काठमाडौं । शैक्षिक संस्था स्विभ्ट एजुकेसन नेपाल र हङकङको एक्सिलेरेट इन्स्टिच्युटबीच साझेदारी भएको दुई वर्ष पूरा भएको छ । नेपालमा दक्ष आईटी जनशक्ति उत्पादनमा गर्ने उद्धेश्यसहित यी संस्थाबीच सहकार्य सुरु भएको थियो ।
यस सहकार्यबाट छोटो अवधिमै थुप्रै नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय आईटी शिक्षा र तालिममा पहुँच पुर्याउन सफल भएको स्विभ्ट एजुकेसनले जनाएको छ । अब दुवै संस्थाले भविष्यका योजनाहरूलाई विस्तार गर्दै अघि बढ्ने तयारी गरेका छन् ।
नेपालको शिक्षा प्रणालीलाई अझ सशक्त बनाउन हङकङ सरकारको समेत सहयोग प्राप्त गर्नेगरी योजना ल्याएको स्विभ्टले उल्लेख गरेको छ । त्यस्तै निकट भविष्यमा एक्सिलेरेटका प्रतिनिधिहरू नेपाल भ्रमण गर्ने तयारीमा छन्, जसअन्तर्गत नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसँग महत्त्वपूर्ण बैठक पनि तय गरिएको छ । यस बैठकले स्विभ्ट एजुकेसन र एक्सिलेरेटबीचको साझेदारीका उद्देश्यहरूलाई नेपालको राष्ट्रिय शैक्षिक लक्ष्यहरूसँग जोड्ने अपेक्षा गरिएको छ ।
एक्सिलेरेट हङकङको दशक लामो प्रतिष्ठित शैक्षिक संस्था हो । स्विभ्ट एजुकेसनले नेपालमा एक्सेलेरेटले तयार पारेको अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम तथा अन्य अध्ययन सामग्री अनुसार व्यावसायिक प्रशिक्षण प्रदान गरिरहेको छ ।
यसअन्तर्गत एआई तथा डेटा साइन्स, फुल स्ट्याक सफ्टवेयर इन्जिनियरिङ, यूआई/यूएक्स डिजाइन, साइबर सेक्युरिटी, मोबाइल एप इन्जिनियरिङ र आन्टरप्रेनियरशिप लगायतका कोर्स सञ्चालित छन् । यी प्रत्येक कोर्सको अवधि ६ महिनाको रहेको छ,अर्थात् ६ महिनाभित्र सम्बन्धित क्षेत्रको व्यावसायिक सीप हासिल गरी उद्योगमा काम गर्न सक्षम बनाइने कम्पनीले जनाएको छ ।
यो सफल साझेदारीले नेपालजस्तो विकासोन्मुख देशको शिक्षा क्षेत्रलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ ।