close

नागरिक एपमा नयाँ अपडेट, वैदेशिक अध्ययन अनुमतिको आवेदनसँगै प्रेस पास लिङ्क गर्ने सुविधा

टेकपाना टेकपाना

माघ ३, २०७८ १७:३८

नागरिक एपमा नयाँ अपडेट, वैदेशिक अध्ययन अनुमतिको आवेदनसँगै प्रेस पास लिङ्क गर्ने सुविधा

काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट दिने उद्देश्यका साथ तयार पारिएको नागरिक  एपमा नयाँ अपडेट आएको छ ।

नागरिक एपको पछिल्लो अपडेट (भर्सन १.४.६) सँगै वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर)का लागि आवेदन दिन सकिने र प्रेस पास लिङ्क गर्न सकिने सुविधा आएको हो ।

यससँगै अब नागरिक एपबाटै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गर्ने एनओसीका लागि आवेदन दिन सकिने छ । यद्यपि त्यसको भुक्तानीको सुविधा उपलब्ध हुन भने केही समय लाग्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

‘अहिलेलाई आवेदन दिने र मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाबाट प्रक्रिया पुरा भए नभएको जानकारी नागरिक एपमा हेर्न सकिन्छ,’ मन्त्रालय स्रोतले टेकपानासँग भन्यो, ‘प्रक्रिया पूरा भएको खण्डमा उल्लेख गरिएको बैंक खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ । नागरिक एपको आगामी अपडेटमा अनलाइनबाटै एनओसीको शुल्क तिर्न सकिने सुविधा समेत ल्याउँदै छौँ ।’

यति मात्र होइन, सूचना तथा प्रसारण विभागले जारी गर्ने पत्रकार परिचयपत्र (प्रेस पास) लिङ्क गर्न सकिने सुविधा समेत नयाँ अपडेटसँगै थप भएको छ ।

हाललाई आफ्नो विवरण हेर्न सकिने सुविधा मात्रै रहेकोमा एपको अर्को अपडेटमा एपबाटै नयाँ प्रेस पास वा नवीकरणका लागि आवेदन दिन सकिने सुविधा समेत उपलब्ध हुने बताइएको छ ।

अर्को अपडेट एकहप्ता सम्ममा उपलब्ध गराउने तयारी रहेको छ । त्यस्तै एन्ड्रोइडमा एपको नयाँ भर्सन सोमबार उपलब्ध गराइएको भए पनि आईओएसमा पनि यो अपडेट आउन एक साता जति लाग्न सक्ने अनुमान गरिएको छ ।

नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२