close

एउटा त्यस्तो विशेषता, जसमा आईफोन १४ प्रो भन्दा आईफोन एक्स नै राम्रो

टेकपाना टेकपाना

चैत ५, २०७९

एउटा त्यस्तो विशेषता, जसमा आईफोन १४ प्रो भन्दा आईफोन एक्स नै राम्रो

काठमाडौं । एप्पलले सुरुताका उत्पादन गरेको आईफोनको आकार ३.५ इन्च थियो । त्यसपछिका हरेक नयाँ सिरिजमा कम्पनीले फोनको आकार बढाउँदै लगेको छ ।

३.५ बाट चार इन्च । ४.७ बाट ५.८ इन्च । ६.१ इन्चबाट ६.७ इन्च । अहिले करिब सात इन्चसम्मको डिस्प्ले भएका आईफोन बजारमा उपलब्ध छन् । 

सामान्यतया साना हात भएका मान्छेहरूलाई ठूला आकारका फोन‍ समाउन अफ्ठ्यारो हुने गर्छ । कतिपयको एउटा हातले मात्र फोन चलाउने बानी हुन्छ ।

उनीहरूलाई पनि आकारमा ठूला फोन चलाउन गाह्रो हुन्छ । त्यसो त हातमा धेरै सामान बोकिरहँदा साना आकारका फोन चलाउन निकै सजिलो हुने गर्छ । यही ‘आकार’ले गर्दा आईफोन १४ प्रो भन्दा आईफोन एक्स राम्रो छ । 

 

५.८ इन्च : समात्न सजिलो आकार भएको फोन !

एप्पलले सन् २०१७ मा आईफोन ८, आईफोन ८ प्लससँगै आईफोन एक्स पनि लञ्च गरेको थियो । त्यसमा आईफोन ८ टच आईडी (touch ID) भएको अन्तिम फोन बन्यो ।

त्यस्तै पहिलो पटक बायोमेट्रिक्स (Biometrics) का लागि फेस आईडी प्रयोग भएको तर होम ‍बटन (home button) नभएको पहिलो फोन आईफोन एक्स बन्यो । 

त्यति बेला ४.७ इन्चको आईफोन ८, ५.५ इन्चको आईफोन ८  र ५.८ इन्च भएको आईफोन एक्स लञ्च भएका थिए । आईफोन एक्समा होम बटन नभएकाले स्क्रिनको भाग बढी थियो । 

स्टेनलेस (खिया नलाग्ने) स्टिल फ्रेम प्रयोग भएकाले आईफोन १४ प्रो अलि वजनदार छ । यसकारण प्रो फिचरहरू भए पनि लामो समयसम्म चलाउँदा हात गल्छ । एक हातले त समाउनै मुस्किल पर्छ ।

६.१ इन्च डिस्प्लेको सामसङ ग्यालेक्सी एस २३ मा आल्मुनियम फ्रेम प्रयोग गरिएकाले १४ प्रो को तुलनामा हलुको छ । अलि कम तौल भएको फोन खोज्नेहरूका लागि १४ प्रोको तुलनामा ग्यालेक्सी एस २३ राम्रो विकल्प हो ।

तर ग्यालेक्सी एस २३ पनि आकारमा ठूलै छ । एक हातले फोन चलाउन अलि सकसै पर्छ । एक हातले चलाउने, साना आकारका फोन मन पराउनेहरूका लागि ५.८ इन्च आकारको फोन उपयुक्त हुन्छ ।

आईफोन एक्सको आकारमा ५.८ इन्च भएकाले हातमा सजिलै बस्छ । हातमा धेरै सामान भएका बेलामा समेत फोन चलाउन गाह्रो हुँदैन ।

आधुनिक फोनहरू मध्ये उपयुक्त आकार भएको फोन आईफोन एक्स नै हो । लगभग यही आकारको आईफोन एक्सएस, आईफोन ११ प्रो आदि पनि चलाउन सजिलै छन् ।

 

मिनी आईफोन!

आकारमा साना फोन पनि उपलब्ध छन् । तर तिनमा प्रो फिचरहरू भनिए पनि अत्यन्तै कम पाइन्छन् ।

धेरै मेगापिक्सेल भएको फोन, धेरै स्टोरेज क्षमता भएको फोन र राम्रो प्रोसेसर भएको फोन चाहने हो भने प्रो मोडेलका फोनहरू लिनु नै राम्रो हुन्छ । त्यस्ता फोनहरूको आकार भने ठूलो हुन्छ ।

बजार नभएको कारण देखाउँदै एप्पलले आईफोन मिनीको उत्पादन बन्द गरेको छ । तर त्यस्तो नुहन सक्छ ।

५.४ इन्चको डिस्प्ले मन नपराउनेले ५.८ इन्च भने मन पराइरहेका हुन्छन् । अब यसलाई कसरी हेर्ने ? हुन त कागजमा ५.८ र ६.१ इन्चको फरक खासै देखिँदैन । तर वास्तविक प्रयोगमा दुवैको अनुभव भिन्न हुने गर्छ । 

साना आकारका फोन रुचाउनेका लगि एप्पलले सोही आकारमा प्रो मोडेल बनाए राम्रो हुने थियो । हुन त त्यस्ता फोनहरूमा क्यामेरा, प्रोसेर राम्रो राख्ने हो भने ब्याट्री लाइफ कम हुने सम्भावना रहन्छ ।

तर अहिले पनि एप्पलसँग आकारका हिसाबले थुप्रै विकल्प छन् । तर ५.८ इन्च आकार भएको फोन भने फेरि उत्पादन नगर्ने सोचमा एप्पल देखिन्छ । आईफोन १४ मा त्यो सम्भावना भए पनि एप्पलले अहिलेसम्म त्यसको कुनै सङ्केत दिएको छैन ।

पछिल्लो अध्यावधिक: चैत ५, २०७९