close

दुई करोड नाघ्यो नेपाल टेलिकमको डेटा र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या !

टेकपाना टेकपाना

भदौ ५, २०८० १८:१७

दुई करोड नाघ्यो नेपाल टेलिकमको डेटा र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या !

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल तथा फिक्स ब्रोडब्यान्डमार्फत डेटा एवम् इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या दुई करोड नाघेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै प्रकाशित गरेको वैशाख महिनाको दूरसञ्चार सूचकाङ्कले यस्तो देखाएको हो ।

सूचकाङ्कअनुसार वैशाख महिनामा टेलिकमको डेटा तथा इन्टरनेट प्रयोग गर्ने ग्राहकको सङ्ख्या दुई करोड आठ हजार ५२ पुगेको छ । जसमा सबैभन्दा धेरै अर्थात एक करोड २६ लाख ७९ हजार १८ फोरजी प्रयोगकर्ता रहेका छन् ।

त्यसपछि क्रमशः थ्रीजीमा ५९ लाख ३१ हजार २१९, केबल तथा एफटीटीएचमा १० लाख २४ हजार ८५२, एडीएसएलमा दुई लाख ३६ हजार ३९० (केबल, एफटीटीएच र एडीएसएलमा (औसत घरपरिवार सङ्ख्याको आधारमा एक लाइन बराबर ४.३७ प्रयोगकर्ता मान्दा) रहेका छन् । त्यसपछि ईभीडीओ चलाउने एक लाख ३६ हजार ५७३ रहेको प्राधिकरणको इन्डिकेटर्समा उल्लेख छ ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा भने ७१ लाख दुई हजार ४७१ फोरजी तथा १८ लाख २२ हजार ४२ थ्रीजी गरी कूल डेटा तथा इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ८९ लाख २४ हजार ५१३ रहेको छ । यस बाहेक विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट प्रयोग गर्नेहरूको सङ्ख्या एक करोड तीन लाख ६९ हजार ८८३ रहेको अनुमान छ ।

एकै व्यक्तिसँग दुई वा दुई भन्दा बढी सिम कार्ड हुन सक्ने र फिक्सलाइन इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या औसतमा मापन गरिने भएकाले यो प्राधिकरणले प्रकाशित गरेको तथ्याङ्क त्यति यथार्थ परक भने मानिँदैन ।

पछिल्लो अध्यावधिक: भदौ ५, २०८० १८:१८