close

यी फोनमा आयो एन्ड्रोइड १६ को स्टेबल भर्सन, केके छन् सुविधा ?

टेकपाना टेकपाना

जेठ २९, २०८२ ९:४०

यी फोनमा आयो एन्ड्रोइड १६ को स्टेबल भर्सन, केके छन् सुविधा ?

काठमाडौँ । गुगलले एन्ड्रोइड १६ को पहिलो स्टेबल संस्करण सार्वजनिक गरेको छ । यो संस्करण पिक्सेल ६ सिरिज र त्यसपछि आएका सबै पिक्सेल स्मार्टफोन तथा पिक्सेल ट्याब्लेटमा ओटीए अपडेटको रूपमा उपलब्ध भएको हो ।

गुगलको ब्लगमा दिइएको जानकारी अनुसार पिक्सेल ६, ६ प्रो, ६ए, पिक्सेल ७, ७ प्रो, ७ए, पिक्सेल ८, ८ प्रो, ८ए, पिक्सेल ९ सिरिज, पिक्सेल फोल्ड र पिक्सेल ट्याब्लेटमा एन्ड्रोइड १६ को स्टेबल संस्करण उपलब्ध छ । अन्य ब्रान्डका स्मार्टफोनमा भने यो अपडेट केही महिनापछि उपलब्ध हुने बताइएको छ ।

नयाँ संस्करणले एपहरूलाई विभिन्न स्क्रिन साइज र ओरियन्टेसन अनुसार सजिलोसँग चलाउने ‘एडप्टिभ एप्स’ फिचर ल्याएको छ । यसले विशेषगरी फोल्डेबल र ठुला स्क्रिन भएका डिभाइसमा प्रयोगकर्ताको अनुभवलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

एन्ड्रोइड १६ मा नोटिफिकेसन म्यानेजमेन्टमा पनि सुधार गरिएको छ । एउटै एपबाट आउने नोटिफिकेसनहरूलाई समूहबद्ध (grouped) देखाउने सुविधा थपिएको छ । यसले नोटिफिकेसन अव्यवस्थित भएर देखिने समस्यालाई कम गर्नेछ ।

साथै, लाइभ अपडेटको माध्यमबाट राइड-हेलिङ (सवारीसाधन), फुड डेलिभरी जस्ता सेवाहरूको स्थिति थाहा पाउन अब बारम्बार एप खोलिरहनुपर्ने छैन । यस्ता नोटिफिकेसनहरू लक स्क्रिनमै देखिने कम्पनीले जनाएको छ ।

श्रवण सहायता अर्थात् हियरिङ एड प्रयोगकर्ताका लागि नयाँ कन्ट्रोल टगल ल्याइएको छ । यसबाट फोनकै स्क्रिनमार्फत भोल्युम, प्रिसेट्स र माइक छान्न सकिनेछ । यसले भीडभाड भएका स्थानमा स्पष्ट आवाजको लागि फोनको माइक प्रयोग गर्न सक्ने सुविधा दिने गुगलले उल्लेख गरेको छ ।

गुगलको ‘एडभान्स्ड प्रोटेक्सन’ नामक सुविधा पनि एन्ड्रोइड १६ मा आएको छ । यसले अनलाइन आक्रमण, हानिकारक एप्स, स्क्याम कल र असुरक्षित वेबसाइटहरूबाट डिभाइसलाई सुरक्षा दिने बताइएको छ ।

यस संस्करणमा एचडीआर स्क्रिनशट, एडाप्टिभ रिफ्रेस रेट कन्ट्रोल, आइडेन्टिटी चेक, कस्टम कीबोर्ड शर्टकट र भविष्यमा आउने डेस्कटप मोड जस्ता सुविधाहरू समावेश गरिएको छ । यद्यपि डेस्कटप मोड र मेटेरियल थ्री एक्सप्रेसिभ डिजाइन (material 3 expressive) जस्ता प्रमुख फिचरहरू भने यो स्टेबल संस्करणमा समावेश नभई पछि आउने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ १०:२२