काठमाडौं । पछिल्लो केही दिनयता कसैले फोनमा टेलिग्राम खोलेर ट्याप ट्याप गरेको पक्कै पनि देख्नु भएको होला । अथवा तपाईं आफैं पनि युट्युब र टिकटक भिडिओ हेरेर त्यसरी टेलिग्राममा जोइन भई ‘ट्याप ट्याप’ अभियानमा लाग्नु भएको हुनसक्छ ।
फेसबुक, टिकटक र युट्युबमा घरमै बसेर कसरी आम्दानी गर्ने भन्ने सर्च गरियो भने त्यसमा अधिकांशले ‘हेमस्टार कम्ब्याट’को कुरा गरेको देख्न सक्नुहुन्छ । त्यस्ता भिडिओमा टेलिग्राम च्यानलमा ट्याप ट्याप गरेकै भरमा दैनिक हजारदेखि लाखौं रुपैयाँसम्म आम्दानी गर्न सकिने दाबी गरिन्छ ।
केही नेपाली युट्युबरले त टेलिग्राम च्यानल नै बनाएर युट्युबमा यसको व्यापक प्रचार गरिरहेका छन् । त्यसोभए के हो हेमस्टार कम्ब्याट ? अनि के साँच्चै ट्याप ट्याप गरेकै भरमा दैनिक हजारौं रुपैयाँ आम्दानी गर्न सकिन्छ ? नेपालमा यो अवैध छ कि छैन ? आज हामी यसबारे विस्तृतमा चर्चा गर्दैछौं । त्यसभन्दा पहिले तपाईंलाई एउटा सानो टिप्स ‘टेलिग्रामबाट आम्दानी गर्न सकिन्छ’ भनिएको छ भने यो कुनै न कुनै रूपमा ठगीमा जोडिन्छ भन्ने आशङ्का गर्न सक्नुहुन्छ । तपाईंबाट अरू ठगिने वा तपाईं अरूबाट ठगिने उच्च सम्भावना हुन्छ ।
के हो हेमस्टार कम्ब्याट ?
हेमस्टार कम्ब्याट एउटा टेलिग्राम बट हो । यो मार्च २०२४ तिर सार्वजनिक भएको बताइन्छ । सार्वजनिक भएको केही समयमै यसमा १५ करोड बढी प्रयोगकर्ता पुगेका थिए । यसको टेलिग्राममा एउटा बट अकाउन्ट छ । उक्त बट अकाउन्टका अनुसार त्यसमा मासिक नौ करोड ५९ लाख बढी सक्रिय प्रयोगकर्ता छन् ।
सो बटलाई कसरी आम्दानी गर्ने भन्ने सोधियो भने सबैभन्दा पहिले एउटा स्वचालित रिप्लाई आउँछ । जहाँ तपाईं क्रिप्टो एक्सचेन्जको डाइरेक्टर भएको बताइन्छ । तपाईंले ‘प्ले इन वन क्लिक’को अप्सन छान्नुभयो भने क्वाइन सङ्कलन गर्न सक्नुहुन्छ भनिएको देख्न सकिन्छ । त्यही मेसेजको अन्तिमतिर एउटा महत्त्वपूर्ण सन्देश छ । त्यसमा लेखिएको छ, “सङ्कलन गरिएको क्वाइन साट्न सकिने मिति छिट्टै आउँदैछ छ ।” र अन्तिममा साथीहरूलाई जोडेर सँगै क्वाइन सङ्कलन गर्न सक्नुहुन्छ भनिएको छ । अर्थात् जति धेरै साथीहरू जोडियो त्यति बढी क्वाइन सङ्कलन गर्न सकिन्छ ।
यसरी त्यहाँ भनिएको अप्सनभित्र जाने हो भने एउटा मुसाको फोटो देख्न सकिन्छ । त्यसैमा ट्याप ट्याप गर्दा क्वाइन सङ्कलन गर्न सकिन्छ । तर, त्यो के क्वाइन हो, कसरी कहिले एक्सचेन्ज गर्न सकिन्छ भन्ने कतै उल्लेख छैन ।
प्रयोगकर्तालाई विभिन्न प्रलोभनमा पार्न विभिन्न किसिमका स्किम ल्याइएको देख्न सकिन्छ । यसरी छोटो समयमा करोडौं प्रयोगकर्ता जोडिएपछि अधिकांश देशका सरकारी कार्यालयहरूले त्यसतर्फ नजर राखिरहेका छन् ।
टेलिग्राम रुस, उज्वेकिस्तान र युक्रेनमा बढी चर्चित छ । यिनै देशका अधिकांश प्रयोगकर्ता यस बटमा जोडिएको बताइएको छ । त्यहाँका सरकारी निकायले आफ्ना देशका सर्वसाधारणलाई उक्त प्लेटफर्म प्रयोग नगर्न सुझाव दिएका छन् । तीन देशले यस बटबाट प्रयोगकर्तालाई टाढै रहनुपर्ने विभिन्न कारण दिएका छन् ।
रुसका अनुसार यस प्लेटफर्ममा सम्भावित आर्थिक जोखिम बढी छ । खासगरी हेमस्टार कम्ब्याटले छोटो समयमा ट्याप ट्याप गरेकै भरमा क्रिप्टोकरेन्सी सङ्कलन गर्न सकिने दाबी गरेको छ । त्यसबाहेक यो मल्टी-लेभल मार्केटिङको शैलीमा सञ्चालन हुने भएकाले यसका अरू जोखिम भएको विश्लेषण रुसले गरेको छ ।
यता उज्वेकिस्तानले आफ्ना देशका प्रयोगकर्तालाई यस प्लेटफर्मबाट १५ दिनभित्र बाहिरिने र नबाहिरिए जरिवाना तिराउने बताइएको थियो ।
युक्रेनले भने यो प्लेटफर्म रुससँग जोडिएकाले त्यसमा थुप्रै जोखिम हुने भन्दै आफ्ना देशका नागरिकलाई हेमस्टार कम्ब्याटबाट टाढिन सचेत गराएको थियो ।
कसले सञ्चालन गरेको छ हेमस्टार कम्ब्याट ?
