close

सबै मेसेजिङ एपको मेसेज एउटै एपमा आओस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत ६, २०७९ २१:१९

सबै मेसेजिङ एपको मेसेज एउटै एपमा आओस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । मेसेजिङ एप भन्ने वित्तिकै सुरुमा तपाईँको दिमागमा आउने एप कुन हो ? पक्कै पनि फेसुबक मेसेन्जर अथवा भाइबर, ह्वाट्सएप, टेलिग्राम वा सिग्नल तपाईँको दिमागमा आउँछ । अनि तपाईँको मोबाइलमा अहिले कतिओटा मेसेजिङ एपहरू छन् ? एकजना प्रयोगकर्ताले आफ्नो मोबाइल दुई वा दुई भन्दा बढी मेसेजिङ एप प्रयोग गर्ने गर्छन् ।

दुईभन्दा बढी मेसेजिङ एप प्रयोग गर्नुहुन्छ भने त कहिलेकाहीँ कुन एपमा मेसेज आएको हो भनेर थाहा पाउनै गाह्रो हुन्छ । सबै एप एक एक गरेर खोलेर हेर्नुपर्छ । यस्तै समस्या समाधानको लागि बनेको एउटा प्लेटफर्म हो 'अल-ईन-वान मेसेजिङ' अर्थात् सबै सेवा एउटैमा भएको प्लेटफर्म जसले तपाईँको विभिन्न एपहरूको व्यवस्थापन एउटै प्लेटफर्ममा राख्न मद्दत गर्छ ।

यहाँ केही उत्कृष्ट अल-ईन-वान मेसेजिङ एपहरूको बारेमा उल्लेख गरिएको छ :

१. अल-ईन-वान मेसेन्जर (All-in-One Messenger)

यो एपको नामले नै यसको फिचरको बारेमा बताउँछ । तपाईँको डिभाइसमा भएका सबै प्रकारको मेसेजिङ एपहरूलाई एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्न यो एपले सघाउँछ । यसमा करिब ५० ओटा मेसेजिङ एपहरू व्यवस्थापन गर्न सकिन्छ ।

यसले ह्वाट्सएप, विच्याट, जिमेल, एन्ड्रोइड, मेसेजेज, लिङ्कडइन, टेलिग्राम, ट्वीटर, इन्स्टाग्रामर, टिन्डर लगायत अन्य एप सपोर्ट गर्छ । यसमा तपाईँले एपहरूको इन्टरफेसलाई आफ्नो हिसाबले कस्टमाइज गर्न सक्नुहुन्छ ।

साथै ‘पुश नोटिफिकेसन’ व्यवस्थापन गर्न र एपहरूलाई डार्क मोडमा प्रयोग पनि गर्न मिल्छ । साथै यसले एउटै एपका धेरैओटा अकाउन्टहरु पनि व्यवस्थापन गर्न सहयोग गर्छ । यो इन्क्रिप्टेड प्रणालीमा आधारित एप हो । 

२. फ्रन्ज (Franz)

यो डेस्कटप प्लेटफर्मले सम्पूर्ण मेसेजिङ एपलाई एउटै ठाउँबाट व्यवस्थापन गर्न सहयोग गर्छ । यसको नि:शुल्क सेवा अन्तर्गत तीनओटासम्म एपहरू व्यवस्थापन गर्न सकिन्छ । एउटै एपमा भएका धेरै अकाउन्टलाई पनि व्यवस्थापन गर्न सकिन्छ ।

केही अल-ईन-वान प्लेटफर्महरूमा मेसेजिङ एपहरूमा भएका सबै प्रकारका फिचरहरू प्रयोग गर्न सकिँदैन । तर फ्रन्जमा भने सबै प्रकारका फिचर प्रयोग गर्न सकिन्छ । साथै यो प्लेटफर्ममा भिडिओ कल पनि सपोर्ट गर्छ । 

३. शिफ्ट (Shift)

