close

के हो प्रोटोन मेल ? जो बन्दैछ, गोपनीयता र सुरक्षाका लागि लोकप्रिय

टेकपाना टेकपाना

पुस ११, २०८१ १३:२१

के हो प्रोटोन मेल ? जो बन्दैछ, गोपनीयता र सुरक्षाका लागि लोकप्रिय

काठमाडौं । जब ईमेलको कुरा आउँछ, धेरैजसो प्रयोगकर्ता जिमेलमा गएर अडिन पुग्छन्, खासगरी एन्ड्रोइड प्रयोगकर्ता । किन कि जिमेल अकाउन्ट बिना गुगल प्ले स्टोरले काम गर्दैन । यद्यपि बजारमा ईमेल सेवाको अभाव भने छैन । थुप्रै ईमेल सेवा प्रदायकमध्ये एउटा हो, प्रोटोन मेल । तर यो प्रोटोन मेल भनेको के हो ? अन्य पुराना र स्थापित ईमेल सेवाभन्दा यो के कुरामा फरक छ ? आज हामी तपाईँलाई त्यसै विषयमा बताउने छौँ ।

जिमेल गुगलको ईमेल सेवा भए जस्तै प्रोटोम मेल गोपनीयतामा केन्द्रित रहेको ईमेल प्लेटफर्म हो, जसको विकास स्विजरल्यान्डको सीईआरएनका इन्जिनियरले गरेका हुन् । तपाईँ आफ्नो ईमेलको गोपनीयता र सुरक्षाको विषयमा चिन्तित हुनुहुन्छ भने यो तपाईँका लागि उपयुक्त विकल्प हुन सक्छ । प्रोटोन मेलले प्रयोगकर्ताहरूको डेटा सुरक्षा गर्नमा विशेष ध्यान केन्द्रित गर्दछ ।

प्रोटोन मेलले कसरी काम गर्छ ?

सन् २०१३ मा स्थापना भएको प्रोटोन मेल डेटा सुरक्षाको सवालमा सरोकार राख्ने व्यवसाय र प्रयोगकर्ता माझ लोकप्रिय बनेको छ । धेरैजसो ईमेल प्रदायकले विज्ञापन प्रयोजनका लागि प्रयोगकर्ताको इनबक्स बारम्बार स्क्यान गरिरहेका हुन्छन् ।

तर प्रोटोन मेलले भने त्यसको विपरीत अवधारणा अपनाउँछ । प्रोटोन मेलले 'इन्ड-टु-इन्ड' इन्क्रिप्सन प्रयोग गर्दछ, जसले गर्दा तपाईँका ईमेल तपाईँको डिभाइस (मोबाइल वा कम्प्युटर) बाट पठाउने बेलादेखि प्रापकको डिभाइसमा पुग्ने क्षणसम्म सुरक्षित रहन्छन् ।

अर्को अर्थमा भन्नु पर्दा ईमेल प्रोटोन मेलको सर्भरमा पुग्नु अगावै इन्क्रिप्टेड भइसकेका हुन्छन् । जसको अर्थ प्रोटोन मेल कम्पनी स्वयम्‌ले पनि तपाईँले यसमार्फत पठाएका ईमेलहरू हेर्न वा पढ्न सक्दैन ।

यही विशेषताले प्रोटोन मेललाई गुगलको जिमेल, माइक्रोसफ्टको आउटलुकभन्दा विशेष र फरक बनाएको छ । एउटा अर्को राम्रो पक्ष के छ भने प्रोटोन मेलको मुख्यालय स्विजरल्यान्डमा रहेको छ, जुन गोपनीयता सम्बन्धी कडा कानुन भएको देश हो ।

यो अन्य ईमेल प्रदायक जस्तो क्लाउड एक्ट तथा जीडीपीआर जस्ता निगरानी सम्बन्धी सम्झौताको अधिनमा छैन । यसले अतिरिक्त स्तरको कानुनी संरक्षण प्रदान गर्छ ।

प्रोटोन मेलको इन्ड-टु-इन्ड इन्क्रिप्सनले कसरी काम गर्छ ?

