close

एलन मस्कको डेटा सेन्टरबाट चल्ने भयो ‘क्लाउड एआई’, ३०० मेगावाटको कम्प्युटिङ क्षमता थपिँदै

टेकपाना टेकपाना

बैशाख २४, २०८३ १०:४६

एलन मस्कको डेटा सेन्टरबाट चल्ने भयो ‘क्लाउड एआई’, ३०० मेगावाटको कम्प्युटिङ क्षमता थपिँदै

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप एन्थ्रोपिकले एलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्ससँग आफ्नो कम्प्युटिङ क्षमता विस्तारका लागि नयाँ सम्झौता गरेको छ । बुधबार सार्वजनिक भएको यो सम्झौताअनुसार एन्थ्रोपिकले अब आफ्नो एआई मोडेल ‘क्लाउड’लाई सञ्चालन गर्न मस्कका डेटा सेन्टरहरूको प्रयोग गर्नेछ ।

सम्झौताअन्तर्गत अमेरिकाको टेनेसी राज्यमा रहेको स्पेसएक्सको ‘कोलोसस १’ सुविधामार्फत आगामी एक महिनाभित्र ३०० मेगावाटको नयाँ क्षमता एन्थ्रोपिकलाई उपलब्ध गराइनेछ । यस डेटा सेन्टरमा दुई लाख २० हजारभन्दा बढी एनभिडिया प्रोसेसरहरू जडान गरिएका छन्, जुन सुरुमा मस्कको आफ्नै एआई कम्पनी एक्सएआईको ग्रोक मोडेलका लागि बनाइएका थिए ।

एन्थ्रोपिकको एआई कोडिङ टुुल ‘क्लाउड कोड’ लगायतका उत्पादनहरूको माग ह्वात्तै बढेपछि कम्पनीले कम्प्युटिङ क्षमताको अभाव झेलिरहेको थियो । यो सम्झौताले उक्त समस्या समाधान गर्न ठुलो मद्दत पुग्ने अपेक्षा गरिएको छ । साथै, कम्पनीले भविष्यमा अन्तरिक्षमा रहने अर्बिटल डेटा सेन्टर विकास गर्न पनि स्पेसएक्ससँग सहकार्य गर्न रुचि देखाएको छ ।

विगतमा एन्थ्रोपिकको कडा आलोचना गर्दै आएका मस्कको पछिल्लो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ । “क्लाउड मानवताका लागि राम्रो छ भन्नेमा उनीहरूको कामले मलाई प्रभावित पार्‍यो,” मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । यद्यपि, उनले चेतावनी दिँदै यदि एन्थ्रोपिकको एआईले मानवतालाई हानि पुग्ने काम गरेमा आफूले आफ्नो डेटा सेन्टरबाट बाहिर निकालिदिने बताएका छन् ।

सान फ्रान्सिस्कोमा आयोजित एन्थ्रोपिकको पहिलो डेभलपर कन्फरेन्सकै दिन यो सम्झौता घोषणा गरिएको हो । अतिरिक्त क्षमता प्राप्त भएसँगै कम्पनीले क्लाउड कोडको प्रयोग सीमा दोब्बर बनाएको छ भने प्रो तथा म्याक्स प्रयोगकर्ताहरूका लागि ‘पिक-आवर’ को प्रतिबन्ध हटाएको छ ।

सोही कार्यक्रममा एन्थ्रोपिकले ‘ड्रिमिङ’ नामक नयाँ फिचर पनि सार्वजनिक गरेको छ । यो फिचरले एआई प्रणालीलाई प्रयोगकर्ताको प्राथमिकता र पुराना कामहरू समीक्षा गरेर नयाँ कुरा सिक्न मद्दत गर्नेछ ।

एलन मस्कले आफ्ना प्रतिस्पर्धीहरूलाई पनि कम्प्युटिङ पावर भाडामा दिनुले एआई उद्योगमा नयाँ व्यावसायिक सम्बन्धको सुरुवात भएको विश्लेषण गरिएको छ । यसअघि मस्कको कम्पनीले अर्को एआई स्टार्टअप ‘कर्सर’ सँग पनि यस्तै सम्झौता गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८३ १२:५२