close

माओवादीको घोषणापत्र: काठमाडौंमा ५०० बिजुली बस गुडाउने, राइड शेयरिङलाई वैधानिकता दिने

टेकपाना टेकपाना

कात्तिक १४, २०७९ १७:३८

माओवादीको घोषणापत्र: काठमाडौंमा ५०० बिजुली बस गुडाउने, राइड शेयरिङलाई वैधानिकता दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले टुटल, पठाओ, इनड्राइभर लगायतका राइड शेयरिङ व्यवसायलाई कानूनी रुपमा वैधानिकता प्रदान गर्नेगरी चुनावी घाेषणापत्र सार्वजनिक गरेकाे छ । सोमबार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सार्वजनिक गरेको 'चुनावी प्रतिबद्धतापत्र-२०७९' मा राइडिङ शेयर गर्ने सेवालाई औपचारिक दायरामा ल्याई नियमन र प्रोत्साहन गर्ने उल्लेख छ ।

हालसम्म नेपालमा राइड शेयरिङका लागि वैधानिक कानून नहुँदा टुटल, पठाओजस्ता सेवा प्रदायक नियमनको दायरामा आउन सकेका छैनन् । जसको प्रतिफल समय-समयमा सरकारले सेवामाथि नै प्रतिबन्ध लगाउँदै आएको छ ।

यस्तोमा माओवादीले कानूनी रुपमै यस्ता सेवालाई वैधानिकता प्रदान गर्ने बताएको हो । यसका साथै माओवादीको घाेषणापत्रमा विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न विशेष सहुलियत र अनुदान प्रदान गर्ने, प्रदेशका प्रमुख राजमार्ग र सहरहरूमा विद्युतीय चार्जिङ स्टेसनहरूको निर्माण गर्ने लगायतका विषय समय समेटिएका छन् ।

‘काठमाडौं उपत्यकामा कम्तीमा ५०० वटा विद्युतीय बस सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ,’ घाेषणापत्रमा भनिएको छ । प्रदेश तथा पालिकाहरूबाट सबै प्रमुख सहरमा विद्युतीय यातायात सञ्चालनको व्यवस्था गर्ने विषय पनि घोषणापत्रमा छन् ।

यसका साथै सवारी चालकहरूको क्षमता अभिवृद्धि गरी यातायात क्षेत्रलाई सुरक्षित बनाउन प्रत्येक प्रदेशमा एक प्राविधिक शिक्षालय स्थापना गर्ने उल्लेख छ । त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ, नानो प्रविधि लगायतको प्रवर्द्धन गर्ने कुरा पनि घोषणापत्रमा समेटिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०७९ १७:३८