काठमाडौं । अब इन्स्टाग्राममा फलोअरहरूसँग अन्तरक्रिया गर्न आफ्नै एआई क्यारेक्टर बनाउन सकिने भएको छ । हालै मेटाले एआई स्टुडिओ सार्वजनिक गर्दै प्रयोगकर्तालाई आफ्नो एआई भर्सन बनाउन विकल्प दिएको हो ।
यससँगै क्रियटर अथवा बिजनेस अकाउन्टबाट एआई क्यारेक्टर बनाउन सकिने छ । यसका लागि एआई मोडेलले उक्त अकाउन्टमा प्रयोग भएका प्रोफाइल फोटोहरूलाई आधार बनाउने बताइएको छ ।
मेटाका अनुसार एआई क्यारेक्टरले अन्य प्रयोगकर्तासँग अन्तरक्रिया गर्न अथवा प्रतिक्रिया जनाउन सक्नेछ । त्यसरी तयार हुने उत्तरहरूमा एआईको लेबल हुने बताइएको छ ।
अहिले उक्त एआई क्यारेक्टरले जोक्स अथवा मिम तयार पार्न, विभिन्न कामका लागि सुझाव दिन सक्छ । इन्स्टाग्राममा सीमित गरिएको यो फिचर भविष्यमा ह्वाट्सएप, मेसेन्जरमा समेत उपलब्ध गराउने मेटाको योजना छ ।
हाललाई अमेरिकामा मात्र सीमित यो फिचर केही महिनाभित्र अन्य देशमा पनि उपलब्ध हुने बताइएको छ ।