काठमाडौं । मेसेजिङ एप टेलिग्रामले अब सरकारी निकायलाई प्रयोगकर्ताको आईपी एड्रेस र फोन नम्बर उपलब्ध गराउने भएको छ । गैरकानुनी काममा आवद्ध भएका प्रयोगकर्ताको विवरण सम्बन्धित नियामक निकायले मागेको खण्डमा टेलिग्रामले उपलब्ध गराउने भएको हो ।
ब्लुमबर्गका अनुसार उक्त प्लेटफर्मले आफ्नो नीति नै परिवर्तन गरेर यस पहललाई अगाडि बढाएको छ । टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोवले सोमबार एक पोस्ट राख्दै आपराधिक गतिविधिमा आफ्नो प्लेटफर्म दुरुपयोग नहोस् भन्नका लागि नीति नै परिवर्तन गरेको बताएका छन् ।
फ्रान्समा पक्राउ परेर धरौटीमा छुटेलगत्तै दुरोवले यस्तो कदम चालेका हुन् । बालयौन दुर्व्यवहार सम्बन्धी सामग्री प्रसारमा संलग्न रहेको भन्दै उनलाई अनुसन्धानका लागि फ्रान्सेली प्रहरीले पक्राउ गरेको थियो ।
पछिल्लो समय यसमा अपलोड हुने कन्टेन्ट नियमनका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरिएको छ । त्यसबाहेक समस्या उब्जाउने किसिमका कन्टेन्ट हटाउन टिम नै राखिएको दुरोवको भनाइ छ । उनले उक्त प्लेटफर्ममा देखिने गैरकानुनी कन्टेन्ट रिपोर्ट गर्न सबैलाई अनुरोध गरेका छन् ।
टेलिग्रामले इन्ड-टु-इन्ड इन्क्रिप्टेड च्याट (पठाउने र पाउनेबाहेक तेस्रो पक्षले पहुँच नपाउने) र प्रयोगकर्ताको गोपनीयताको कारणले चर्चित छ । अब कन्टेन्ट पनि नियमन गर्ने र प्रयोगकर्ताको विवरण पनि सरकारी निकायलाई उपलब्ध गराउने निर्णयले टेलिग्रामको भविष्य कस्तो होला भन्ने जिज्ञासा उठेको छ ।