१७ लाख सवारी लाइसेन्स छाप्ने सम्झौताको म्याद सकिँदै, अहिलेसम्म कति छापिए ?
असार २९, २०८३ ७:१५
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच भएको सम्झौताको समयसीमा सकिन लागेको छ । विभागले केन्द्रसँग पछिल्लो समय ३२ असारभित्र १७ लाख थान लाइसेन्स छाप्ने गरी सम्झौता गरेको थियो ।
पछिल्लो तथ्याङ्कअनुसार शनिबार (२७ असार) सम्म केन्द्रले कुल १३ लाख २८ हजार ८४१ वटा लाइसेन्स प्रिन्ट गरेको छ । जसमध्ये अत्यावश्यक प्रिन्ट ४ हजार ८८१, पुराना (ब्याकलग) १० लाख ९४ हजार ४२ र दैनिक प्रिन्ट अन्तर्गत २ लाख २९ हजार ९१८ वटा कार्ड छापिएका हुन् । तीमध्ये एकदेखि डेढ लाखसम्म प्याकिङ भएर यातायात व्यवस्था विभाग पठाउने तयारी भइरहेको केन्द्रका एक अधिकारीले जानकारी दिए ।
यसअघि यातायात व्यवस्था विभागले चिपसहितको स्मार्ट लाइसेन्स छाप्ने गरेको थियो । तर, छपाइ प्रक्रिया निकै सुस्त भएका कारण राजस्व बुझाएको वर्षौंसम्म पनि सर्वसाधारणले लाइसेन्स नपाउने समस्या भोग्दै आएका थिए । गत भदौ २४ मा भएको आन्दोलनका क्रममा विभागको छपाइ मसिनमा क्षति पुगेपछि चिपको सट्टा क्यूआर कोड राखेर लाइसेन्स छाप्ने निर्णय गरिएको थियो ।
सोहीअनुसार सुरक्षण मुद्रण केन्द्रसँग गत कात्तिक १२ मा ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने गरी सम्झौता भयो । उक्त सम्झौताको म्याद १२ वैशाख २०८३ मा सकिएपछि थप १७ लाख गरेर कुल २९ लाख लाइसेन्स ३२ असारसम्म छाप्ने गरी दोस्रो सम्झौता भएको थियो । दुई चरणको सम्झौता गरेर हालसम्म कुल २५ लाख २८ हजार ८४१ लाइसेन्स छपाइको काम सम्पन्न भएको छ ।
यद्यपि, सम्झौता गरिएकामध्ये ३ लाख लाइसेन्स भने नछाप्ने निर्णय यातायात व्यवस्था कार्यालयले गरेको छ । नवीकरणको म्याद एक वर्षभन्दा कम बाँकी रहेका लाइसेन्स नछाप्ने तयारी गरिएको हो । ती ३ लाख लाइसेन्स नछापिने भएसँगै अब करिब ६५ हजार लाइसेन्स छपाइको काम बाँकी रहेको केन्द्रका अधिकारीले बताए ।
सोबाहेक ३२ असारसम्म आउने नयाँ र आकस्मिक लाइसेन्स पनि केन्द्रले छाप्नेछ । ती अधिकारीले भने, “अब लगभग एक लाख लाइसेन्स छापिन्छ होला । १ साउनमा सबै लाइसेन्स विभागलाई बुझाइसक्छौँ ।”
यता केन्द्रबाट छापिएका लाइसेन्स विभाग पुगेसँगै विभागले विभिन्न यातायात कार्यालयहरूमा वितरणका लागि पठाइरहेको छ ।
नागरिक एपमा लाइसेन्स प्रिन्ट भएको जानकारी आएपछि लिन जानु कत्तिको उपयुक्त छ?
लाइसेन्स छापिएपछि नागरिक एपमा यसको जानकारी आउने गर्दछ । नागरिक एपको ‘ड्राइभिङ लाइसेन्स’ फिचरमा गएर लाइसेन्स नम्बर राखेपछि कार्ड छापिएको भए ‘तपाईँको सवारी चालक अनुमतिपत्र छापिएको छ। कृपया सम्बन्धित कार्यालयबाट लिनुहोस्’ भन्ने विकल्प देखिन्छ ।
तर, नागरिक एपमा सन्देश देखिए पनि लाइसेन्स कार्ड तत्काल सम्बन्धित यातायात कार्यालयमा पुगिसकेको भन्ने हुँदैन । सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छापेपछि विभागलाई जानकारी गराउँछ र त्यही डेटा एपीआईमार्फत नागरिक एपमा जोडिएको हुन्छ । त्यसैले छपाइको जानकारी विभागलाई प्राप्त हुनासाथ नागरिक एपमा पनि देखिन्छ ।
भौतिक कार्ड सम्बन्धित यातायात कार्यालयमा पठाउन भने केही समय लाग्छ । छापिएका कार्ड कार्यालयमा पुगेपछि त्यहाँका कर्मचारीले तिनलाई वर्गीकरण गर्छन् र वितरणको सूचना निकाल्छन् । त्यसैले सम्बन्धित कार्यालयको सूचनालाई नै आधिकारिक मानेर लाइसेन्स लिन जानु उपयुक्त र समय बचत हुने देखिन्छ ।
पछिल्लो अध्यावधिक: असार २९, २०८३ ७:१८
