close

एप्पल वाचले बचायो १२ वर्षीया बालिकाको ज्यान

टेकपाना टेकपाना

कात्तिक १४, २०७९ १२:२

एप्पल वाचले बचायो १२ वर्षीया बालिकाको ज्यान

काठमाडौं । एप्पल वाचका महत्त्वपूर्ण हेल्थ फिचरले गर्दा धेरैको जीवन जोगिएको छ । यसले मुटुको अस्वभाविक धड्कन मापन गरेर होस् वा क्य्राश डिटेक्सन पहिचान गरेर होस् धेरैले नयाँ जीवन पाएका छन् ।

पछिल्लो समय एप्पल वाचले १२ वर्षीया बालिकाको ज्यान जोगाएको घटनाले इन्टरनेटमा चर्चा पाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो घटना अमेरिकाको हो । जहाँ एप्पल वाचले बालिकाको मुटुको धड्कन अस्वभाविक भन्दै सचेत गराएको थियो ।

इमानी माइल्सकी आमा जेस्सिका किचेन एप्पल वाचले दिएको उक्त अलर्टका आधारमा छोरीलाई लिएर अस्पताल पुगेकी थिइन् । त्यहाँ उनको एपेन्डिक्स हटाएर एपेन्डिसाइटिसको उपचार गरियो । पछि गरिएको विश्लेषणले उक्त एपेन्डिक्स समयमै उपचार नभएको भए बालिकाको एपेन्डिक्समा न्युरोइन्डोक्राइन ट्युमर हुने रहेछ ।

त्यति सानो उमेरकी बालिकामा त्यस्तो रोग हुनु असाधारण थियो । कसैले पनि ती बालिकामा उक्त ट्युमर फैलिएला भन्ने कल्पना गरेका थिएनन् । डाक्टरले उक्त ट्युमर पत्ता लगाउनुअघि नै क्यान्सर शरीरको धेरै ठाउँमा फैलिसकेको थियो । जसले गर्दा उनलाई तत्कालै शल्यक्रिया गर्नुपर्ने भएको थियो ।

समयमा नै अस्पताल नलगिएको भए क्यान्सरले खराब रूप लिने र उनको ज्यान समेत जान सक्थ्यो । उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो र अहिले उनी घरमा आराम गरिरहेका छन् ।

मुटुको अस्वभाविक धड्कन पत्ता लगाएर बालिकालाई अलर्ट गर्ने वाच कुन भर्सनको हो भन्ने चाहिँ रिपोर्टमा कहीँ खुलाएको छैन । ती बालिकाकी आमा किचेन भन्छिन्, "यदि त्यो वाच हुने थिएन भने हामीलाई यो जानकारी ढिलो हुन्थ्यो । र ढिलो अस्पताल पुर्‍याउँदा बालिकाको स्वास्थ्य अवस्था निकै बिग्रिसकेको हुने थियो ।’

यस्तै पछिल्लो समय एप्पल वाचले महिला गर्भवती भएको पनि पत्ता लगाएको थियो । स्वास्थ्यको क्षेत्रमा मानिसहरूलाई सधैँ सचेत गराइरहने यस्ता डिभाइसको चर्चा दिनानुदिन बढ्दो छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०७९ १२:२