close

गुगल सर्चमा आफ्नो जानकारी भेट्नुभयो ? यसरी हटाउनुहोस्

टेकपाना टेकपाना

जेठ ४, २०७९ ८:२७

गुगल सर्चमा आफ्नो जानकारी भेट्नुभयो ? यसरी हटाउनुहोस्

काठमाडौं । इन्टरनेटमा हाम्रा जानकारी जताततै छरिएका छन् । त्यो हुँदा गुगल सर्च गर्दा यस्ता जानकारी देखिनु स्वाभाविक नै हो । यस्तोमा गुगलले सर्चमा देखिने प्रयोगकर्ताको कतिपय जानकारी हटाउन सकिने सुविधा उपलब्ध गराएको छ ।

कम्पनीले गएको अप्रिलमा रिक्वेस्ट गरेर कस्ता–कस्ता जानकारी हटाउन सकिन्छ भन्ने विषय उल्लेख गरेकाे छ, जसमा प्रयोगकर्ताको फोन नम्बर, लोकेसन लगायतका महत्त्वपूर्ण विषय छन् ।

‘कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत जानकारीलाई लिएर त्यसलाई गलत रुपमा प्रयोग हुनसक्छ । यतिसम्म कि कसैलाई भाैतिक रुपमा पनि असर पार्न सक्छ,’ गुगलका ग्लोबल पोलिसीका प्रमुख माइकल च्याङले ब्लगमा लेखेका छन्, ‘त्यसैका आधारमा यहाँ हामी तपाईंलाई गुगल सर्चबाट तपाईंका कस्ता–कस्ता जानकारी हटाउन सकिन्छ र हटाउने कसरी भन्ने विषयमा जानकारी दिँदैछौ ।’ 

गुगल सर्चबाट तपाईंका कस्ता जानकारी हटाउन सकिन्छ ?

गुगलले कुनै महत्त्वपूर्ण अवस्थामामात्रै तपाईंले आफ्नो जानकारी हटाउन दिएको आग्रहलाई आत्मसात गर्छ । यसको अर्थ बिना कुनै कारण गुगलले तपाईंको जानकारी हटाउँदैन ।

गुगलका अनुसार प्रयोगकर्ताले निवेदन दिएको खण्डमा यी विषयलाई हटाउन सकिने छ ।

१. ईमेल, फोन नम्बर, लोकेसनजस्ता सम्पर्कका लागि आवश्यक व्यक्तिगत जानकारी ।

२. क्रेडिट कार्ड, बैंक अकाउन्ट नम्बर, तपाईंको हस्ताक्षरको फोटो लगायतका जानकारी ।

३. प्रयोगकर्ताको लगईन युजर नेम र पासवर्ड

४. डिपफेक/पोर्नोग्राफीसँग सम्बन्धित इमेज तथा भिडिओ 

५. मेडिकल सम्बन्धित अन्य महत्वपूर्ण जानकारी

६. तपाईंको नामसँग जोडिएको, तर तपाईंसँग असम्बन्धित पोर्नोग्राफी कन्टेन्ट ।

माथि उल्लेखित बुँदाबाट हामीले गुगललाई आफ्ना कस्ता जानकारी हटाउनका लागि रिक्वेस्ट गर्न सक्छौ भन्ने विषयमा जानकारी पायौं ।

अब यस्ता जानकारी हटाउन गुगललाई कसरी रिक्वेस्ट गर्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।

गुगलले सहज रुपमा कुनै पनि जानकारी हटाउँदैन । त्यसका लागि तपाईंले गुगललाई ‘रिक्वेस्ट’ पठाउनु पर्छ । त्यसरी रिक्वेस्ट पठाउँदा कुन यूआरएल (लिंक) बाट तपाईंको जानकारी बाहिरिएको हो, उक्त लिंक समेत पठाउनुपर्नेछ ।

कतिपय अवस्थामा तपाईंले उक्त जानकारीको स्क्रिनशट समेत पठाउनुपर्ने हुन्छ । त्यसरी जानकारी पठाएसँगै गुगलले तपाईंको निवेदन अध्ययन गर्नेछ, जसमा कतै तपाईंले आग्रह गर्नुभएको जानकारी सार्वजनिक रुपमा उपलब्ध छ कि छैन ? अथवा कतै यो जानकारी समाचार/लेखमा भएको र त्यो महत्त्वपूर्ण त छैन ? भन्ने विषय यसले अध्ययन गर्छ ।

यदि त्यस्तो भएको खण्डमा रिक्वेस्ट अप्रुभ नहुने च्याङ बताउँछन् । अन्यथा गुगलले लिंक नै हटाउने अथवा सर्च रिजल्टमात्रै हटाउनेमध्ये कुनै एक निर्णय लिनेछ, जसको जानकारी प्रयोगकर्तालाई गुगलले दिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२