close

नेपालमा भित्रियो चर्चित आईटी कम्पनी आईबीएमको ‘विद्यालय कार्यक्रम’, कस्तो छ कोर्स ?

टेकपाना टेकपाना

साउन २, २०८१ १७:१३

नेपालमा भित्रियो चर्चित आईटी कम्पनी आईबीएमको ‘विद्यालय कार्यक्रम’, कस्तो छ कोर्स ?

काठमाडौं ।  विश्व चर्चित कम्पनी आईबीएमले तयार पारेको ‘विद्यालय कार्यक्रम’ नेपालमा पनि भित्रिएको छ । भारतको शिक्षा प्रविधि कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन ईलर्निडले यो कार्यक्रम नेपाल भित्र्याएको हो । यस कार्यक्रममा पाँचदेखि १२ कक्षाका वि‌द्यार्थीका लागि सिकाई सामग्री छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स तथा मसिन लर्निङ, साइबर सुरक्षा र ब्लकचेन गरी तीन ओटा नवीनतम् सूचना प्रविधिका क्षेत्र समेटेर नेपाल लगायत दक्षिण एसियामै पहिलोपटक यो कार्यक्रम सुरु गरिएको बताइएको छ । यस कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सात ओटा कोर्सहरू समावेश छन् ।

“यस्तो विश्व प्रसिद्ध टेक कम्पनीको कार्यक्रम नेपालमा ल्याउन पाउनु हाम्रो लागि गौरवको कुरा हो,” एसियन ईलर्निङका प्रबन्ध निर्देशक सुवोध त्रिपाठीले भने, “अहिले सूचना प्रविधिको व्यापक विकाससँगै यसका चुनौतीहरू पनि देखापरेका छन् । हाम्रा बालबालिकालाई यो चुनौतीको सामना गर्न सक्ने बनाउन आईबीएमको यो कार्यक्रम आवश्यक भएको हामीले महसुस गरेका छौं ।”

उनले अगाडि भने, “आजका विद्यार्थीले भोलि गएर जुनसुकै क्षेत्रमा काम गरेपनि आईटीको ज्ञान बिना दक्षता हासिल गर्न सम्भव छैन । त्यसका लागि पनि आईबीएमको यो कोर्स लिन आवश्यक छ । अझ भविष्यमा गएर आईटी क्षेत्रमै करिअर बनाउँछु भन्नेका लागि त यो कोर्स वरदान सरह नै छ ।”

उनका अनुसार यो कोर्स अहिले विद्यार्थीका लागि भन्दा पनि विद्यालय लक्षित छ । त्यसो हुँदा आधारभूत कोर्स अध्ययन गर्न एक जना विद्यार्थीलाई मासिक ८५० देखि एड्भान्स्ड लेभलको २१५० रुपैयाँसम्म पर्ने उनले जानकारी दिए । कोर्स अध्यापनका लागि विद्यालयले आफूहरूलाई सम्पर्क गर्न सक्ने उनको भनाइ छ ।

यो कार्यक्रम अन्तर्गत तीन चरणका कोर्स राखिएका छन्; पहिलो एक्सप्लोरर, दोश्रो डिस्कभरर र तेश्रो इनोभेटर ।

एक्सप्लोररको नारामै ‘प्रविधिलाई माया गर्नुस्’ भनिएको छ । यो कार्यक्रमभित्र विश्वस्तरको सिकाई सामग्रीसहित आईबीएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा तथा इन्डस्ट्रीबाट गेस्ट लेक्चररको कक्षा रहेका छन् । यसको मुख्य उद्देश्य विद्यार्थीलाई प्रोगामिङमा अब्बल बनाउनु रहेको कम्पनीले जनाएको छ ।

सबैभन्दा माथिल्लो तहको कोर्स छ, ‘इनोभेटर’ । यसको नारा  राखिएको छ, ‘तपाई उद्यमी जसरी सोच्नुहोस्’ । यो कार्यक्रमको लक्ष्य एउटा विद्यार्थी प्लस टुमा पुगिसक्दा बजारमा नयाँ र सिर्जनशील उ‌द्यमीका रूपमा स्थापित हुन सकोस् भन्ने छ ।

एक्सप्लोरर, डिस्कभरर र इनोभेटरभित्र पनि सामान्यदेखि एडभान्सड सम्मका कोर्स छन् । त्यसभित्र हप्तामा एक दिन एकदेखि डेढ घण्टा पढाउनेगरी ४० देखि ६० घन्टासम्मको कोर्स राखिएको छ ।

अध्यक्ष त्रिपाठीका अनुसार यो कोर्स स्कुलमा कुनै थप लगानी बिना नै उपलब्ध पूर्वाधार एवं जनशक्तिका आधारमा सञ्चालन गर्न सकिनेछ । ७० प्रतिशत अनलाइन र ३० प्रतिशत अफलाइन माध्यमबाट यसको कक्षा सञ्चालन गरिने गरी कोर्स डिजाइन गरिएको छ । 

सन् १९८१ मा विश्वमै पहिलो मध्येको पर्सनल कम्प्युटर बजारमा ल्याएको आईबीएमले संसारको सबैभन्दा उच्च गतिका सुपर कम्प्युटरहरू निर्माण गरेको छ । एआई र मसिन लर्निङ लक्षित वाट्सन सुपर कम्प्युटर निर्माण गरेर एआई क्षेत्रमा नेतृत्व गरेको आईबीएम हामीले दैनिक जीवनमा प्रयोग गरिरहेका एटीएम, डिर्‍याम, फ्लपी डिस्क, हार्ड डिस्क ड्राइभ लगायत अनगिन्ती प्रविधिको समेत आविष्कारक हो ।

पछिल्लो अध्यावधिक: साउन २, २०८१ १९:१२