close

नेपालमै पहिलो पटक अनलाइनबाट विद्युतीय सवारी दर्ता सुरू

टेकपाना टेकपाना

साउन २३, २०७८ १७:५२

नेपालमै पहिलो पटक अनलाइनबाट विद्युतीय सवारी दर्ता सुरू

काठमाडौं । नेपालमै पहिलो पटक कर्णाली प्रदेशमा विद्युतीय सवारी दर्ता प्रणाली सुरु भएको छ । त्यहाँको सरकारले इलोक्ट्रोनिक भेहिकल रजिष्टेसन सिस्टम (ईभीआरएस) नामक सफ्टवेयर प्रयोगमा ल्याएपछि देशमै पहिलो पटक विद्युतीय सवारी धनीले अनलाइनबाटै दर्ता गर्ने सुविधा पाएका हुन् ।

कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणालीबाट सवारीसधानको नवीकरण गर्ने व्यवस्था लाएसँगै यातायात कार्यालय पुग्नुपर्ने झन्झटको अन्त्य भएको छ ।

प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापाले यातायात व्यवस्थापन कार्यालय सुर्खेतमा हालै एक औपचारिक कार्यक्रमका वीच विद्युतीय सवारी दर्ता प्रणालीको उद्घाटन गरे ।

उनले देशमै पहिलोपटक सेवाग्राहीलाई अनलाइन प्रणालीमार्फत घरैदेखि सेवा लिन सकिने विद्युतीय सवारी दर्ता प्रणाली सुरु भएसँगै ‘डिजिटल कर्णाली’ अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे ।

याे प्रणाली सुचारू भएसँगै यातायात कार्यालयको अब सेवाग्राहीको समय बचत हुनुका साथै दलाल, विचौलियाको सहयोग लिनुपर्ने बाध्यता समेत हटेर जाने भनाइ उनकाे थियाे ।

कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले विद्युतीय सवारी दर्ता प्रणाली माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह र राजस्व भुक्तानी प्रणालीलाई व्यवस्थित गर्दै यातायात क्षेत्रको सेवा प्रवाह प्रभावकारी बन्ने बताए ।

त्यस्तै यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले अघिल्लो वर्षदेखि नै विद्युतीय सवारी दर्ता प्रणाली लागू गर्ने प्रयास गरेपनि कोरोना महामारीका कारणले ढिलाई भएकाले अन्तः सबैको सामूहिक प्रयासले सार्थकता पाएको बताए ।

उनका अनुसार यातायात व्यवस्था कार्यालयबाट सवारीसाधनको अभिलेखिकरण, नवीकरण, जाँचपास, रुटपरमिट लगायतका सेवा विद्युतीय सवारी दर्ता प्रणालीबाट सेवाग्राहीलाई उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३