काठमाडौं । एलन मस्कले ट्वीटर (अहिलेको एक्स) खरिदका लागि अनावश्यक रूपमा बढी रकम तिरेको स्वीकार गरेका छन् । जो रोगनसँगको पडकास्टमा मस्कले उक्त खरिद अत्यन्त महँगो र जोखिमपूर्ण निर्णय भएको बताएका छन् ।
मस्कका अनुसार उनी जोखिममा पर्ने डरले ट्वीटर किनेका थिए । “मैले ट्वीटर किन्नु नपर्ने भएको भए पनि जोखिममा पर्ने डरले यो कदम उठाएँ । यो एउटा पागलपनको निर्णय थियो, र आर्थिक दृष्टिकोणले निकै महँगो पनि भयो,” मस्कले भने ।
मस्कले ट्वीटर खरिद गर्नुअघि उक्त कम्पनी पब्लिक कम्पनी थियो । त्यसले गर्दा कम्पनीले अमेरिकी नीतिहरू मान्नुपर्ने हुन्थ्यो । सरकारले जसका अकाउन्ट प्रतिबन्ध लगाउन भन्यो, त्यो आदेश मान्नुपर्थ्यो । यही मारमा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि परेका थिए ।
मस्क ट्वीटरमा उट्पट्याङ गर्ने र उनकै ट्वीटका कारण शेयर बजार उथलपुथल हुने अवस्था थियो । त्यसैले उनको अकाउन्टमाथि प्रतिबन्ध लाग्न सक्ने जोखिम उच्च थियो । यसैबाट जोगिन र अभिव्यक्ति स्वतन्त्रताका लागि मूलधारको सामाजिक सञ्जाललाई आफ्नो अधीनमा पार्न मस्कले ट्वीटर खरिद गरेका थिए ।
Elon Musk: “The reason I did the Twitter acquisition was: if I don't do this, I think we're screwed – It's a crazy move, the thing was way overpriced.
Long term, I think, we can ultimately make it a win for investors, but, boy, this is a hard way to make a living.” pic.twitter.com/mMrGhHCnVv
ट्वीटर खरिद गरिसकेपछि आफूलाई व्यक्तिगत फाइदा पुग्ने उनको अपेक्षा थियो । उनले सोचेका थिए लगानीकर्तालाई आकर्षित गरेर कम्पनीको भ्यालुएसन बढाउन सकिन्छ । त्यसका लागि उनले कम्पनीको नाम परिवर्तन गर्नेदेखि विभिन्न फिचर ल्याउनेसम्मका काम गरे ।
तर न उनको रणनीति लगानीकर्ताका लागि राम्रो भयो, न कम्पनीले नै राम्रो आम्दानी गर्न सक्यो । ट्वीटर ट्वीटर जस्तो नरहेको भन्दै विज्ञापनदाताले उक्त प्लेटफर्मलाई बहिष्कार गर्न थाले ।
मस्कले सन् २०२२ मा ४४ अर्ब डलर तिरेर ट्वीटर खरिद गरेका थिए । त्यस समयमा ट्वीटरको मूल्य ८.८ अर्ब डलर रहेको विश्लेषकले बताएका थिए । मस्कले ४०० प्रतिशत बढी मूल्य तिरेर उक्त प्लेटफर्म खरिद गरेको बताइन्छ ।