close

च्याटजीपीटीले लेखेका कन्टेन्टमा के साँच्चिकै कपिराइट नियम लाग्दैन ?

टेकपाना टेकपाना

माघ १६, २०७९ १८:२५

च्याटजीपीटीले लेखेका कन्टेन्टमा के साँच्चिकै कपिराइट नियम लाग्दैन ?

काठमाडौँ । ओपनएआईले तयार पारेको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित टुल अहिले भाइरल छ । च्याटजीपीटी नामले परिचित यस टुलबाट विभिन्न प्रश्नको उत्तर पाउन सकिन्छ । हालसम्म निःशुल्क उपलब्ध च्याटजीपीटीलाई हरेक क्षेत्रका मानिसले प्रयोग गरिरहेका छन् ।

विद्यार्थी, शिक्षक, कन्टेन्ट क्रियटर आदिका लागि यो एप वरदान र अभिशाप दुवै बनेको छ । कतिपयले च्याटजीपीटीका कारण आफ्नो रोजगारी नै धरापमा परेको बताइरहेका छन् भने केहीले निःशुल्क कन्टेन्ट लेखिदिने टुल फेला पारेको अनुभव गरिरहेका छन् ।

च्याटजीपीटीको प्रयोग पछिल्लो समय ब्लग तथा समाचार लेखनमा पनि उत्तिकै धेरै हुन थालेको छ । विशेषगरी प्रोम्प्ट (Prompt) का आधारमा समाचार, लेख, निबन्ध आदि लेख्न सक्ने यो टुललाई ब्लगिङमा पनि प्रयोग गरिन थालिएको छ ।

ब्लग साइटहरूमा अरूका कन्टेन्ट कपी गर्दा कपिराइट लाग्ने सम्भावना धेरै हुन्छ । तर, के च्याटजीपीटीबाट तयार पारेका कन्टेन्टमा पनि कपिराइट लाग्छ त ?

च्याटजीपीटीका अनुसार यस टुललाई जति डेटाबाट तालिम दिइएको छ, त्यहीमध्येबाट सबैभन्दा उत्कृष्ट उत्तर दिने प्रयास गर्छ । व्यवहारिक रूपमा भन्नुपर्दा च्याटजीपीटीले तयार पारेका लेख कुनै लेखकसँग सम्बन्धित हुँदैनन् । त्यसैले त्यस्ता लेखमा कपिराइटको समस्या लाग्दैन । तर च्याटजीपीटीले भने यसबाट तयार पारिएका कन्टेन्टको प्रतिलिपि अधिकार ओपनएआईसँग हुन्छ भनेको छ ।

अहिलेसम्म ओपन एआईले प्रतिलिपी अधिकार दाबी गरेको एउटा पनि घटना छैनन् । च्याटजीपीटीलाई यही प्रश्न राखियो भने कपिराइट लाग्छ भन्ने जवाफ देख्न सकिन्छ । वास्तवमा च्याटजीपीटीलाई त्यस्तो डेटासँग परिचित गराइएको छ जसले कुनै पनि सवालमा कमन सेन्स (साधारण अर्थ) लगाएर हेर्छ । त्यसैले च्याटजीपीटीले कपिराइट लाग्छ भनेको भएपनि प्रयोग गर्नेहरूले हालसम्म कपिराइटका सवाल सामना नगरेको उल्लेख गरेका छन् । 

अब ओपनएआई बाहेक अन्य व्यक्ति वा कम्पनीले कपिराइट लगाउने सवालमा हेरौँ । यदि च्याटजीपीटीले इन्टरनेटबाट वाक्य वा हरफहरू हुबहु उतारेको छ भने त्यस्तो अवस्थामा कपिराइटको समस्या देखिन सक्छ । तर, कुनै कन्टेन्टका लागि च्याटजीपीटी सीमित एउटै स्रोतमा भर पर्दैन । विभिन्न स्रोतबाट सूचना संकलन गर्ने भएकाले कसैले मैले लेखेको हो भनेर दाबी गर्न सक्दैन । 

त्यस्तै च्याटजीपीटी हरेक प्रश्नको उत्तर फरकफरक शैलीमा दिन्छ । च्याटजीपीटीलाई एउटै समयमा सोधिएका उही प्रश्नको उत्तर भिन्नै शैलीमा दिएको पाइन्छ । यस्तो अवस्थामा कन्टेन्ट जुँध्ने समस्या हुँदैन । जसले गर्दा कपिराइटको सवाल पनि आउँदैन । 

त्यसैले पनि च्याटजीपीटीले तयार पारेका कन्टेन्टमा कपीराइट नलाग्ने विज्ञहरू बताउँछन् । हामीले पनि परीक्षण गरी हेर्दा एउटै समयमा सोधिएको एउटै प्रश्नको फरक उत्तर पाएका थियौँ । गुगलले क्रियटरलाई विज्ञापन दिँदा कपिराइट कन्टेन्ट छ भने एप्रुभल नै दिँदैन । तर थुप्रै क्रियटरले च्याटजीपीटीबाट कन्टेन्ट तयार पारी एडसेन्स एप्रुभ गरेको खुलाएका छन् ।

पछिल्लो अध्यावधिक: माघ १६, २०७९ १८:२५