काठमाडौं । गुगलले इजरायली सरकारसँग क्लाउड कम्प्युटिङ सम्झौता गरेको विषयमा विरोध गर्ने दुई दर्जन भन्दा बढी कर्मचारीहरूलाई बर्खास्त गरेको छ । कार्यालयमै विरोध प्रदर्शन गरेको पाइएपछि गुगलले २८ कर्मचारीलाई बर्खास्त गरेको हो ।
प्रदर्शनमा उत्रिएका कर्मचारीले न्यू योर्क र क्यालिफोर्नियामा रहेको गुगल कार्यालय परिसरमा विरोध गरेका थिए । जहाँ उनीहरूले ‘नाफाका लागि नरसंहार नगर’, ‘हामी प्यालेस्टिनी, अरब र मुस्लिम गुगलर्सका साथमा छौं’ लेखिएको ब्यानर देखाएका थिए ।
गुगलका प्रवक्तालाई उदृत गर्दै विभिन्न सञ्चारमाध्यमले ती कर्मचारीहरूले काममा बाधा पुर्याएको र कार्यालयमा अवरोध नगर्न बारम्बार अनुरोध गर्दा पनि नमाने पछि यस्तो निर्णय लिनु परेको लेखेका छन् ।
यता कामबाट निष्कासित भएका कर्मचारीहरूले भने विज्ञप्ति निकाल्दै गुगलले आफ्ना कर्मचारी भन्दा उक्त परियोजनाबाट आउने पैसालाई बढी मूल्यवान् मान्ने कुरा पुष्टि भएको जनाएका छन् ।
केही समयअघि मात्रै इजरायली सरकारलाई क्लाउड कम्प्युटिङ सेवा उपलब्ध गराउन गुगल र अमेजनले मिलेर १.२ अर्ब डलरको सम्झौता गरेका थिए । जसलाई ‘प्रोजेक्ट निम्बस’ नाम दिइएको छ ।