close

अमेरिकी फोटोग्राफरले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिमचितुवाको फोटो फेक !

टेकपाना टेकपाना

मंसिर १०, २०७९ ९:२५

अमेरिकी फोटोग्राफरले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिमचितुवाको फोटो फेक !

काठमाडौं । केही समय अगाडी मात्र एक अमेरिकी फोटोग्राफर कितिया पा‌वलोस्किले सगरमाथा क्षेत्रमा खिचेको बताइएको हिमचितुवाको फोटो सामाजिक सञ्जालमा निकै नै भाइरल भएको थियो । यद्यपि उक्त फोटो फेक (नक्कली) भएको दाबी आएको छ । 

अल्पाइन इन्टरनेशनल म्यागजिन नामक फ्रान्सेली अनलाइन म्यागजिनले कितियाले सगरमाथामा खिचेको भनेर दाबी गरेको तस्बिर फोटोशप गरिएको उल्लेख गरेको छ । म्यागजिनमा प्रकाशित 'द फेक स्नो लियोपार्ड: फोटोमोन्टेज स्प्रेड अराउन्ड द वर्ल्ड' नामक एक लेखमा उक्त हिमचितुवाको तस्बिर नक्कली भएको दाबी छ । हिमाल र आरोहीहरूको बारेमा लेख्ने उक्त म्यागजिनमा कितिया वास्तविक फोटोग्राफर पनि होइनन् तर उनको फोटोशप गर्ने सिप भने उत्कृष्ट रहेको उल्लेख गरेको छ । 

उनी वास्तविक फोटोग्राफर होइनन् भनेर उनको सामाजिक सञ्जालले पनि प्रमाणित गरेको छ । सामाजिक सञ्जालको यो समयमा कुनै पनि फोटोग्राफरले आफ्नो कामहरू सामाजिक सञ्जाल मार्फत देखाउन चाहन्छन् । तर कितियाको ५० हजार फलोअर्स भएको इन्स्टाग्राममा भने पाँचओटा मात्र फोटो छन्; एउटा उनको आफ्नै र बाँकी चार उनले खिचेको भनेको हिमचितुवाको फोटो । 

उनले खिचेको बताइएको हिमचितुवाको फोटोमा भने सगरमाथा क्षेत्रको स्थानहरू नै गलत छन् । साथै उनले खिचेको तस्बिरको विवरणको आधार मान्ने हो भने उनले दिएको पृष्ठभूमी र वास्तविक पृष्ठभूमी भने गलत रहेको अल्पाइनको दाबी छ । 

नेपालमा भने यो तस्बिरले निकै चर्चा पाएको थियो । नेपालका सञ्चार माध्यमहरूमा यो फोटो र फोटो खिच्ने अमेरिकी फोटोग्राफरको बारेमा राम्रै चर्चा पनि भएको थियो । यति मात्र नभएर सामाजिक सञ्जालका प्रयोगकर्ताबिच अमेरिकी फोटोग्राफरले खिचेको तस्बिर मात्र शेयर गर्ने नेपाली फोटोग्राफरले नै खिचेको तस्बिरलाई भने वास्ता नगर्ने भन्ने खालका विवाद पनि उठेको थियो । यो विषयले फेसबुक, ट्वीटर, टिकटक सबैतिर स्थान पाएको थियो । 
नेपालमा भने कितियाको तस्बिर अमेरिकी राजदुतावासले पनि शेयर गरेको थियो । 

पछिल्लो अध्यावधिक: मंसिर १०, २०७९ १०:१६