भारत भ्रमणमा रहेका रवि लामिछानेका समर्थक र विरोधीबिच सामाजिक सञ्जालमा एआई तस्बिरको ‘जुहारी’
जेठ १९, २०८३ १८:२६
काठमाडौँ । पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थक र विरोधीबिच सामाजिक सञ्जालमा एआई निर्मित तस्बिरको ‘जुहारी’ चलेको छ । लामिछाने सोमबार नयाँ दिल्ली पुगेलगत्तै फेसबुकमा काल्पनिक तस्बिर पोस्ट गर्दै दुवै पक्ष एक-अर्काविरुद्ध उत्रिएका हुन् ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा दिल्ली प्रस्थान गरेका लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले स्वागत गरेका थिए ।
यही भ्रमणको पृष्ठभूमिमा लामिछानेका समर्थकले उनलाई उच्च राजकीय सम्मान पाएको र राष्ट्रवादी अडान भएको नेताका रूपमा प्रस्तुत गर्न एआई प्रविधिको सहारा लिएका छन् ।

सामाजिक सञ्जालमा ‘प्रकृति पङ्गाली’ नामक फेसबुक अकाउन्टबाट लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘ग्रेटर नेपाल’ को नक्सा बुझाइरहेको जस्तो देखिने काल्पनिक तस्बिर पोस्ट गरिएको छ ।

त्यस्तै, ‘फिटमिन’ नामक अर्का प्रयोगकर्ताले पनि प्रधानमन्त्री मोदी आफैँले विमानस्थलमा पुगेर लामिछानेलाई सलामी दिँदै स्वागत गरेको दाबीसहितको एआई फोटो सार्वजनिक गर्दै लामिछानेले उच्च सम्मान पाएको देखाउन खोजेका छन् । समर्थनमा आएका यी प्रतिनिधि पोस्ट मात्र हुन् । अन्य दर्जनौं फेसबुक अकाउन्ट तथा पेजबाट सोही फोटो फरक फरक धारणासहित सार्वजनिक गरिएका छन् ।
अर्कोतर्फ लामिछानेका विरोधीले उनलाई भारतसामु लचिलो र आत्मसमर्पणवादी देखाउन उस्तै प्रकृतिका एआई तस्बिर सार्वजनिक गरिरहेका छन् । ‘फेन्चो डोङ’ नामका फेसबुक प्रयोगकर्ताले लामिछानेले प्रधानमन्त्री मोदीको खुट्टा ढोगिरहेको एआई तस्बिर पोस्ट गर्दै “नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री मोदी र रवि लामिछानेबिच ढोगभेट भएको” भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

यही क्याप्सन र फोटो कपी गर्दै अन्य दर्जनौं अकाउन्टले पोस्ट राखेका छन् ।

विरोधीले यस्ता सामग्रीमार्फत लामिछानेले राष्ट्रिय स्वाभिमान कमजोर बनाएको भन्दै आलोचना गरिरहेका छन् ।


सामाजिक सञ्जालमा दुवै पक्षले आ-आफ्नो अनुकूलता अनुसार प्रचार र आलोचना गरे पनि भाइरल भइरहेका यी तस्बिर मिथ्या हुन् । यो सामग्रीसमाचार तयार पार्दासम्म सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच कुनै पनि औपचारिक वा अनौपचारिक भेटघाट भएको छैन । प्राविधिक जाँचका क्रममा यी फोटो ओपनएआई र जेमिनाईबाट बनाएको पुष्टि भएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८३ १८:३२
