close

नेपाली युवतीले जितिन् नेसनल जियोग्राफिक इमर्जिङ एक्सप्लोर अवार्ड

टेकपाना टेकपाना

असोज १३, २०७७ १३:५५

नेपाली युवतीले जितिन् नेसनल जियोग्राफिक इमर्जिङ एक्सप्लोर अवार्ड

काठमाडौं । नेपाली युवती सोनिका मानन्धर नेसनल जियोग्राफिक सोसाइटी २०२० क्लास अफ इमर्जिङ एक्सप्लोरर अवार्ड हात पार्न सफल भएकी छिन् । नेसनल जियोग्राफिकले सोमबार सार्वजनिक गरेको सन् २०२० को ग्लोबल एक्सप्लोररको आठ जनाको सूचीमा मानन्धर अटाएकी हुन् । 

सोनिका एलोई टेक्नोलोजीजकी सहसंस्थापक तथा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) हुन् । उनको कम्पनीले वित्तीय प्रविधि सम्बन्धी एउटा प्लेटफर्म बनाएको छ । 

जसले ग्रिन माइक्रो आन्ट्रप्रेनरका लागि वित्तीय परियोजनाको रुपमा डिजिटल टोकन सिस्टम प्रयोगमा ल्याएको छ ।

एक दशकदेखि सफ्टवेयर इन्जिनियरको रुपमा सक्रिय मानन्धरले सबै तहका साक्षरहरुका लागि प्रविधिमा पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेकी छिन् । 

नेसनल जियोग्राफिकले मानन्धरसँगै इमर्जिङ एक्सप्लोररमा दिभा अमोन, जोय बोलामिनी, आदम कासिङ्गा, एनरिक लोमनिट, तमरा मेरिनो, एन्थोनी ओबायोमी र अलि प्रेसललाई छानेको छ ।

मानन्धर गत वर्ष मात्र संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रम अन्तरगतको ‘योङ्ग च्याम्पियन्स अफ द अर्थ’ बन्न सफल भएकी थिइन् । इमर्जिङ एक्सप्लोररका लागि उनले कुनै आवेदन दिएकी थिइनन् ।

नेसनल जियोग्राफिकको तर्फबाट एक्सप्लोररमा छानिएको खबर आउँदा उनले कति दिनसम्म पत्याएकी  थिइनन् । उनी भन्छन्, ‘पछि विस्तारै बुज्दै जाँदा हो रहेछ भन्ने लाग्यो,’ उनी भन्छिन् । 

इमर्जिङ एक्सप्लोररमा छानिएकी मानन्धरले नेसनल जियोग्राफिकको तर्फबाट १० हजार डलर (करिब १२ लाख रुपैयाँ) को फण्डिङ प्राप्त  गर्नेछिन् । सन् २००४ देखि सुरु भएको एक्सप्लोरर कार्यक्रम बीचका केही वर्ष बन्द भएको थियो । यसै वर्षबाट पुनः यसलाई सुचारु  गरिएको छ । 

नेसनल जियोग्राफिक सोसाइटीले विश्वका रोमाञ्चकता तथा आश्चर्यलाई संरक्षण र उजागर गर्ने उद्देश्य लिएको छ । यसका लागि सोसाइटीले परिवर्तनकारी विचार भएका साहसिक व्यक्तिहरुलाई उन्नत पार्न लगानी गर्दै आएको छ । 

साझा मानवीय अनुभवमा निखार ल्याउन, नयाँ पुस्ताका परिवर्तका संवाहकलाई ससक्तिकरण गर्न र विश्वलाई नै परिवर्तन गर्न सक्ने विज्ञान र आविष्कारको शक्तिलाई प्रदर्शन गर्ने कार्यमा यी एक्सप्लोररले नयाँ आयाम थप्नेछन् । 

‘त्यसैले नै इमर्जिङ एक्सप्लोररको पछिल्लो क्लासको रुपमा सोसाइटीले आठ जना ग्लोबल चेञ्जमेकर लाई छनौट गरेको हो । जसले आफ्नो क्षेत्रसँगै विश्वप्रतिको हाम्रो बुझाईमा परिवर्तन ल्याउनेछन्,’ सोसाइटीले भनेकाे छ ।

यी व्यक्तिहरुले गहिरो समुद्रमा रहने जनावरका साथै आर्टिफिसियल इन्टेलिजेन्सको सामाजिक उपयोगीता, ग्रामीण तथा सहरी क्षेत्रमा वर्षात्‌को पानी संचय, जैविक विविधताको  रक्षा, आधारभूत तहका उद्यमशिलता, जीआईएस शिक्षा र प्रभावशाली कथा सिर्जनामा आफ्नो ध्यान केन्द्रीत गर्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०