कतिसम्म हुनसक्छ ‘एआई’ र ‘डिपफेक’ प्रविधिको सदुपयोग र दुरुपयोग ?

Ved Prasad Kafle article on deep fake and ai

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको अध्ययन अनुसन्धान सन् १९५० तिरबाट सुरू भएको हो । तर पर्याप्त मात्रामा डेटाको उपलब्धता र धेरै डेटालाई थोरै समयमा प्रशोधन गर्नसक्ने क्षमताका कम्प्युटरको विकास भइनसकेको हुनाले एआईको प्रयोग हाम्रो दैनिक जीवनमा न्यून रहेको थियो ।

क्रमशः उच्च क्षमताका कम्प्युटरहरू र विभिन्न प्रकारका एआई विधि तथा प्रविधिको विकास हुँदै गयो । यसैक्रममा सन् १९९७ मा चेस खेलका विश्व च्याम्पियन ग्यारी कास्पारोभलाई ‘डिप ब्लु’ नामको सुपर कम्प्युटरले हराउन सफल भयो । 

त्यसैगरी चेसभन्दा अझ जटिल प्रकृतिको ‘गो’ नामको कोरियन बोर्ड खेलमा सन् २०१६ मा तत्कालीन च्याम्पियन ली सदोल (Lee Seodol) लाई ‘अल्फागो’ नामको एआई सफ्टवेयर प्रोग्रामले हराइदियो । यही एआई प्रयोगबाट रोबोटहरू आफैँ चल्न र मान्छेले जस्तै काम गर्न सक्ने क्षमताका भएका छन् । यी उपलब्धिहरूलाई एआई विकासको एउटा ठूलो प्राप्तिको रुपमा लिइन्छ । 

रोबोटका इन्द्रीयका रुपमा रहेका क्यामेरा तथा सेन्सरहरूबाट कैद गरिएका चित्र तथा सूचनाहरू एआईद्वारा प्रशोधन गरेर रोबोटले आफ्नो वर्तमान अवस्थिति यकिन गर्दै गन्तव्यमा पुग्नका लागि दिशा तथा गति तय गर्ने गर्दछन् । यिनै सिद्धान्तका आधारमा स्वचालित कार, बस जस्ता यातायातका साधनहरूको पनि विकास हुँदैछ ।

फोटो या भिडिओमा वस्तु पहिचान गर्ने, भाषा अनुवाद गर्ने जस्ता कामका लागि एआई प्रविधिको प्रयोग हुँदै आएको छ । एआईको प्रयोगबाट रेडियो तथा टेलिभिजनमा कार्यक्रम सञ्चालनको काम पनि कम्प्युटर प्रोग्रामले नै गर्न थालेको छ । 

उदाहरणका लागि ‘डिप लर्निङ’ नामको परिष्कृत एआई प्रविधिमा आधारित एआई ‘किम नामक’ कृत्रिम टेलिभिजन समाचार वाचिकाबाट हालै दक्षिण कोरियाको एमबीएन च्यानलमा समाचार वाचन पनि गराइएको थियो । ‘जु–हा किम’ नाम गरेकी टेलिभिजन समाचार वाचिकाले समाचार वाचन गरेको १० घण्टा लामो भिडिओ प्रयोग गरी एआई सफ्टवेयर प्रोग्रामलाई तालिम दिँदा सो एआईले सिर्जना गरिएको एआई किमको आवाज, बोल्ने तरिका, अनुहारको हाउभाव, ओठको चाल, हात तथा शरीर हल्लाउने तरिका ठ्याक्कै किमसँग मिल्दोजुल्दो थियो ।

मान्छेको क्रियाकलापलाई यसरी हुबहु नक्कल गरेर मिडिया (अर्थात् आवाज, फोटो तथा भिडिओ) बनाउन सक्ने एआई प्रविधिको सकारात्मक कामका साथसाथै नकारात्मक काममा पनि प्रयोग हुँदै आएको छ । ‘डिपफेक’ (deepfake) अर्थात कृत्रिम मिडिया, जसमा कम्प्युटर प्रोग्रामले बनाएको मिडियामा वास्तविक मान्छेको हाउभाउसँग शतप्रतिशत मिल्ने गरी चित्रण गर्न सकिन्छ । 

