मेटाको इमेज बनाउने एआई सार्वजनिक, अर्काको इन्स्टाग्राम फोटो प्रयोग गर्ने फिचरले गोपनीयतामाथि प्रश्न
असार २४, २०८३ १४:४
काठमाडौं । मेटाले तस्बिर सिर्जना गर्ने नयाँ एआई मोडल 'म्युज इमेज' सार्वजनिक गरेको छ । मेटा सुपरइन्टेलिजेन्स ल्याबले विकास गरेको पहिलो 'इन-हाउस इमेज जेनेरेसन मोडेल' मार्फत कम्पनीले आफ्ना सेवातर्फ क्रियटर र विज्ञापनदातालाई आकर्षित गर्ने लक्ष्य राखेको छ । म्युज इमेजलाई मेटा एआई च्याटबटमै एकीकृत गरिएको छ । साथै, इन्स्टाग्राम स्टोरीज र ह्वाट्सएप मार्फत निःशुल्क रूपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
हाल केही सीमित देशहरूमा मात्र यो फिचर सार्वजनिक गरिएको र आगामी दिनमा थप देशमा विस्तार गर्ने मेटाले जनाएको छ । कम्पनीका अनुसार मेटा एआई मार्फत म्युज इमेजको आधारभूत प्रयोग निःशुल्क हुनेछ । तर, थप उन्नत तस्बिर सिर्जना गर्ने सुविधा भने मेटाको सशुल्क सदस्यता (सब्सक्रिप्सन) योजनामार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
जटिल निर्देशन बुझेर तस्बिर बनाउन सक्ने
कम्पनीका अनुसार म्युज इमेजले प्रयोगकर्ताको जटिल टेक्स्ट निर्देशन बुझेर तस्बिर सिर्जना गर्न सक्छ । यसमा प्रयोगकर्ताले आफ्नै फोटो प्रयोग गर्न, स्केच वा एनोटेसनमार्फत एआईले बनाएको तस्बिर सम्पादन गर्न तथा विभिन्न शैलीमा रूपान्तरण गर्न सक्ने सुविधा पनि समावेश गरिएको छ ।
ह्वाट्सएप र इन्स्टाग्राममा पनि उपलब्ध
मेटाले यो मोडललाई मेटा एआई च्याटबटसँग एकीकृत गरेको छ । कम्पनीका अनुसार यसले इन्स्टाग्राम स्टोरीका लागि ३० भन्दा बढी नयाँ एआई इफेक्ट उपलब्ध गराउनेछ । यी नयाँ विशेषताहरू म्युज इमेजको क्षमतामा आधारित रहेका छन् । ह्वाट्सएपमा मेटा एआईसँगको च्याटमै तस्बिर बनाउन सकिने सुविधा पनि विस्तार गरेको छ । यद्यपि यी फिचरहरू हाल अमेरिकामा मात्र सीमित गरिएको छ । म्युज इमेजलाई फेसबुक र मेसेन्जरमा पनि एकीकृत गर्ने योजना बनाएको छ ।
गोपनीयतामाथि प्रश्न
म्युज इमेजमा समावेश गरिएको एउटा सुविधाले विशेष चासो र विवाद उत्पन्न गरेको छ । यसमा सार्वजनिक (पब्लिक) इन्स्टाग्राम प्रोफाइल भएका प्रयोगकर्ताहरूको तस्बिरलाई उनीहरूको सहमतिबिनै एआई मार्फत परिमार्जन गर्न सकिन्छ । सम्बन्धित व्यक्तिलाई केवल ट्याग गरेपछि उनीहरूको तस्बिर प्रयोग गरी नयाँ एआई तस्बिर सिर्जना गर्न सकिने यो फिचरले प्रयोगकर्ताको गोपनीयतामाथि प्रश्न उठाएको छ ।
केही प्रविधि विश्लेषकहरूले प्रयोगकर्ताको स्पष्ट सहमतिबिनै सार्वजनिक तस्बिर प्रयोग हुन सक्ने व्यवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । यद्यपि मेटाले प्रयोगकर्तालाई आफ्नो सामग्रीको पुनःप्रयोगसम्बन्धी नियन्त्रण उपलब्ध गराइएको जनाएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताले आफ्नो तस्बिर एआईद्वारा यसरी प्रयोग हुन नदिने सेटिङ सक्रिय गरेर यो सुविधा बन्द गर्न सक्नेछन् ।
एआई प्रतिस्पर्धामा मेटाको नयाँ कदम
ओपनएआई, गुगल र अन्य कम्पनीसँगको प्रतिस्पर्धालाई तीव्र बनाइरहेका बेला मेटाले म्युज इमेज सार्वजनिक गरेको हो । कम्पनीले यसलाई व्यक्तिगत र व्यावसायिक दुवै प्रयोगकर्तालाई लक्षित गर्दै क्रियटर तथा विज्ञापनदाताका लागि आकर्षक एआई उपकरणका रूपमा अघि सारेको जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २४, २०८३ १४:९
