रास्वपा महाधिवेशनमा प्रयोग ‘ईभीएम’ बारे विकासकर्ताको स्पष्टीकरण: ‘त्रुटि प्रविधिको होइन, व्यवस्थापनको’
असार १९, २०८३ १५:४१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न महाधिवेशनमा प्रयोग गरिएको विद्युतीय मतदान मेसिन (ईभीए) बारे उठेका प्रश्न प्रति मेसिनका अनुसन्धानकर्ता तथा विकासकर्ताले स्पष्टीकरण दिएका छन् । ई-भोटिङ मेसिन विकासकर्ता दाजुभाइ राम प्रसाद रिमाल र लक्ष्मण प्रसाद रिमालले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको सूचनाले प्रविधिबारे भ्रम सिर्जना गरेको भन्दै महाधिवेशनमा देखिएका अधिकांश समस्या मतदान प्रणालीभन्दा निर्वाचन व्यवस्थापन र अन्तिम समयमा गरिएका निर्णयसँग सम्बन्धित रहेको बताएका छन् ।
विकासकर्ताले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपालमै विकास गरिएको उक्त विद्युतीय मतदान प्रणाली १३ वर्षको अनुसन्धान, परीक्षण र परिमार्जनपछि तयार भएको हो । हालसम्म करिब ३०० वटा विभिन्न निर्वाचनमा यसको प्रयोग भइसकेको र सबै निर्वाचनमा मतगणना शतप्रतिशत सही रहेको दाबी गरिएको छ । विकासकर्ताहरूले विज्ञप्ति जारी गर्दै रास्वपाको महाधिवेशमा प्रयोग गरिएको विद्युतीय मतदान प्रणालीबारे तथ्य सार्वजनिक र उठेका जिज्ञासाको जवाफ दिएका छन् ।
एउटै पदमा ६४ उम्मेदवार किन ?
महाधिवेशनमा एउटै समूहमा ६४ उम्मेदवार राखिएको विषयमा विकासकर्ताले अन्तिम निर्णय निर्वाचन आयोगको भएको बताएका छन् । प्रारम्भिक रूपमा खुला र समावेशी समूहलाई छुट्टाछुट्टै राखेर प्रणाली तयार गरिएको भए पनि अन्तिम समयमा आयोगले दुवै समूहलाई एउटै क्लस्टरमा राख्न निर्देशन दिएको उनीहरूको भनाइ छ ।
उनीहरूका अनुसार मतदान मेसिनले निर्वाचन आयोगबाट हस्ताक्षरसहित प्राप्त अन्तिम नामावलीलाई मात्रै कार्यान्वयन गर्ने भएकाले उम्मेदवारको संख्या, समूह वा क्रम परिवर्तन गर्ने अधिकार प्रणालीसँग हुँदैन । मतदान उपकरणमा देखिएको एउटै समूहमा ६४ जना उम्मेदवारको व्यवस्था विकासकर्ताको तर्फबाट गरिएको निर्णय नभई निर्वाचन आयोगबाट प्राप्त अन्तिम आधिकारिक नामावली र निर्देशनअनुसार जस्ताको त्यस्तै कार्यान्वयन गरिएको व्यवस्था भएको उनीहरूको भनाइ छ ।
नाम र क्रम संख्या कसरी फरक पर्यो ?
मेसिनमा उम्मेदवारको नाम र क्रम संख्या मिलेन भन्ने आरोप पनि विकासकर्ताले अस्वीकार गरेका छन् । आयोगबाट प्राप्त अन्तिम आधिकारिक सूचीलाई कुनै परिवर्तन नगरी अक्षरशः मेसिनमा समावेश गरिएको र नाम वा क्रमसंख्यामा देखिएको समस्या मेसिनका कारण नभएको दाबी गरिएको छ ।
अनिवार्य मतदान किन ?
विज्ञप्तिअनुसार प्रारम्भिक सम्झौतामा मतदातालाई इच्छाअनुसार मतदान गर्न सकिने व्यवस्था राख्ने सहमति भएको थियो । तर अन्तिम समयमा निर्वाचन आयोगले प्रत्येक समूहमा तोकिएको संख्यामा अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । विकासकर्ताले सम्झौताविपरीत हुने भन्दै लिखित निर्देशन मागेपछि आयोगले लिखित निर्देशन दिएको र त्यसपछि मात्रै प्रणालीमा अनिवार्य मतदानको व्यवस्था गरिएको जनाएका छन् ।
उम्मेदवारको फोटो किन राखिएन ?
मतपत्रमा उम्मेदवारको तस्बिर नराखिएको विषयमा पनि विकासकर्ताले समय अभावलाई कारण बताएका छन् । उनीहरूका अनुसार अन्तिम आधिकारिक उम्मेदवार सूची मतदान हुनुभन्दा करिब एक घण्टाअघि मात्रै प्राप्त भएको थियो । उम्मेदवारको तस्बिरसहित नयाँ विद्युतीय मतपत्र तयार गर्न कम्तीमा ८-१० घण्टा आवश्यक पर्ने भएकाले आयोगको निर्देशनअनुसार नाम मात्र समावेश गरिएको मतदान प्रणाली प्रयोग गर्नुपरेको उल्लेख गरिएको छ ।
नतिजा किन ढिलो आयो ?
मतदान सकिएलगत्तै मतगणना गर्न लाग्दा प्रवासतर्फको मतदान सुरु नै नभएको जानकारी आएको र त्यसले समग्र परिणाममा असर पर्ने भएकाले गणना रोकिएको विकासकर्ताले बताएका छन् । प्रवासको मतदान सम्पन्न भएपछि भने ८० वटा मेसिनमा परेको २ लाख ९२ हजार ९ सय ४१ मत करिब १० मिनेटमै गणना गरेर निर्वाचन आयोगलाई उपलब्ध गराइएको दाबी गरिएको छ । औपचारिक परिणाम सार्वजनिक हुन ढिलाइ हुनु आयोगको आन्तरिक प्रक्रियाका कारण भएको विकासकर्ताको भनाइ छ ।
समस्या प्रविधिमा होइन व्यवस्थापनमा
विकासकर्ताले महाधिवेशनअघि निर्वाचनलाई व्यवस्थित बनाउन २० पृष्ठ लामो कार्यान्वयन पुस्तिका निर्वाचन आयोगलाई उपलब्ध गराएको भए पनि त्यसका सुझाव प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताएका छन् ।
मतपरिणामलाई औपचारिक नतिजामा ल्याउन निर्वाचन आयोगलाई जति समय लाग्यो, त्यो प्रणालीको कारणले नभई आयोगको आन्तरिक प्रक्रियाको कारण भएको उनीहरूको दाबी छ । उनीहरूले मतदान प्रणाली पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र विश्वसनीय रहेको दाबी गर्दै यससम्बन्धी कुनै पनि प्रश्न वा जिज्ञासामा सार्वजनिक रूपमा जवाफ दिन आफूहरू सधैं तयार रहेको उल्लेख गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार १९, २०८३ १६:२
