close

आईफोनको माग घटेपछि स्मार्टफोनको विश्व बजारमा सामसङ बन्यो नम्बर वन

टेकपाना टेकपाना

बैशाख ३, २०८१ ११:१३

आईफोनको माग घटेपछि स्मार्टफोनको विश्व बजारमा सामसङ बन्यो नम्बर वन

काठमाडौं । सन् २०२४ को पहिलो त्रैमासिक अवधिमा एप्पलको स्मार्टफोन शिपमेन्ट (बजारमा पठाउने कार्य) करिब १० प्रतिशतले घटेको छ । आइतबार अनुसन्धान गर्ने फर्म आईडीसीले सार्वजनिक गरेको तथ्याङ्कले विश्वको स्मार्टफोन बजारमा एन्ड्रोइड फोनको ब्रान्डले शीर्ष स्थान ओगट्ने देखाएको हो ।

जनवरी देखि मार्चसम्मको अवधिमा विश्वव्यापी रूपमा स्मार्टफोनको शिपमेन्ट ७.८ प्रतिशतले बढेर २८ करोड ९४ लाख थान पुगेको छ । जसमा एप्पलको शीर्ष फोन निर्माता कम्पनीको स्थान खोसेर सामसङले आफ्नो बजार हिस्सा २०.८ प्रतिशत पुर्‍याएको छ । डिसेम्बरसम्मको त्रैमासिक अवधिमा सामसङलाई उछिन्दै आईफोन निर्माता कम्पनी विश्वको नम्बर वन फोन निर्माता बनेको थियो ।

तर अहिले आएर पुनः एप्पल १७.३ प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा धकेलिएको छ भने ह्वावे जस्ता चिनियाँ ब्रान्डले आफ्नो बजार हिस्सा बढाएका छन् । चीनको शीर्ष मध्येको एक स्मार्टफोन निर्माता साओमीले १४.१ प्रतिशत बजार हिस्साका साथ यस अङ्ग्रेजी वर्षको पहिलो त्रैमासिक अवधिमा तेस्रो स्थान ओगटेको छ ।

दक्षिण कोरियाली कम्पनी सामसङले यो वर्षको सुरुवातसँगै आफ्नो पछिल्लो फ्ल्यागशिप स्मार्टफोन लाइनअप ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको थियो । जसले यो अवधिमा छ करोड थान फोन बजारमा पठाएको छ । डेटा प्रदायक काउन्टरपोइन्टका अनुसार गत वर्षको ग्यालेक्सी एस २४ सिरिज उपलब्ध भएको पहिलो तीन महिनाको तुलनामा विश्व बजारमा यस वर्ष ग्यालेक्सी एस २४ स्मार्टफोनको बिक्री आठ प्रतिशतले उकालो लागेको छ ।

पहिलो त्रैमासिक अवधिमा एप्पलले पाँच करोड आईफोन बजारमा पठाएको छ, जुन गत वर्षको समान अवधिमा शिपमेन्ट गरिएका पाँच करोड ५४ लाख थान आईफोन भन्दा थोरै भएको आईडीसीले उल्लेख गरेको छ । सन् २०२३ को अन्तिम त्रैमासिक अवधिमा चीनमा एप्पलको स्मार्टफोन शिपमेन्ट २.१ प्रतिशतले खुम्चिएको थियो । 

 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८१ ११:१५