close

रियलमीले ल्यायो १०,००० एमएएच क्षमता ब्याट्री भएको नयाँ स्मार्टफोन

टेकपाना टेकपाना

बैशाख २९, २०८२ १४:२

रियलमीले ल्यायो १०,००० एमएएच क्षमता ब्याट्री भएको नयाँ स्मार्टफोन

काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता रियलमीले १० हजार एमएएच क्षमताको ब्याट्री भएको नयाँ जीटी सिरिजको स्मार्टफोन प्रदर्शन गरेको छ । गत मङ्गलबार सामाजिक सञ्जाल एक्समा एक भिडिओमार्फत कम्पनीका उपाध्यक्ष चेस सुले नयाँ कन्सेप्ट फोन (भविष्यमा तयार हुनसक्ने फोनको अवधारणा) प्रदर्शन गरेका हुन् । 

कुनै पनि प्रमुख स्मार्टफोन ब्रान्डका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री क्षमता हो । रियलमीले दाबी गरेअनुसार यति ठुलो ब्याट्री भए तापनि नयाँ फोनको मोटाइ ८.५ एमएम र तौल २१५ ग्रामभन्दा अलिकति बढी मात्र छ । यस फोनका लागि ६० भन्दा बढी अन्तर्राष्ट्रिय पेटेन्ट दर्ता भइसकेका छन् ।

रियलमीका अनुसार नयाँ फोनमा अल्ट्रा-हाई सिलिकन कन्टेन्ट एनोड ब्याट्री प्रयोग गरिएको छ । यसमा १० प्रतिशत सिलिकन रेसियो र ८८७ वाट-आवर प्रति लिटरको ऊर्जा घनत्व रहेको छ ।

ठुलो ब्याट्रीलाई मिलाउन रियलमीले फोनको आन्तरिक संरचनाका लागि ‘मिनी डायमन्ड आर्किटेक्चर’ प्रस्तुत गरेको छ । यस डिभाइसमा विश्वकै सबैभन्दा पातलो अर्थात २३.४ एमएमको मेनबोर्ड पनि रहेको कम्पनीको दाबी छ । फोनको पछाडिपट्टि नथिङको जस्तै पारदर्शी ब्याक प्यानल छ ।

ब्याट्री फुल्नबाट जोगाउन ‘ट्रिपल कोल्ड प्रेस’ प्रक्रिया अपनाइएको छ । ब्याट्री सक्किने चिन्ता (ब्याट्री एन्जाइटी) हटाउन यस फोनले महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।

यति ठूलो ब्याट्री हुने जीटी ७ मा मिडियाटेक डाइमेन्सिटी ९४०० प्लस प्रोसेसर हुने सम्भावना छ भने जीटी ७ टी मा डाइमेन्सिटी ८४०० चिपसेट हुन सक्छ । यस वर्ष सार्वजनिक भएका अन्य रियलमी फोन जस्तै जीटी ७ सिरिज पनि एन्ड्रोइड १५ मा आधारित रियलमी यूआई ६.० मा चल्ने अपेक्षा गरिएको छ । यद्यपि यी डिभाइसबारे थप विवरण हालका लागि सीमित छन् । यो फोन विश्व बजारमा कहिले सार्वजनिक हुन्छ भन्ने विषय पनि खुलाइएको छैन ।

पछिल्लो समय चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ठूला ब्याट्रीमा केन्द्रित छन् । यस वर्ष सार्वजनिक भएका रियलमी जीटी ७, वनप्लस १३ र आइकु १३ लगायत सबै फ्ल्यागशिप चिनियाँ फोनहरूमा कम्तिमा ६,००० एमएएचको ब्याट्री रहेको छ ।

यसैबीच ११ अप्रिलमा सार्वजनिक भएको भिभो आइकु जेड १० मा ७३०० एमएएच क्षमताको ब्याट्री छ ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ १४:२