शिफ्ट एउटा यस्तो एप हाे, जसमा प्रयोगकर्ताले आफूले चाहेका एपहरू प्रयोग गर्न खोजिरहनुपर्ने झन्झट हुँदैन । प्रयोगकर्ताले सहजै आफूले चाहेको एप प्रयोग गर्न सक्छन् । यो एपले गुगल क्यालेन्डर पनि सपोर्ट गर्ने हुँदा  च्याट गर्दै एकैपटक कुनै मिटिङ अथवा महत्त्वपूर्ण मितिलाई त्यहीँबाट सेभ गर्न सकिन्छ ।

यो प्लेटफर्ममार्फत एक हजारभन्दा बढी ईमेल अकाउन्ट, एप, एक्सटेन्सन र क्लाउड सेवाहरू प्रयोग गर्न सकिन्छ । यसले गर्दा पनि अन्यको तुलनामा यो एप लोकप्रिय छ । यसका साथै यसमा विभिन्न ईमेल अकाउन्टलाई एकै ठाउँबाट हेर्न र प्रयोग गर्न मिल्ने सुविधा पनि छ । 

 

४. र्‍यामबक्स (Rambox)

र्‍यामबक्स विशेषगरी व्यावसायिक प्रयोगलाई लक्षित गरि तयार गरिएको प्लेटफर्म हो । यसमा विशेषगरी तीनओटा भर्सन छन्: निशुल्क, प्रो र व्यावसायिक । निशुल्क भर्सनले ७०० भन्दा बढी एपहरू एकीकृत गर्ने सुविधा दिन्छ भने प्रो भर्सनले हिज्जे जाँच र कस्टमाइज गर्न मिल्ने वर्कस्पेस जस्ता सुविधाहरू उपलब्ध गराउँछ ।

र्‍यामबक्सको निःशुल्क भर्समा अन्य सुविधाहरू पनि छन्, जसमा डिस्टर्ब मोड, मास्टर पासवर्ड लक, किबोर्ड शर्टकटहरू र दुई वा सोभन्दा बढी डिभाइसहरूमा एपहरू कन्फिगर र सिंक गर्ने सुविधा दिन्छ । साथै यदि तपाईँ सानो व्यावसायी हुनुहुन्छ भने र्‍यामबक्सको व्यावसायिक भर्सन खरिद गर्न सक्नुहुन्छ । यसले टिम व्यवस्थापनको सुविधा समेत समावेश गरेको छ । 

५. आईएम प्लस (IM+)

यदि तपाईँले म्याक, आईफोन वा एन्ड्रोइडमा आईएमई प्लस प्रयोग गरिरहनु भएको छ भने यो प्लेटफर्मले सबै प्रकारको च्याटलाई एकै ठाउँबाट कुराकानी गर्न सहज बनाउँछ । यो एपले ह्वाट्सएप, फेसबुक मेसेन्जर, टेलिग्राम, जिमेल, स्काइप, जुम र स्ल्याक सहित १८ लोकप्रिय मेसेजिङ एपहरू सपोर्ट गर्छ ।

यसको युजर इन्टरफेस पनि निकै सहज भएका कारण धेरै प्रयोगकर्तालाई यो एप मनपराएका छन् । साथै जुम र स्काइपमार्फत भ्वाइस र भिडिओ कल पनि गर्न सकिन्छ । 

६. बिपर (Beeper)

बजारमा नयाँ आएको मध्ये एक हो बिपर एप । यो एपबाट सहजै आफ्नो प्रिय मेसेजिङ एपमा पहुँच बनाएर प्रयोग गर्न सकिन्छ । हाल यसले १५ ओटा एपहरू सपोर्ट गर्छ, जसमा ह्वाट्सएप, ट्वीटर, इन्स्टाग्राम, फेसबुक मेसेन्जर, स्ल्याक, एन्ड्रोइड मेसेजेज र टेलिग्राम लगायतका एपहरू रहेका छन् ।

यसमा आईमेसेज पनि प्रयोग गर्न सकिन्छ । यसका साथै यसमा अन्य सुविधासहितको सशुल्क सेवा पनि उपलब्ध छ । मासिक १० डलर तिरेर यो सेवा प्रयोग गर्न सकिन्छ ।

मेकयुजअफबाट

पछिल्लो अध्यावधिक: चैत ६, २०७९ २२:४४