काठमाडौं । बलिउड कलाकार नवाजुद्दीन सिद्दीकीले प्रहरीको बर्दी लगाएर अनलाइन जुवाको प्रचार गरेको भन्दै कारवाहीको माग गरिएको छ । भारतको हिन्दु जागरण समितिले मुम्बई प्रहरीलाई पत्र पठाउँदै कारवाही गर्न अनुरोध गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त समितिले कलाकार सिद्दीकी र अनलाइन जुवाको प्लेटफर्म ‘बिग क्याश पोकर’ का संस्थापक अङ्कुर सिंहलाई कारवाही गर्न माग गरेका छन् । सिद्दीकीले भारतीय प्रहरीको बर्दी लगाएर उक्त अनलाइन जुवाको प्रचार गरेको बताइएको छ ।
एकातर्फ त्यही बर्दी लगाएका प्रहरीले अनलाइन जुवाडेलाई पक्राउ गरिरहेका छन् भने अर्कोतर्फ त्यही बर्दी लगाएर जुवा खेल्न प्रेरित गरिएको छ । यो प्रहरीको नैतिकता र कानुन विपरीत भएको उक्त समितिको दाबी छ । सिद्दीकीले खेलेको विज्ञापनले व्यक्तिहरूलाई जुवा खेल्न सिकाएको आरोप समेत उक्त समूहले लगाएको छ ।
“यस गतिविधिका विरुद्ध कुनै पनि प्रहरी अधिकृतलाई कारबाही गर्न बाध्य पारिएको छैन भन्ने कुरा निराशाजनक छ । र यसबारे उजुरी गर्नुपर्ने स्थिति आउनु दुःखको कुरा हो । महाराष्ट्रका गृहमन्त्रीको पनि यस विषयमा ध्यान जाओस् भन्ने हामी चाहन्छौं,” पत्रमा उक्त समितिले भनेको छ ।
नेपालमा केही समयअघि सार्वजनिक भएको चलचित्र साम्बालाको प्रिमियरमा कलाकार सिद्दीकी काठमाडौं आएका थिए । उनले विभिन्न ठाउँमा घुमघाम गर्नुका साथै अन्तर्वार्तामार्फत नेपाल घुम्न सुझाव पनि दिएका थिए ।