close

सञ्चारका लागि प्रयोग हुने मोर्स कोड के हो ? यसरी बुझ्नुहोस्

टेकपाना टेकपाना

माघ ७, २०८१ १०:३१

सञ्चारका लागि प्रयोग हुने मोर्स कोड के हो ? यसरी बुझ्नुहोस्

काठमाडौं । १९ ‌औँ शताब्दीको सुरुवातमा टेलिग्राफको आविष्कार भयो । लियोनार्ड डी गेल र अल्फ्रेड वेलसँग मिलेर सामुअल मोर्स १८३० को दशकमा टेलिग्राफ आविष्कार गरे । 

टेलिग्राफ यस्तो विद्युतीय माध्यम हो, जसमार्फत एक स्थानबाट अर्को स्थानमा सन्देश पठाउन सकिन्थ्यो । तर टेलिग्राफमा कुनै अक्षरको प्रयोग गरेर वा आवाज प्रयोग गरेर सन्देश पठाउन सम्भव थिएन । 

अमेरिकाको म्यासाचुसेट्समा जन्मिएका मोर्स सन् १८२५ मा मार्क्विस डे लाफेटको पोट्रेट पेन्ट गर्न अमेरिकाको वाशिङ्टन डीसी पुगेका थिए । त्यस बेला उनले एक दुःखद् पत्र प्राप्त गरे । जसमा उनकी पत्नी न्यु हेभनको मृत्युको खबर थियो ।

 

त्यति बेला लामो दुरीमा सञ्चार गर्न अहिलेजस्तो सुविधा थिएन । त्यसैले मोर्सले चिठ्ठी पाउँदासम्म श्रीमतीको अन्त्येष्टिका लागि फर्कन ढिला भइसकेको थियो । मोर्स फर्कन ढिला भएकाले उनकी श्रीमतीको मोर्सको उपस्थिति बिना नै अन्त्येष्टि गरियो । 

त्यसैले लामो दुरीमा सन्देश पठाउनका लागि सन् १८३८ मा मोर्स कोडको आविष्कार भयो । न्युयोर्क विश्वविद्यालयका प्राध्यापक तथा टेलिग्राफका आविष्कारक मोर्सले अङ्ग्रेजी वर्णमालालाई कोडमा परिणत गरे । मोर्स कोड त्यस्ता कोड हुन्, जहाँ डट (.) र ड्याश (-) को प्रयोग गरेर अक्षरहरू लेखिएका हुन्छन् ।

यस कोडमा ‘A’ लेख्नु परेमा ‘.-’ प्रयोग गरिन्छ । मोर्स कोर्डमा ‘B’ लेख्नका लागि (-…) कोडको प्रयोग हुन्छ । मोर्स कोडको प्रयोगबाट टेलिग्राफमा सूचना आदानप्रदान गर्न सहज बनेको थियो । कुनै आपत्कालीन समयमा सहयोग माग्न प्रयोग गरिने ‘... - - -…’ सबैभन्दा चर्चित मोर्स कोड हो । जसले एसओएस (SOS) लाई जनाउँछ । 

यसरी टेलिग्राफकै लाइनबाट कोड गरिएका मेसेज पठाउन सम्भव भयो । १८९० तिर रेडियोटेलिग्राफी आएपछि सुरुवाती चरणमा यो कोड रेडियो सञ्चारमा पनि प्रयोग भयो । यसरी टेलिफोनको आविष्कार हुनु अघिसम्म मोर्स कोड नै हाई-स्पिड इन्टरनेसनल सञ्चारका लागि प्रयोग हुने गर्थ्यो । 

 

मोर्स कोडको प्रयोग  

अमेरिकामा भएको गृह युद्धको समयमा युद्ध क्षेत्रको जानकारी लिन राष्ट्रपति अब्राहम लिङ्कनले मोर्स कोड प्रयोग गरेका थिए । पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धको समयमा युद्धसम्बन्धी रणनीति बनाउन र युद्धको विषयमा जानकारी लिन पनि मोर्स कोडको प्रयोग गरिएको थियो । यस्तै रेडियो अपरेटर र सेनाहरूले मोर्स कोड अनिवार्य रूपमा सिक्नु पर्ने हुन्थ्यो । 

हाल संसारमा उन्नाइसौँ र बिसौँ शताब्दीमा जस्तो मोर्स कोडको प्रयोग गरिँदैन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को जमानामा सञ्चारका लागि त्यस्तो कुनै कोडको प्रयोग गरी रहन आवश्यक छैन । तर, हालको समयमा पनि यसको प्रयोग केही पृथक् रूपमा भने हुँदै आएको छ । विशेषगरी विमानसँग सम्बन्धित काममा तथा सुनाईमा समस्या भएका व्यक्तिहरूसँग सञ्चारका लागि मोर्स कोडको प्रयोग गरिँदै आएको छ । एमेच्योर रेडियो अपरेटरहरूले इमर्जेन्सी सिग्नलको लागि य कोड प्रयोग गरिरहेका हुन्छन् । 

पछिल्लो अध्यावधिक: माघ ७, २०८१ १०:४४