भ्रष्टाचारको सूचना दिनेहरूको पहिचान गोप्य राख्न 'इन्क्रिप्टेड डिजिटल गुनासो' प्रणाली ल्याउँदै सरकार
असार २८, २०८३ १५:३९
काठमाडौं । सरकारले भ्रष्टाचार सम्बन्धी सूचना दिनेहरूको गोपनीयता सुरक्षित गर्न ‘अनाम गुप्तीकृत डिजिटल गुनासो प्रणाली’ (Anonymous Encrypted Digital Complaint System) सञ्चालन गर्ने भएको छ। मन्त्रिपरिषद्ले १८ असारमा स्वीकृत गरेको ‘भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (आर्थिक वर्ष २०८२/८३–२०८७/८८)’ मा यो योजना समेटिएको हो।
नेपाल सरकारले यस प्रणालीको सफल कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुख्य जिम्मेवार निकायको रूपमा तोकेको छ । यसैगरी, राष्ट्रिय सतर्कता केन्द्र र सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयलाई सहयोगी निकायका रूपमा तोकिएको छ । सरकारले आगामी १ वर्षभित्रमा गुप्तीकृत डिजिटल गुनासो प्रणाली पूर्ण रूपमा सञ्चालन गरिसक्ने लक्ष्य र कार्ययोजना बनाएको छ । सङ्घीय संसद्को प्रत्यक्ष अनुगमनमा यो योजनालाई अघि बढाइने भएको छ।
भ्रष्टाचारसम्बन्धी सूचना वा उजुरी दिने व्यक्तिको पहिचान र गोपनीयता सुरक्षित गर्ने मुख्य उद्देश्यले यो प्रणाली सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी उजुरीकर्ताको पहिचान गोप्य राख्न खोजिए तापनि, यो प्रणालीले निम्त्याउन सक्ने साइबर सुरक्षा जोखिम र मिथ्या सूचना (फेक इन्फर्मेसन) को चाप बढ्न सक्ने सम्भावित चुनौतीहरूलाई पनि सरकारले पहिचान गरेको छ ।
सदाचारितामा आधारित भ्रष्टाचारमुक्त र समृद्ध राष्ट्र निर्माण गर्ने दीर्घकालीन सोचसहित सरकारले भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना ल्याएको हो । डिजिटल प्रविधि र नागरिक सशक्तीकरणको माध्यमबाट सार्वजनिक सेवालाई पारदर्शी, सेवाग्राहीमैत्री र जवाफदेही बनाउने तथा नैतिकवान, सुसंस्कृत, सदाचारयुक्त समाज र समृद्ध राष्ट्रको निर्माण गर्ने रणनीति उद्देश्य अन्तर्गत गुप्तीकृत डिजिटल गुनासो प्रणाली सञ्चालन गर्न लागिएको हो ।
यस प्रणालीको सहयोगी निकायका रुपमा रहेको राष्ट्रिय सतर्कता केन्द्रलाई सरकारले भ्रष्टाचारको पूर्वरोकथाम, जोखिम विश्लेषण र प्रणालीगत सुधारमा केन्द्रित विशिष्टीकृत निकायका रूपमा विकास गर्ने योजना पनि अघि सारेको छ । साथै, एआईमा आधारित भ्रष्टाचार जोखिम विश्लेषण प्लेटफर्म र डिजिटल जोखिम घनत्व मानचित्र विकास गर्न पनि सतर्कता केन्द्रलाई सुदृढ बनाइने योजनामा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: असार २८, २०८३ १६:२
