‘ब्लु बस’ को रंग हरियो नै हुने, साझाले भन्यो : हाम्रा बसको ब्रान्ड कलर फेर्दैनौँ
असार २८, २०८३ २२:२
काठमाडौं । साझा यातायातका ‘ब्लु बस’ को रंग हरियो नै हुने भएको छ । सरकारले महिला यात्रुले मात्रै चढ्न पाउने भन्दै काठमाडौं उपत्यकामा साझा यातायातका केही बसलाई ब्लु बसको रुपमा सञ्चालन गर्ने तयारी थालेको छ । नाम नै ब्लु बस भएकाले यी बसको रंग पनि नीलो हुने भन्दै प्रचार प्रसार भइरहेको छ । तर साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालले भने साझा यातायातका बस ब्लु बसको रुपमा चलाउने तयारी भएपनि रंग भने साझा यातायातको ब्रान्ड कलर अर्थात् हरियो नै हुने जानकारी दिएका छन् ।
६४ वर्षदेखि साझा यातायातले आफ्नो ब्रान्ड कलर अर्थात् हरियो रंग पोतिएका गाडी चलाउँदै आएकाले ब्लु बसको रंग फेर्ने कुरा हल्ला मात्रै भएको उनको भनाई छ । सामाजिक सञ्जालमा भाइरल भइरहेका एआई निर्मित फोटोको विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् । महिला मात्रै चढ्ने बस हो भनेर बुझाउनको लागि बसमा स्टिकर टाँस्ने वा थोरै भागमा कुनै संकेतसहित फरक रंग लगाउने सीईओ अर्यालको भनाई छ ।
ब्लु बसको रंगको बारेमा बहस भइरहेपनि बस सञ्चालन गर्नेबारे भने प्रक्रिया खासै अघि बढेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आग्रहमा साझा यातायातले ८ वटा बसलाई ब्लु बसको रुपमा प्रयोग गर्न दिन सकिने बताएको थियो । ब्लु बस सञ्चालनको लागि बजेटको सुनिश्चित गरिदिन यातायात व्यवस्था विभागमार्फत साझाले भौतिक मन्त्रालयसँग आग्रह गरेको थियो । तर अहिलेसम्म बजेट सुनिश्चत भएको छैन ।
पछिल्लो अध्यावधिक: असार २८, २०८३ २२:१५