प्रोटोन मेलको इन्ड टु इन्ड इन्क्रिप्सनले तपाईँको डिभाइसबाट निस्किएर प्रापकले प्राप्त नगरेसम्म सुरक्षित रहेको कुरा सुनिश्चित गर्छ । जब तपाईँ प्रोटोन मेल प्रयोग गरी कुनै एउटा ईमेल पठाउनु हुन्छ, उक्त मेसेज तपाईँको पब्लिक कीमार्फत तपाईँको डिभाइसमा इन्क्रिप्टेड हुन्छ र त्यसपछि प्रोटोन मेलको सर्भरमा पठाइन्छ, त्यहाँ पनि यो इन्क्रिप्टेड नै रहिरहन्छ ।

जब प्रापक (जसले प्रोटोन मेल नै प्रयोग गर्छ) ले उक्त ईमेल पाउँछ, उसको डिभाइसमा रहेको प्राइभेट कीले त्यसमा रहेको मेसेज डिक्रिप्ट गर्छ । यसले चाहेको व्यक्तिले मात्रै उक्त ईमेल पढ्न सक्ने कुरा सुनिश्चित गर्छ । त्यसो त प्रोटोन मेल प्रयोग नगर्ने प्रापकलाई समेत तपाईँ यसबाट इन्क्रिप्टेड ईमेल पठाउन सक्नु हुन्छ । आफ्नो सुरक्षित पासवर्डको सहायताले प्रापकले सो ईमेल हेर्न सक्छ ।

प्रोटोन मेलको शुल्क, प्याकेज र फिचर

जिमेल र आउटलुक जस्तै प्रोटोन मेलले पनि सुरुवाति प्रयोगकर्ताका लागि निःशुल्क योजना ल्याएको छ । यद्यपि निःशुल्क टियरका प्रयोगकर्ताका लागि दैनिक १५० मेसेज र एक जीबीसम्मको सीमा जस्ता केही सीमितताहरू छन् ।

प्रोटोन मेलले प्लस र प्रोटोन अनलिमिटेड जस्ता सशुल्क योजनाहरू पनि उपलब्ध गराउँछ । जसका लागि मासिक वा वार्षिक सब्सक्रिप्सन लिनु पर्ने हुन्छ । मेल प्लसको मूल्य मासिक ४.९९ तथा वार्षिक ४८ डलर र प्रोटोन अनलिमिटेडको मूल्य मासिक १२.३३ तथा वार्षिक १२० अमेरिकी डलर रहेको छ ।

यी प्याकेजमा १५ जीबीदेखि ५०० जीबीसम्मको स्टोरेज, अनलिमिटेड मेसेज, १० देखि १५ ओटा ईमेल एड्रेस, कस्टम डोमेन, हाइड माई ईमेल अलाइजेज, अनलिमिटेड फोल्डर तथा लेबल, क्यालेन्डर शेयरिङ, हाई स्पिड भीपीएनदेखि प्रोटोन पाससम्मका सुविधा पाउन सकिन्छ ।

प्रोटोन मेलका विशेषता

इन्ड-टु-इन्ड इन्क्रिप्सनः E2EE मार्फत यसले तपाईँको ईमेल सुरक्षित पार्छ ।

ओपन सोर्सः प्रोटोन मेलभित्रै पारदर्शिता गाँसिएको छ । यसको कोड ओपन सोर्स हो, जसको अर्थ यसमा कुनै संवेदनशीलता वा चोरबाटो रहेको भए जो सुकैले पत्ता लगाउन सक्छ । यो स्तरको पारदर्शिता जिमेल र आउटलुक जस्ता मुख्य ईमेल प्रदायकहरूमा पाउन सकिन्न ।

सेल्फ-डिस्ट्रक्टिङ ईमेलः तपाईँको सर्त अनुसार ईमेलहरू आफैँ मेटिएर जान्छन् । यो भनेको ह्वाट्सएप मेसेजमा जस्तै निश्चित समयपछि प्रापकको इनबक्सबाट स्वतः डिलिट हुने गरी तपाईँले टाइमर सेट गर्न सक्ने सुविधा हो । यो फिचर प्रापकले अन्य ईमेल सेवा प्रयोग गरेको हकमा समेत काममा आउँछ ।

