काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्बपति उद्यमी एलन मस्कले टिकटक किन्न चाहेमा आफू त्यसलाई समर्थन गर्न तयार रहेको बताएका छन् । मङ्गलबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले पत्रकारहरूसँगको कुराकानीमा मस्कले टिकटक किन्न चाहेको खण्डमा समर्थन गर्ने प्रतिक्रिया दिएका हुन् ।
राष्ट्रिय सुरक्षा चिन्ताको कारण टिकटकलाई चिनियाँ स्वामित्वबाट बिक्री गर्नुपर्ने कानुन अमेरिकामा आइतबारदेखि लागु भएको थियो । यो कानुन लागु हुनु अघि केही समयका लागि टिकटकका १७ करोड बढी अमेरिकी प्रयोगकर्ताले एपमा पहुँच पाउन सकेका थिएनन् । २० जनवरीमा नव निर्वाचित राष्ट्रपति ट्रम्प औपचारिक रूपमा सरकारमा आए लगत्तै एप खुलेको छ ।
ब्लुमबर्गका अनुसार चिनियाँ अधिकारीहरूले टिकटकको अमेरिकी सञ्चालन मस्कलाई बिक्री गर्ने विषयमा छलफल गरेका थिए । यद्यपि कम्पनीले यस प्रकारको योजनालाई अस्वीकार गरेको छ । ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कानुनको कार्यान्वयनलाई ७५ दिनसम्म पछाडि सारिदिएका छन् ।
ट्रम्पले पत्रकारहरूसँग भनेका छन्, “यदि उनले (मस्कले) टिकटक किन्ने चाहना राख्छन् भने म तयार छु । मैले टिकटकका ठुला मालिकहरूसँग भेटेको छु । कसैले टिकटक किनोस् र यसको आधा स्वामित्व संयुक्त राज्य अमेरिकालाई देओस् भन्ने मेरो सोचाइ छ ।”
स्वतन्त्र अभिव्यक्ति पक्षधरहरूले अमेरिकी काँग्रेसबाट पारित र राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको यस कानुनको विरोध गरेका छन् । टिकटक आफ्नो चीनसँगको सम्बन्धबारे अमेरिकी अधिकारीहरूले गलत बयान दिएको दाबी गर्दै आएको छ । कम्पनीका अनुसार यसको रिकमेन्डेसन इन्जिन र प्रयोगकर्ताको डेटा अमेरिकाभित्र ओराकलद्वारा सञ्चालित क्लाउड सर्भरहरूमा भण्डारण गरिएको छ ।
मस्कले यसअघि चिनियाँ बजार र अमेरिकी बजारबिच असन्तुलन रहेको टिप्पणी गरेका थिए । उनले भनेका थिए, “म लामो समयदेखि टिकटक प्रतिबन्धको विपक्षमा छु । किनभने यो अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा जान्छ ।”
तर, उनले चीनले अमेरिकी एपलाई सञ्चालन गर्न नदिँदा टिकटकलाई अमेरिकाभित्र सञ्चालन गर्न दिने स्थितिलाई असन्तुलित भएको बताएका छन् ।