काठमाडौं । एनसेलले आफ्नो कुनै पनि मोबाइल नम्बरमा एसएमएस, ओटीपी (वन टाइम पासवर्ड) र अन्य सूचनाहरू नआउने समस्या नरहेको जनाएको छ । कम्पनीले देशभित्र वा अन्तर्राष्ट्रिय रोमिङमा रहेका सबै नम्बरमा यी सेवा सहज रूपमा उपलब्ध रहेको स्पष्ट पारेको हो ।
एनसेलका प्रमुख व्यापारिक अधिकृत उमैर मोहसिनले कुनै पनि नम्बर रेन्जमा एसएमएस वा ओटीपी डेलिभरीमा समस्या नभएको बताए । “सुरुवातमा ९७० रेन्जमा केही प्रारम्भिक समस्याहरू देखिएका थिए । ती समस्या विभिन्न प्रमुख सेवा प्रदायकहरूको द्रुत समझदारीका साथ समाधान गरिएको छ,” उनले भने ।
डिजिटल सेवाहरूको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकले एप्लिकेसन टु पर्सन (एटुपी) मेसेजहरू जस्तै; ओटिपी, एसएमएस र अन्य नोटिफिकेसनका रूपमा प्राप्त गर्ने गर्दछन् । यस्ता मेसेज सरकारी निकाय, अर्ध-सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्था तथा गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउँछन् ।
एनसेलले अन्य शर्ट–कोड सञ्चालक तथा सेवा प्रदायकहरूलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरूप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।
“केही शर्ट कोड सञ्चालकहरू वा सेवा प्रदायकहरू हुन सक्छन्, जो हाम्रो नयाँ ९७० नम्बर रेन्जका बारेमा अनविज्ञ छन्, त्यसैले हामी त्यस्ता सेवा प्रदायकहरुलाई पनि आफ्नो सिस्टमलाई अपडेट गरेर हाम्रो यो नयाँ रेन्ज अनुकूल बनाउन अनुरोध गर्दछौं,” मोहसिनले भने ।
सबै एनसेलका नम्बर सिरिजहरू लोकल आगमन कल र अन्तर्राष्ट्रिय कलहरूको लागि पनि पहुँच योग्य भएको उनले उल्लेख गरे ।
केही समस्या भए ग्राहक तथा शर्ट कोड सञ्चालकहरूले एनसेल कस्टमर केयर वा इन्टरप्राइज टोलीसँग सम्पर्क गरेर आफ्नो कुरा राख्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, ९७० नम्बर रेन्जमा ग्राहकले सुरुका ९७०५ बाहेक अन्तिम छ अंकहरू आफैले 'सधैं अन विशेष नम्बर'का रूपमा चयन गर्न सक्ने सुविधा पनि छ ।