ट्रयाकिङ शून्यः अन्य ईमेल सेवा प्रदायकले विज्ञापनका लागि प्रयोगकर्ताको इनबक्सबाट हुने व्यवहार ट्रयाक गरिरहेका हुन्छन् । तर प्रोटोन मेल भने कडा खाले नो-ट्रयाकिङ नीति अपनाउँछ । तपाईँको इनबक्स पूर्णरूपमा संरक्षण गरिएको र कुनै पनि हिसाबले निगरानी नहुने प्रकारको हुन्छ ।

डेस्कटप तथा फोनका लागि एपः गुगलले जिमेलका लागि आईफोन र एन्ड्रोइड एप उपलब्ध गराएको भए पनि डेस्कटपका लागि भने त्यसको डेडिकेटेड एप ल्याएको छैन । तर प्रोटोन मेलले भने डेस्कटप र फोनहरूका लागि एप उपलब्ध गराउँछ । जसले गर्दा तपाईँ जुनसुकै डिभाइसबाट पनि आफ्नो ईमेल सुरक्षित तवरमा प्रयोग गर्न सक्नु हुन्छ ।

अन्य फिचरः प्रोटोन मेलले अरू पनि थुप्रै फिचरहरू उपलब्ध गराउँछ । उदाहरणका लागि सेजुलिङ (scheduling) ईमेल, मार्केटिङ ईमेलका लागि वन-क्लिक अनसब्सक्राइब बटन र थप सुरक्षाका लागि तपाईँको वास्तविक ईमेल एड्रेस लुकाइदिने हाइड-माई-ईमेल जस्ता फिचर छन् । कस्टम डोमेन समेत सपोर्ट गर्ने फिचरले यसलाई व्यवसायका लागि उपयुक्त बनाएको छ । प्रोटोन मेलले अटो-रिप्लाई र क्यालेन्डर इन्टिग्रेसन जस्तो फिचर पनि दिन्छ, जुन तपाईँ टाढा हुँदाको बखत काम आउँछ । ईमेल प्रदायक परिवर्तन गर्नु त्यति सजिलो भने छैन । तर यसमा तपाईँले जिमेलबाट सहजै ईमेल इम्पोर्ट र अटोमेटिक जिमेल फर्वार्डिङ जस्ता सुविधा पनि पाउन सक्नु हुन्छ ।

कस्ता प्रयोगकर्ताका लागि उपयुक्त छ प्रोटोन मेल ?

अब के तपाईँ प्रोटोन मेलमा स्विच हुने विचारमा हुनु हुन्छ त ? यदि तपाईँ अन्य ईमेल सेवा प्रयोग गरी रहनु भएको छ भने प्रोटोन मेलमा स्विच हुनु त्यति सान्दर्भिक नलाग्न सक्छ ।

यसको निःशुल्क योजनामा सीमितताहरू छन्, त्यसैले प्लस योजनाका लागि तपाईँले पैसा तिर्नुपर्ने हुन्छ । यस बाहेक तपाईँले क्यालेन्डरका लागि अटोमेटिक इनबक्स स्क्यानिङ जस्तो गुगलको इकोसिस्टम पनि गुमाउनु पर्ने हुन सक्छ ।

यद्यपि तपाईँ गोपनीयतालाई प्राथमिकता दिन चाहनु हुन्छ र ठुला प्रविधि कम्पनीहरूको निगरानीपूर्ण बिजनेस मोडेलबाट हैरान हुनुहुन्छ भने प्रोटोन मेल तपाईँका लागि एउटा गतिलो विकल्प हुन सक्छ । यो विशेषगरी अभियन्ता, पत्रकार र पेसाकर्मीहरू माझ लोकप्रिय छ, जसले संवेदनशील सूचनासँग खेल्नुपर्ने हुन्छ ।

यस्तोमा प्रोटोन मेलले ह्याकर, सरकार र अन्य दुर्भावनापूर्ण सोच विचार भएका तत्त्वहरूबाट संरक्षण प्रदान गर्छ ।

गोपनीयता-केन्द्रित प्रयोगकर्ताका लागि सुरक्षित ईमेल

प्रोटोन मेलले जिमेल वा आउटलुकलाई विस्थापित गर्न खोजेको होइन । यसले अलि भिन्न खाले प्रयास गरेको हो । प्रोटोन मेलले त गोपनीयता र सुरक्षालाई बढी महत्त्व दिने प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण फिचरहरू दिने प्रयास गरेको छ । 

पछिल्लो अध्यावधिक: पुस ११, २०८१ १४:५