यसरी बनाएको नक्कली मिडियामा देखिने, बोल्ने व्यक्तिको हाउभाउ, आवाज, अनुहार सो अनुहारसँग मिल्दोजुल्दो वास्तविक व्यक्तिसँग यति दुरुस्तै मिल्छ कि त्यो मिडिया हेर्ने वा सुन्ने मानिसले सो मिडियामा वास्तविक मान्छे नै भएको ठान्दछ । 

‘डिपफेक’मा ‘ह्युमन इमेज सिंथेसिस’ नामको एआई प्रविधिको प्रयोग गरिएको हुन्छ । जसरी हामी कुनै फोटोको कलर कपी गरेर हुबहु उस्तै फोटो बनाउन सक्छौं, त्यसरी नै एआई प्रविधिले हिँड्ने–डुल्ने र बोल्ने मान्छेको हुबहु कपी गर्न सक्दछ ।

अर्थात् हामी स्क्रिनमा कुनै पनि मानिस वा जीवको हुबहु मिल्ने नक्कली रुप सृजना गर्न सक्छौँ । यद्यपि डिपफेक कम्प्युटर एप्लिकेसनको दुरूपयोग गरियो भने मानव जीवनको लागि खतरा हुनसक्छ । 

कुनै एक व्यक्तिको हाउभाउलाई अर्कै व्यक्तिको अनुहारमा देखाएर व्यक्तिको चरित्र हत्या गर्ने, ब्ल्याकमेलिङ गर्ने काम पनि हुन सक्छ । त्यस्तै गरी एक व्यक्तिले गरेको अपराध अर्को व्यक्तिले गरेको जस्तो देखाउने जस्ता गैरकानूनी कामले बढावा पाउने तथा न्यायसम्पादनमा कठिनाइ आइपर्ने खतरा पनि छ । ‘डिपफेक’ ‘पोर्नोग्राफी’ (अश्लील भिडिओ सामग्री) मा प्रयोग गरेर चर्चित सेलिब्रेटीको बदनाम गर्ने काम हुन सक्छ । 

‘डिपफेक’मार्फत प्रभावकारी राजनीतिक व्यक्तित्वहरूलाई फर्जी चित्रण गरेर झुटा राजनीतिक प्रोपागान्डा फैलाउने काम पनि यसबाट हुनसक्छ भने निष्पक्ष निर्वाचन गराउने कामलाई चुनौती थप्ने सम्भावना पनि उत्तिकै रहेको छ । यसको अर्थ डिपफेक नकारात्मक कुराको लागि मात्र प्रयोग भएको छ भन्ने पनि होइन ।

यो प्रविधि सकारात्मक कुरामा पनि प्रयोग गरिँदै आएको छ । कोरोना भाइरसको त्रासले गर्दा मानिसहरूले विभिन्न ठाउँको भ्रमण गर्न नपाएको अवस्थामा डिपफेकको प्रयोग गरिएका ‘भर्चुअल टुर प्रोग्राम’मार्फत हामीले घरमा बसीबसी नयाँनयाँ रमणीय ठाउँहरू आफैँ पुगे जस्तोगरी घुमाईको रमाइलो अनुभव गर्न सक्छौँ ।

घरमा एक्लै बस्ने ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकसँग दोहोरो कुराकानी गरी मनोरञ्जन प्रदान गर्ने डिपफेक कम्प्युटर एप्लिकेसनको विकास गर्न सकिन्छ । बालबालिकालाई कम्प्युटरका माध्यमबाट प्रभावकारी तरिकाले पढाउने गुरू, गुरूआमा पनि डिपफेकको प्रयोगबाट बनाउन सकिन्छ ।

त्यस्तै गरी नागरिकलाई सेवा प्रदान गर्ने कार्यालयहरूले पनि डिपफेकको प्रयोग गरी कम्प्युटर स्क्रिनमा दोहोरो संवाद गरेर अनलाइनमार्फत प्रभावकारी जनसेवा प्रदान गर्न सक्छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team