close

गुगलको च्याटबट जेमिनाई लाइभमा आयो क्यामेरा र स्क्रिन शेयरिङको फिच‍र

टेकपाना टेकपाना

बैशाख २०, २०८२ १४:२१

गुगलको च्याटबट जेमिनाई लाइभमा आयो क्यामेरा र स्क्रिन शेयरिङको फिच‍र

काठमाडौँ । गुगलले आफ्नो एआई असिस्टेन्ट जेमिनाईमा विभिन्न फिचर ल्याउँदै आएको छ । त्यसमध्येको सबैभन्दा चर्चित फिचर हो- जेमिनाई लाइभ । यसमार्फत प्रयोगकर्ताले कुनै व्यक्तिसँग कुराकानी गरेजसरी च्याटबटसँग बोलेरै कुराकानी गर्न सक्छन् । 

जेमिनाई लाइभलाई थप परिष्कृत बनाउँदै गुगलले स्क्रिन शेयर र क्यामेरा फिड फिचर थप गरेको छ । यसको अर्थ अब तपाईंले जेमिनाईसँग कुरा गर्दा आफ्नो स्क्रिन शेयर गर्दै कुरा गर्न सक्नुहुन्छ । त्यस्तै जेमिनाई लाइभबाटै क्यामेरा अन गर्नुभयो भने उक्त टुलले तपाईंको क्यामेरामा देखिएको वस्तु देख्छ । 

यो सुविधा लगभग सबै एन्ड्रोइड फोनमा उपलब्ध हुनेछ । तर यसका लागि गुगल वन एआई प्रिमियमको मेम्बरशिप आवश्यक पर्छ । यदि तपाईं जेमिनाईमा भएको स्क्रिन शेयर वा लाइभ क्यामेरा फिड कसरी प्रयोग गर्ने भन्ने जान्न उत्सुक हुनुहुन्छ भने यो सामग्री उपयोगी हुनसक्छ: 

के-के चाहिन्छ ?

जेमिनाई लाइभको यो नयाँ फिचर प्रयोग गर्न तपाईंको फोनमा कम्तीमा २ जीबी र्‍याम र एन्ड्रोइड १० वा सोभन्दा नयाँ अपरेटिङ सिस्टम हुनुपर्छ । हार्डवेयरको खासै ठुलो आवश्यकता छैन, किनभने प्रोसेसिङ फोन बाहिर क्लाउडमा हुन्छ ।

तर, गुगलले प्रयोगकर्तालाई जेमिनाई लाइभसँग शेयर गरिएको जानकारी (क्यामेरा फिड वा स्क्रिन) क्लाउडमा विश्लेषण गरिने हुनाले निजी वा पहिचान खुल्ने जानकारी शेयर नगर्नु सुझाव दिएको छ ।

हाल यो मल्टी-मोडल फिचर जेमिनाई एडभान्स्डका प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । यसका लागि गुगल वन एआई प्रिमियमको मेम्बरशिप लिनुपर्ने हुन्छ । यद्यपि गुगल पिक्सेल ९ र सामसङ ग्यालेक्सी एस २५ सिरिजका प्रयोगकर्ताका लागि यो फिचर निःशुल्क हुनेछ । नयाँ पिक्सेल फोन प्रयोगकर्ताले परीक्षण अवधिका लागि जेमिनाइ एडभान्स्ड निःशुल्क पाउन सकिन्छ ।

लाइभ क्यामेरा फिड कसरी प्रयोग गर्ने ?

जेमिनाई लाइभले पहिलेदेखि नै मानवशैलीमा कुराकानी गर्न सक्थ्यो । अब भने तपाईंले आफ्नो वरपरका वस्तु देखाएर थप जानकारी लिन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्: 

१) आफ्नो फोनमा जेमिनाई एप खोल्नुहोस् ।
२) त्यसपछि स्क्रिनको तल दायाँपट्टि रहेको ‘लाइभ’ आइकनमा ट्याप गर्नुहोस् ।

३) तपाईंले माथि उल्लेखित मापदण्द पूरा गर्नुभएको छ भने त्यहाँ ‘क्यामेरा’ बटन र स्क्रिन शेयर बटनमा ट्याप गर्नुहोस् ।

४) त्यसपछि तपाईंले जेमिनाईलाई सोध्न चाहेको वस्तु वा दृश्य क्यामेराको भ्यु फाइन्डरभित्र पार्नुहोस् ।
५) अब त्यस विषयमा बोलेर प्रश्न सोध्न सुरु गर्नुहोस् ।

यो फिचर विशेषगरी तपाईंलाई नाम थाहा नभएका वस्तु पहिचान गर्न र तिनको बारेमा थप विवरण प्राप्त गर्न उपयोगी हुन्छ ।

स्क्रिन कसरी शेयर गर्ने ?

यदि तपाईंको फोन वा ट्याब्लेटको स्क्रिनमा कुनै विषय छ र त्यसको जानकारी लिन जेमिनाईसँगको कुराकानीले सहयोग पुर्‍याउँछ जस्तो लाग्छ भने तपाईंले स्क्रिन शेयर गर्न सक्नुहुन्छ ।

१) तपाईंले जेमिनाई लाइभलाई सोध्न चाहेको एप, आर्टिकल भएको वेबसाइट वा स्क्रिन खोल्नुहोस् ।
२) त्यसपछि जेमिनाई एप खोल्नुहोस् । र, तल दायाँपट्टि भएको ‘स्क्रिन शेयर विथ लाइभ’ (Share screen with Live) को अप्सन ट्याप गर्नुहोस् । 

३) यति गरेपछि बिचमा भएको स्क्रिन शेयरको अप्सन ट्याप गर्नुहोस् । 

४) अब आफ्नो स्क्रिनको सामग्रीबारे जेमिनाई लाइभलाई प्रश्न सोध्न सुरु गर्नुहोस् ।

स्क्रिन शेयर गर्दा जेमिनाईले स्क्रिनमा भएको सामग्रीको सारांश बताउन, त्यसबारे सोधिएका प्रश्नको जवाफ दिन र अन्य काम गर्न सक्छ । यस फिचरले भ्वाइस-ओन्ली जेमिनाई लाइभ र ‘सर्कल टु सर्च’ जस्ता फिचरको पनि काम गर्छ । 

कहिले प्रयोग गर्ने ?

कुनै कुराको लामो वर्णन गर्नुपर्ने अवस्था आयो भने माथि उल्लेखित फिचर प्रयोग गर्न सक्नुहुन्छ । कुनै कुराको बोलेर वर्णन गर्नुको सट्टा तपाईंले क्यामेरा वा स्क्रिन शेयरिङमार्फत देखाउन सक्नुहुन्छ । यसो गर्दा तपाईंको समयको बचत हुन्छ नै, साथसाथै तपाईंले कुनै वस्तुको धेरै वर्णन गरिरहनु पर्दैन । 

यस अपडेटले गुगल जेमिनाईलाई मेटा एआई वा ओपनएआईको जीपीटी-फोरओ जस्ता प्रतिस्पर्धी टुलको हाराहारीमा ल्याएको छ । यो फिचर नयाँ पिक्सेल र ग्यालेक्सी फोनमा उपलब्ध गराइएको छ भने अन्य एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल वन प्रिमियम सब्स्क्रिप्सनमा निर्भर हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ १६:१७