काठमाडौं । कैलालीमा ‘हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भन्ने अभिव्यक्ति दिएपछि भाइरल बनेका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारीका अनुसार डीएसपी चौधरीलाई आन्तरिक सोधपुछका लागि बोलाइएको हो । उनका अनुसार सोधपुछ केवल चौधरीको अभिव्यक्तिमा मात्र केन्द्रित नभई कार्यक्षेत्रको समग्र सुरक्षा अवस्था, कार्यसम्पादन तथा अन्य प्रशासनिक विषयबारे पनि हुनेछ ।
इलाका प्रहरी कार्यालय सुखडका इन्चार्जसमेत रहेका डीएसपी चौधरीले विद्यार्थीहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा दिएको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल भिडियोमा डीएसपी चौधरीले भनेका छन्, ‘हामी बालेनको पुलिस होइन, हामी नेपाल पुलिस हो । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाल पुलिस हो । केपी ओलीलाई थुन्ने पनि यही पुलिस हो । त्यसकारण हामी नेपाल पुलिस हो ।'
उनले आफ्नो भनाइ मन परेमा ताली बजाउन पनि उपस्थित विद्यार्थीहरूलाई आग्रह गरेको भिडियोमा देखिन्छ । प्रहरीको बर्दी कसैले उपहारमा नदिएको र बर्दी राष्ट्रपतिले पनि लगाउन नपाउने उनले भनेका थिए । 'हामी भोट हालेर, टिका लगाएर र दारु भात खाएर आएको होइन', चौधरीले थप भनेका छन् । उनले भिडियो रेकर्ड नगर्न आग्रह गरेका थिए । तर सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि भाइरल बनेको छ ।
पछिल्लो अध्यावधिक: असार २५, २०८३ ९:२४