टेलिग्राममा हेमस्टार कम्ब्याटको बट अकाउन्ट छ । यसमा हाल नौ करोड ६० लाख बढी फलोअर छनब् । जुन महिनामा खोलिएको यसको युट्युब च्यानलमा तीन करोड ७२ लाख बढी सब्स्क्राइबर छन् । त्यस्तै मार्च २०२४ मै खोलिएको एक्समा यस प्लेटफर्मका एक करोड ३३ लाख बढी फलोअर छन् । यो प्लेटफर्म कहाँ, कसरी र कसले सञ्चालन गरेको छ भन्ने कहीं उल्लेख छैन ।
युक्रेनको सञ्चारमाध्यम आएनले गरेको अनुसन्धानमा यो प्लेटफर्म आरयू-सेन्टर ग्रुपले दर्ता गरेको खुलेको थियो । नेपालको मर्कन्टाइल जस्तो यो रुसको सबैभन्दा ठूलो डोमेन र होस्टिङ प्रोभाइडर हो । रुसको निष्पक्ष सञ्चार माध्यम द बेलका अनुसार यस प्लेटफर्मका एक सह-संस्थापक रुसी उद्यमी एडगार्ड गुरिनोविच हुन् ।
द बेलले यस गेमका डेभलपरसँग सम्बन्ध भएका गोप्य स्रोतलाई उद्धत गर्दै यो प्लेटफर्म टेलिग्रामको प्रचार गर्न र ट्राफिक ल्याउनका लागि निर्माण गरेको उल्लेख गरेको छ । तर, यस दाबीबारे टेलिग्राम भने मौन छ ।
यसका सम्भावित जोखिम के हुन सक्छन् ? यसमा जोडिएका नेपालीले पैसा पाउलान् ?
सामान्य अर्थमा बुझ्नुपर्दा यस प्लेटफर्मले के भनेको छ भने जुन क्वाइन यसबाट आम्दानी गर्न सकिन्छ त्यसपछि पछि कुनै क्रिप्टो एक्सचेन्ज प्लेटफर्मबाट साँट्न सकिन्छ । ‘पछि’ भनेको कहिले भन्ने केही खुलाइएको छैन । यसअघि हेमस्टार कम्ब्याटको वेबसाइटमा कुन महिनामा के के कार्यक्रम हुन्छ भन्ने रोडम्याप राखिएको थियो । जुलाई २०२४ पछि यसमा केही पनि कुन महिना के कार्यक्रम हुन्छ भन्ने केही खुलाइएको छैन । अबको अपडेटमा गेमिङ प्लेटफर्म सार्वजनिक गर्नेम एप तथा प्लेस्टोरमा एप उपलब्ध गराउने दाबी गरिएको छ ।
विश्लेषकहरूका अनुसार यस प्लेटफर्मले जसरी क्षणिक रूपमा लाखौं आम्दानी गर्न सकिने आश्वासन दिएको छ त्यो नै शंकास्पद छ । झट्ट यस प्लेटफर्मबारे नबुझेका प्रयोगकर्ता फरक फरक टेलिग्राम च्यानलमा पुगेका हुन्छन् । यसबाट पनि प्रयोगकर्ताको डेटा जोखिममा पर्ने देखिन्छ ।
यदि यही प्लेटफर्ममा जोडियो भने पनि त्यो क्वाइन साट्न सकिने हो वा होइन स्पष्ट छैन । तपाईंले जाँच गर्नुभयो भने यो गेम खेल्दा फोनको चार्ज निकै चाँडो कम हुँदै जान्छ । अर्थात तपाईंले यता गेम खेलिरहँदा उक्त प्लेटफर्मले ब्याकग्राउन्डमा तपाईंको फोनको पावर खपत गराइ क्रिप्टो माइनिङ गराइरहेको हुन्छ । पछि केहीगरी यसलाई साट्न सकियो भने प्रयोगकर्ताले सहजै रकम साट्न सकिने देखिंदैन । किनभने यसअघि पनि यस्ता प्लेटफर्म आएका थिए र रकम एक्सचेन्ज गर्ने क्रममा प्रयोगकर्ताले जुन क्वाइन सङ्कलन गरेका थिए त्यो नै गायब भएको थियो ।
अब नेपालको सन्दर्भमा कुरा गरौं । नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार/प्रयोग/माइनिङ गैरकानुनी हो ।
मुलुकी अपराध संहिता, २०७४ (संशोधन सहित) परिच्छेद ७ (क) दफा २६२ (क) ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने’ सम्बन्धि व्यवस्था उल्लेख छ । सो ऐनको उपदफा (१) मा चलन चल्तीमा रहेको मुद्रालाई चलनचल्तीमा ल्याउन रोक लगाउने गरी कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेश भएकोमा त्यस्तो आदेश प्रतिकूल हुने गरी त्यसरी रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन, लेनदेन गर्न वा राख्न हुँदैन भनिएको छ ।
सोही ऐनको (२) उपदफामा उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने र त्यसरी चलन चलाएको, लेनदेन गरेको वा राखेको मुद्रा समेत जफत हुनेछ उल्लेख छ ।