेश गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ ७:४२
