close

सबैभन्दा बढी साइबर हिंसामा म परेकी रहेछुः रामकृमारी झाँक्री

टेकपाना टेकपाना

पुस २०, २०७९ १४:३३

सबैभन्दा बढी साइबर हिंसामा म परेकी रहेछुः रामकृमारी झाँक्री

काठमाडौं । एकीकृत समाजवादी पार्टीकी नेतृ एवं पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पछिल्लाे दुई वर्षमा आफू सबैभन्दा बढी साइबर हमलामा परेको बताएकी छिन् । एक अनुसन्धान टिमले गरेको अध्ययनलाई आधार मान्दै झाँक्रीले सामाजिक सञ्जालमा साइबर आक्रमण, साइबर हिंसा र साइबर दुर्व्यवहारका सम्बन्धमा नेपालबाट महिलामा सबैभन्दा बढी पीडित आफू बनेको बताएकी हुन् ।

अध्ययनको सीमा र क्षेत्र अनि त्यसबाट आएका तथ्य रोचक मात्र नभएर निकै संवेदनशील भएको उनको भनाइ छ । उनी फेसबुकमा लेख्छिन्, "पछिल्ला दुई वर्षमा म सबैभन्दा बढी साइबर हमलामा परेकी रहेछु । हुन त सबै प्रकारका पेसा, वर्ग, जातजाति, लिंग र सबै क्षेत्रमा बस्ने व्यक्तिहरूले व्यक्तिगत रूपमा अपशब्द प्रयोग गरेर गालीगलौज गरेको देखिन्छ । तर केही विषयमा अनुसन्धानकर्ता पनि आश्चर्य चकित हुनुहुन्थ्यो ।" 

झाँक्रीलाई सामाजिक सञ्जालमा सबैभन्दा धेरै आक्रमण गर्नेमा मगर, तामाङ, राई, लिम्बू जस्ता जनजाति समुदायका प्रयाेगकर्ता छन् भने त्यसपछि विश्वकर्मा, परियार, नेपाली जस्ता दलित समुदायका प्रयाेगकर्ता छन् ।

"लैङ्गिक हिसाबले महिलाहरू, महिलाका नाम र महिलाको प्रोफाइल फोटो राखेका नक्कली आईडीहरूबाट साइबर आक्रमणको प्रयास गरिएको रहेछ," उक्त प्रतिवेदनलाई आधार बनाउँदै उनी लेख्छिन्, "मेरो काम र मसँग असम्बन्धित व्यक्तिहरू पनि ठूलो सङ्ख्यामा  व्यक्तिगत गालीगलौजमा आएका रहेछन् ।" 

उक्त प्रतिवेदनले आफूलाई कानूनी उपचार खोज्न बाध्य बनाएको झाँक्री बताउँछिन् । "मैले यसको उपचार खोजिनँ भने सायद मभन्दा पछाडिका बहिनीहरू र छोरीहरू यस्तो प्रकारको सिकार झनै हुनेछन्," उनी लेख्छिन् ।

झाँक्रीले अध्ययन गर्ने टिमको नाम भने खुलाएकी छैनन् ।

२०२१ अक्टोबरबाट पानोस साउथ एसिया (PSA) ले नेपाली महिलामा राजनीतिज्ञको सामाजिक सञ्जाललाई आधार बनाएर गरेको अध्ययनले पनि महिला राजनीतिज्ञहरू साइबर सुरक्षाको जोखिम, साइबर दुर्व्यवहार तथा साइबर हिंसाको सिकार भइरहेको निष्कर्ष निकालेको थियो ।

पछिल्लो अध्यावधिक: पुस २०, २०७९ १४:३३